असलम खान । लुम्बिनीखबर
मर्चवार, २४ चैत । रुपनदेहीको सम्मरीमाई गाउँपालिकामा रेडक्रस सोसाइटी सम्मरीमाई उपशाखा तथा सम्मरीमाई गाउँपालिका स्वास्थ्य शाखाको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
“मेरो स्वास्थ्य मेरो अधिकार” भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवसको अवसरमा रुपन्देहीको सम्मरीमाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीको प्रमुख अतिथ्यतामा कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले रगतको अभावलाई न्युनिकरण गर्न युवाहरुकै आवश्यता रहेको जनाउनुभएको थियो ।
प्रमुख अतिथि चौधरीका अनुसार– ‘हामी युवा वर्गले नगरे कसले गर्ने, आवश्यक परेको बेलामा सबैलाई रगत चाहिएको हुन्छ तर जनचेतनाको अभावले सबैले दिन खोज्दैनन् त्यसकारण सबैलाई रक्तदानबारे जनचेतना समेत फैलाउनु आवश्यक छ ।
खुल्ला रक्तदानले आम नागरिकमा सकारात्मक सन्देश समेत जाने भएकोले रक्तदान कार्यक्रम उपलब्धी मुलक हुने चौधरी बताउनुभयो ।

रक्तादान कार्यक्रममा उत्साहपुर्वक रुपमा रक्तदाताहरुको सहभागीताले समाजको समस्या प्रति युवाको सकारात्मक चासो देखिएको नेपाल रेडक्रास सोसाइटी सम्मरीमाई गाउँपालिकाका उपशाखाका सभापति केशव कुमार उपध्यायले बताउनुभयो । अगामी दिनमा यस भन्दा बढी लक्ष्य राखेर रक्तदान कार्यक्रमलाई निरन्तरता दिने सभापति उपध्यायले जानकारी दिनुभयो ।

कार्यक्रम सम्मरीमाई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझीको संचालनमा, सम्मरीमाई गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष दिवाकर प्रसाद दुबे, वडा नं. ५ का वडाध्यक्ष श्रवण कुमार यादव, वडा नं. ७ का वडाध्यक्ष राधेश्याम कुर्मी, सम्मरीमाई गाउँपालिकाका लेखा अधिकृत प्रकाश पौडेल लगायत विभिन्न जनप्रतिनिधि, समाजसेवी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।