जेठ, २७ दाङ । मगर समुदायको महान पर्व भूमे पर्वको अवसरमा नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङले सार्वजनिक बिदाको माग गरेको छ ।
लुम्बिनी प्रदेश सरकार तथा मुख्यमन्त्री जोग बहादुर महरा सँग मगर बाहुल्य क्षेत्र दाङ र प्युठानमा भूमे पर्वको अवसरमा सार्वजनिक बिदा दिनुपर्ने भन्दै आइतबार नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङले पत्र बुझाएको हो ।
संघका उपाध्यक्ष खगेन्द्र पुन मगरको हस्ताक्षर रहेको पत्रमा असार १ देखि ३ गते सम्म भूमे पर्व मनाउनका लागि लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग गरिएको छ ।
रोल्पा र रुकुममा विगत वर्ष देखि भूमे पर्वको अवसरमा असार १ गते सार्वजनिक बिदा दिने प्रचलन रहेकाले मगर बाहुल्य क्षेत्र दाङ र प्युठानमा पनि बिदा दिनुपर्ने नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङले माग गरेको छ ।
आफ्नै कला , पहिचान, रहनसहन र मौलिक पहिचान बोकेको भूमे पर्वलाई रोल्पा, रुकुम, दाङ र प्यूठान लगायतका जिल्लामा विशेष पर्वको रुपमा मगर समुदायले मनाउने प्रचलन रहेको छ ।