ज्ञानेश्वर सहानी।लुम्बिनीखबर
नवलपरासी, ३ असार । धान रोप्नु अघिदेखिको मल अभाव धान पाक्न लाग्दासम्म पनि पाइदैन्। बाह्रैमास अभाव झेलिरहेका किसानले कहिले पाउने रु सधै अभावकै बीचमा किसानले आफ्नो खेती लगाउनुपर्ने हुन्छ। उता, पाल्हिनन्दन बेलासपुरका किसान विनय मिश्रा केही दिनदेखि युरिया मलको खोजीमा छन्। जहाँ–जहाँ मल पाइन्छ भन्ने सुन्यो त्यतै दौडिएका विनयले कतै मल पाएका छैनन्। मल अभावमा धानको उत्पादन घटे परिवारमा भोकमरीको सङ्कट आउने चिन्ताले मल खोज्न दैनिक कृषि सहकारी, बजार धाइरहेका छन्।
पाल्हिनन्दनमा कतै नपाएपछि रामग्रामको परासिबाट एक क्विन्टल मल ल्याएर अलिअलि छर्ने योजना बनाएको मिश्राले जानकारी दिए। “दुई सातादेखि मल खोजिरहेको छु, मल नपाउँदा निकै पीडा भएको छ”, उनले भने, “परासी गएर मल ल्याए तर त्यतिले पुग्दैन । धान उत्पादन बढी लिन किसानलाई मल, सिँचाइ अनिवार्य चाहिन्छ।
“मल नपाए यस वर्ष धान उत्पादन घट्ने निश्चित हो। उत्पादन घटे परिवारलाई वर्षभरि खानै पुग्दैन”, धान उत्पादन बढाउन युरिया आवश्यक भए पनि समयमा उपलब्ध नहुँदा नवलपरासीका सीमावर्ती बजार धाउनुपर्ने बाध्यता छ। किसानले स्थानीय तहलाई समयमै किसानलाई मल उपलब्ध गराउनुपर्ने र नसके अन्य सम्भावना खोजी गरी मल ल्याउन दिनुपर्ने किसानको माग छ।
धानमा हाल्ने बेला युरिया मल नपाउनु किसानलाई मात्रै समस्या नभई कृषि क्षेत्रमै असर पार्छ। समयमै सहजरुपमा मल उपलब्ध गराउन स्थानीय सरकारले सहयोग गर्नुपर्ने माग छ। सहजताको लागि पाल्हिनन्दन गाउँपालिकाले विभिन्न तह र निकायसँग समन्वय गरिरहेको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताले बताए । “मल अभावमा किसानलाई सास्ती भएको छ”, पालिका अध्यक्ष गुप्ता भन्छन्,“हामीले धेरैतिर पहल गरेका छौँ, हाम्रो काम समन्वय र पहल गर्ने हो, मल नपाए उत्पादनमा कमी मात्र नभई किसानलाई दुःख भएको छ ।”
पालिका उपाध्यक्ष फातुमा खातुन अंसारी भन्छिन् , किसानले मलको अभावले खेप्न परेको पीडा देखेर आफुलाई पनि दुख लाग्छ तर हामि बाध्य छौ ,किसानको पीडा देखेर मलको लागि पालिकाबाट विभिन्न संघसंस्थामा पहल गरेको बताईन । तर मल आउँछ कि आउदैन केही टुङ्गो छैन , उनि भन्छिन् , यो समस्या देशभर किसानहरुले खेप्न परेको छ । यसमा सरकार कहिले ध्यान देला रु
यस्तै अर्का किसान गुड्डु गुप्ता भन्छन् , हामी किसानका पिडा समस्या र सास्ती बुझ्ने यो देशमा कुनै निकाय नभएको जस्तैः महसुस हुन्छ । हरेक वर्ष झै यो वर्ष पनि धान रोपाई मलविना नै हुन्छ कि भन्ने मनमा डर लाग्छ , यदि धान भएन भने मैले मेरो परिवार कसरी पाल्छु चिन्तमा रहेको उनी बताउँछन् ।