रोहिणी, २३ चैत । रुपन्देहीको रोहिणी गाउँपालिकाको १४औं गाउँ सभा सम्पन्न भएको छ । धकधईमा भएको सभामा बोल्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणीको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘गाउँपालिकामा देखिने गरी विकास निर्माणका कार्य भएका छन् । जनतासँग सल्लाह–सुझाव लिएर अघि बढेका छौं । हामीसँग जनताको अपेक्षा धेरै छन् ।’ उनले शिक्षा क्षेत्रको विकास बिना समग्र विकास हुन नसक्ने भएकाले शैक्षिक गुणस्तर सुधारका निम्ति लागिपरेको बताउनु भयो ।
त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजनले गाउँपालिकाको विकासका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताउनु भयो । उपाध्यक्ष हरिजनका अनुसार काम गर्ने क्रममा केही कमीकमजोरी हुन सक्छन् । ती कमीकमजोरीलाई हटाउँदै जानुपर्छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा गाउँसभाका सचिव श्री प्रसाद गौतमले विकास योजना जोडतोडका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार, ‘कर्मचारी टीमले उच्च मनोबलका साथ काम गरेकोमा धन्यवाद दिन चाहन्छु ।’
गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले शिक्षा, स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनु भयो । उहाँले आफूले निर्वाह गर्नुपर्ने कर्तव्य र दायित्वमा ध्यान दिनुपर्ने बताउनु भयो । रोहिणी–६ का वडाअध्यक्ष इन्द्रमान चौधरीको स्वागत तथा गाउँपालिकाको शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
१४ औं गाउँसभाले कार्यपालिकाले चालु आर्थिक वर्षमा हालसम्म पारित गरेका कार्यविधि अनुमोदन गर्नुका साथै आर्थिक वर्ष २०८०÷०८१ को १३औं गाउँसभाबाट पारित योजना÷कार्यक्रम संशोधन गरी योजना/कार्यक्रम तथा बजेट थपघट एवं रकमान्तर गरी करार कर्मचारी तथा करार शिक्षकहरुको तलब व्यवस्थापन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले बताउनु भयो । त्यस्तै गाउँसभाले गत आर्थिक वर्ष तथा दोस्रो चौमासिकको बजेट कार्यान्यवनको प्रगतिको समीक्षा गर्नुको साथै खानेपानी सम्बन्धि ऐन समेत पारित गरेको गौतमले जानकारी दिनुभयो ।
