कमल रायमाझी
भैरहवा । महामानव गौतम बुद्धले शान्ति कायम गरेको रोहिणी नदिमा बुद्ध जयन्तीको अवसर पारेर शान्ति दीप प्रज्वलन गरिएको छ ।
“रोहिणी जाऔ, शान्ति दीप प्रज्वलन गरौँ” भन्ने मुल नाराका साथ शान्ति बुद्ध गुम्बा भैरहवाको नेतृत्वमा विभिन्न संघसंस्था, सञ्चारकर्मी र स्थानीयहरुले शनिवार साझ रोहिणी नदीमा पुगेर दीप प्रज्वलन गरेका छन् ।
बौद्धकालिन अवस्थामा कोलिया वंश राज्य (देवदह) र शाक्य वंश राज्य (कपिलवस्तु) को सिमाना रहेको रोहिणी नदीमा भएको पानी विवादलाई अन्त्य गरि शान्ति कायम गरेको रोहिणी नदि बौद्ध इतिहासमा सधै चर्चाको शिखरमा रहने गर्दछ ।
यो नदीको नेपालमा पनि अध्ययन र अनुसन्धान हुन थालेपछि पहिलो पटक स्थानीयहरुले नदीको किनारामा पुगेर शान्ति दिप प्रज्वलन गरेका हुन ।
आन्नद र खुसीका लागि बुद्ध बचनहरु सधै मानिसको जिवनमा उपयोगी हुने भन्दै शान्ति र अहिंसाको मार्गलाई अबलम्बनका लागि दीप प्रज्वलन गरिएको शान्ति बुद्ध गुम्बा भैरहवाले जनाएको छ ।
शान्ति बुद्ध गुम्बाका लामागुरुहरुले स्वस्तिक बाचन गरि शान्ति र सकारात्मक सन्देशका लागि दीप प्रज्वलन गरि रोहिणी सभ्यतालाई संरक्षण गर्न सहयोग पुगेको रोहिणी गाउँपालिकाका अध्यक्ष बिद्या प्रसाद यादवले जानकारी दिए ।
उनले बुद्धस्थल रोहिणीलाई लुम्बिनी बिकास कोषले आफ्नो क्षेत्राधिकार भित्र समावेस गरेर संरक्षण र प्रवर्धन गर्नुपर्ने बताए ।
शान्ति बुद्ध गुम्बा भैरहवाका अध्यक्ष आस बहादुर गुरुङले शान्तिका अग्रदुत गौतमबुद्धले युद्धलाई शान्तिमा रुपान्तरण गरेको रोहिणी नदिलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्नका लागि सवै पक्ष संग सहकार्यको आवश्यकता रहेको बताए । उनले स्थानीय सरकार संगको सहकार्यमा बुद्धजयन्तीको अवसर पारेर प्रत्येक बर्ष शान्ति बुद्ध गुम्बाले अब शान्ति दीप प्रज्वलन कार्यक्रम गर्ने जानाकारी गराए ।
तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद शान्तिनगर इकाईका अध्यक्ष मोहन हिंह गुरुङले रोहिणी सभ्यतालाई जोगानका लागि स्थानीयवासीहरु जाग्नु पर्ने अवस्था आएको बताए । संसारभरका मानिसहरुले श्रद्धा र सम्मान गर्ने रोहिणी नदीलाई नेपालीहरुले पनि श्रद्धागर्ने बुद्धस्थलको रुपमा बिकास गर्न राज्यले पहल गर्नुपर्ने सुझाव दिए ।
बुद्धको जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको स्थल भारतको बोदगया, महापरिनिर्माण स्थल कोशीनगर जस्तै महत्वपुर्ण स्थल रोहिणी नदी भएपनि यसको खोज अनुसन्धान नगर्दा ओझेलमा परेको छ । नेपालमा बुद्ध सर्किटको विकास अवधारणमा रोहिणी नदीलाई पनि समाबेस गर्नु पर्ने देखिन्छ ।
ऐतिहासिक रोहिणी नदिलाई बुद्धकालिन रोहिणी नदीको रुपमा पनि चिनिन्छ । नेपालबाट भारत तर्फ बग्ने यो शान्त नदि भारतको गंगा नदिमा मिसिन्छ । रोहिणी नदि बुद्ध संग जोडिएको शान्तिको प्रतिक भएको बौद्ध दर्शनका ज्ञाताहरुले व्याख्या गर्दछन् ।
यो नदि हाल पाल्पा जिल्लाको चुरे पहाडबाट उद्भव भई रुपन्देहीको देवदह नगरपालिका र तिलोत्तमा नगरपालिकाको सीमाना तथा ओमसतिया गाउँपालिका र रोहिणी गाँउपालिकाको सिमाना हुदै भारत तर्फ बग्ने गर्दछ । चार स्थानीय तहको सिमाना भएको यो नदिलाई पर्यटकिय रुपमा बिकास गर्नका लागि स्थानीय सरकारहरुले काम गर्नु पर्ने देखिन्छ ।
रोहिणी सभ्यताको संरक्षणका लागि गरिएको दिप प्रज्वलनलाइ प्रत्येक बर्ष निरन्तरता दिनका लागी स्थानीय संघसंस्था तथा बौद्ध धर्मलम्बीहरुको सहकार्यको आवश्यकता देखिन्छ ।
बुद्धस्थल रोहिणीको प्रर्वधन तथा विकासका लागि शुरु गरिएको दीप प्रज्वलन कार्यक्रममा
लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुङगना, क्लबका सचिव प्रकास न्यौपाने, सदस्य रबिन्द्रप्रताप गुप्ता, शशी पन्थी, सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगर, ईलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरे, रोहिणी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खाँ, शान्ति बुद्ध गुम्बा भैरहवाका भिक्षुहरु,पोखरभिण्डी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कान्छा कोहार, समाजसेवी अकबाल खाँ, विकास रायमाझी, रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरकी पूर्वअध्यक्ष सावित्री गुरुङ्ग, चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीकी कार्यसमिति सदस्य रचना क्षेत्री, सिद्धार्थ होटल एशोसियशनका उपाध्यक्ष किशोर जोशी, पर्यटन व्यवसायीहरु भोजेन्द्र खत्री, आशा गुरुङ, रविन्द्र शर्मा घिमिरे, किशोर श्रीचन्द गुप्तालगायतको उपस्थिति रहेको थियो ।