logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    अक्षय कर्म गरी धर्म कमाऔं


    ३० बैशाख २०८१ , आइतबार

    अक्षय कर्म गरी धर्म कमाऔं
    • ज्योतिषाचार्य सुदर्शन पौडेल
      नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि क्याम्पस, काठमाडौं ।


    वैशाख २८ गते महिनाको शुक्ल पक्षको तृतीय तिथि परेको थियो जसलाई अक्षय तृतीयको नामले चिन्ने गरिन्छ । अक्षयको अर्थ कहिल्यै क्षय/नाश नहुने भएकाले यस तिथिमा गरेका कुनै पनि शुभकार्य सफल हुन्छन् भन्ने पौराणिक मान्यता रही आएको छ । पौराणिक मान्यता अनुसार अक्षय तृतीयको तिथिलाई क्षय हुन दिँदैन् । यस दिन गरेको हरेक कार्यले शुभ फल दिन्छ । यो दिन गरिने मांगलिक कार्यबाट विशेष लाभ हुन्छ । भनिएको पनि छः

    “अस्यां तिथौ क्षयमुर्पति हुतं न दत्तं । तेनाक्षयेति कथिता मुनिभिस्तृतीया ।।
    उद्दिष्य दैवतपितृन्क्रियते मनुष्यैः। तत् च अक्षयं भवति भारत सर्वमेव ।।

    भविष्य पूराणमा उल्लेख भए अनुसार यसै दिन महाभारतको युद्ध समाप्तभै द्वापर युगको समापन भएको थियो । चार युग मध्ये सत्ययुग र त्रेता युगको प्रारम्भ पनि यसै दिनबाट भएको थियो । भगवान् विष्णुले पृथ्वीलोकमा यसै तिथिको दिन नारायण, हयग्रीव र रेणुका को गर्भबाट भगवान् विष्णु परशुरामको रुपमा अवतरण गर्नु भएको थियो । जसानुसार अक्षय तृतीयको दिन परशुराम जयन्तीकारुपमा समेत भब्यरुपमा मनाइने गरिन्छ । ब्रह्माजीका पुत्र अक्षय कुमारको आविर्भाव पनि यसै दिनमा भएको थियो ।

    धार्मिक ग्रन्थ अनुसार यो दिनमा मधुरा र भगवान् शिवको अवतार भगवान् सुन्दरेषको विवाह भएको पौराणिक कथामा उल्लेख गरिएको छ । त्यसकारण यो दिन विवाह गर्नलाई पनि शुभ रहेको मानिन्छ । अझ अक्षय तृतिया एक दशक यताकै शुभ दिन परेको छ किनभने अहिलेको ग्रहकुण्डलीमा चार ग्रह सूर्य, चन्द्र, शुक्र र राहुले आफ्नो उच्छ राशीमा बिराजमान भै आफ्नो शीर उच्च राख्नेछन् ।

    वि. सं. २०६० पछि मिल्ने यो पहिलो संयोगको दिनको मुहूर्तमा मांगलिक कार्य गर्नको लागि समय कालको बारेमा विचार गर्नु पर्दैन् । यस दिन मांगलिक कार्य गर्नु विशेष शुभ मानिन्छ । यो दिन गरिएको जुन सुकै शुभ कार्यले पनि कयौँ गुणा लाभ दिने बताइएको छ । यो दिनलाई भगवान् विष्णुसँग समर्पित गरिएको छ । यो दिन भगवान् विष्णुको पूजा आराधना गर्नाले सबै किसिमका कष्टबाट छुटकारा मिल्नेछ साथै स्वजनसंग गरिएका मनमुटाब पनि समाप्त भएरजानेछ्न् । श्रीहरिको विशेष कृपा सधै रहि रहनेछ । त्यसैैले यो दिन बिहान सबेरै उठेर स्नान गरी वस्त्र पवित्र धारण गरेर आफ्नो मन्दिर वा कुनै पूजा स्थलमा विष्णुजीलाई सेतो फुल, तुलसीको वा पहेँलो फूलको माला, पुष्प अर्पित गर्नुपर्छ ।

    सर्वत्र शुक्ल पुष्पाणि प्रशस्तानि सदार्चने ।
    दानकाले च सर्वत्र मंत्र मेत मुदीरयेत् ।।

    (अर्थात सबै महीनाको तृतीयातिथिमा सेतो पुष्पले गरियेको पूजनप्रशंसनीय मानिन्छ । )

    यो दिन धुप दीप नैवेदसहित श्रीविष्णुको पूजा आरती गर्दा राम्रो हुनेछ । पुराणमा उल्लेख भए अनुसार यो दिन पितृलाई दिएको तर्पण तथा पिण्डदान अथवा कुनै पनि प्रकारको दानलेसमेत अक्षय फल प्राप्त हुनेछ । यो दिन गंगा स्नान तथा भागवत पूजन गर्नाले समस्त पाप नष्ट हुने समेत बताइएको छ । यहाँसम्म कि यो दिन गरिएको जप, तप, हवन, स्वाध्यायन र दान पनि अक्षय हुनेछ । अनाथलाई दिएको दानले त अझ बढी महत्व राख्नेछ । यदि सोमबार तथा रोहिणी नक्षत्रको दिन यो पर्व परेमा अझ शुभकारक मानिन्छ । जस अनुसार यो वर्ष सोमबार नपरे पनि रोहिणी नक्षत्र भने परेको छ । विशेष गरेर यो दिनलाई विवाहको लागि निकै शुभ रहेको मानिएको छ । यो दिन विवाह गर्नको लागि कुनै किसिमको मूहुर्त वा दोष काल हेर्नु आवश्यक पर्दैन् । अक्षय तृतियामा पुरै दिन शुभ रहेको हुन्छ । यो दिन बिना कुनै कुण्डली मिलान पनि विवाह गर्न सकिन्छ भने गृहप्रवेश, घर निर्माण तथा खरिदकार्यका लागि पनि शुभ मानिन्छ जसका लागि पंचाङ्ग हेरिरहनु आवश्यक छैन । वास्तवमा भन्ने हो भने यो दिनलाई यति धेरै पबित्र मानिएको छ की यस दिनको तेजले ग्रहहरुको कुप्रभावलाई नै निस्तेज गरिदिएको हुन्छ । अक्षय तृतीयको दिन सुन, चाँदी किनमेल गर्नु पनि शुभ रहेको छ । लोक विश्वास अनुसार यो दिन किनिएको सुनचाँदी जस्ता अन्य धातुले शुभ फल दिन्छ । यो दिन भाँडाकुडाँ, घर, गाडी खरिद गर्नुपनि शुभ मानिन्छ ।

    यो दिनको व्रतको महिमा कतैकतै वर्णन गरिएको पाइन्छ जसानुसार प्राचीन कालमा एक धर्मदास नामको वैश्य थियो । उ सदाचारी, देव र ब्राह्मणप्रति अति श्रद्धा राख्दथ्यो । यो व्रतको महात्म्य सुने पछि उसले यो पर्वको दिन गंगामा स्नान गरि विधिपूर्वक देवी–देवताको पूजा गर्यो । व्रतको दिन स्वर्ण, वस्त्र तथा दिव्य वस्तु ब्राह्मण र असक्तलाई दान दियो । अनेक रोगले ग्रस्त तथा वृद्ध भए पनि उसले उपवासगरि धर्म–कर्म दान पुण्य गरेकाले त्यो वैश्य दोस्रो जन्ममा कुशावतीको राजा बन्यो । अक्षय तृतीयाको दिन गरेको दान र पूजनले त्यो धेरै धनि र प्रतापी बन्यो । त्यो यति धनी र प्रतापी राजा बनेको थियो कि त्रिदेवसम्म उसको दरबारमा अक्षय तृतीयाको दिन ब्राह्मणको रुप धारण गरि उसको महायज्ञमा उपस्थित हुन्थे । उसको श्रद्धा र भक्तिले गर्दा उसलाई कहिल्यै घमण्ड भएन । महान वैभवशाली भइसकेको भए पनि उ कहिल्यै धर्ममार्गबाट विचलित भएन । यो विश्वास गरिन्छ की यी राजानै पछि राजा चंद्रगुप्तकारूपमा पैदा भए ।

    अक्षय तृतीयाका दिनमा शुभ कार्यको थालनी गरौं । अशक्त र अनाथलाई भरपुर सहयोग गरौं र पुण्य कमाऔं ।
    ।।भवतु सर्वमङलम् ।।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.