असलम खान । लुम्बिनीखबर
मर्चवार, १८ मंसिर । रुपन्देहीको मर्चवारी गाउँपालिकामा कुलतमा लाग्न नदिन गाउँपालिकाले विशेष अभियान संचालन गर्न थालेको छ । मर्चवारमा पछिल्लो समय युवा, युवतीहरु बढि लागुऔषध सेवन गर्ने भएकोले मर्चवारी गाउँपालिकाले लागुऔषध दुव्र्यसनी सम्बन्धी सडक नाटक सोमबार देखि सुरु गरेको हो ।

मर्चवारी गाउँपालिका वडा नम्बर १ को सेमरा माध्यमिक विधालय, वडा नं. २ को अमवा मा. वि, वडा नं. ५ को ओडवलिया मा.वि, वडा नं. ६ को ठर्की मा.वि, वडा नं. ७ बगौली मा वि लगायतमा सडक नाटक गरिएको आयोजकले जनाएको छ ।
सुरविर पंडित लगायत केन्द्रीय कलाकारको प्रस्तुति भएको सडक नाटक कार्यक्रममा जनप्रतिनिधी, विधार्थीहरु एवं आम जनताको सहभागिता रहेको थियो ।
कार्यक्रममा मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले कार्यक्रमलाई सम्बोधन गर्दै स्कुलले विद्यार्थीहरु, युवा युवतीहरु बढि कुलतमा लागेको समाचार आएकाले यसको रोकथाम र नियन्त्रणका लागि प्रयास गर्न थालिएको बताए । लागुऔषधले मानवीय क्षती संगै समाजमा विकृति फैलाउन टेवा दिने बताउँदै अध्यक्ष बरईले यसको नियन्त्रणका लागि सम्बन्धी सवै निकाय उत्तिकै जिम्मेबार बन्नुपर्ने बताए । आगामी दिनमा यस्ता सचतेनामुलक कार्यक्रमले निरन्तरता पाउने बताए । बालबालिका भोलीका कर्णधार भएकाले हेरचाह र नैतिक शिक्षा दिनु आजको आवश्यकता रहेको अध्यक्ष बरईले बताए । अभिभावकले आफना सन्तानहरुलाई बढि हेरचाह गर्नुपर्ने बताउँदै गाउँपालिकाबाट कुलतमा लाग्न लागेका, फसेकाका लागि लक्षित सचेतनामुलक कार्यक्रम गरेको अध्यक्ष बरईले जानकारी दिएका छन ।
गाउँपालिकाका उपाध्यक्ष आशा सिंहले लागुऔषध दुव्र्यसनीले व्यक्तिलाई मात्र नभई समाजलाई खराब बनाउने हुँदाको यसको नियन्त्रण गर्न सबै जिम्मेवार बन्नुपर्ने बताइन ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराईले समाजमा हुने विकृति धेरै जसो लागुऔषध सेवनले हुने बताए । विद्यार्थीहरु तथा युवाहरुमा बढि लत कुलतमा लागेको हुँदा यसो नगर्न मर्चवारी गाउँपालिका विभिन्न ठाउँमा सडक नाटक गरिने समेत भट्टराईले बताए ।
कार्यक्रममा मर्चवारी गाउँपालिका वडा नं. १ देखि वडा नं. ७ सम्माका वडा अध्यक्ष, जनप्रतिनिधी, गाउँपालिकाका शाखा प्रमुख लगायतको समेत उपस्थिति रहेको थियो ।