पशुपति यादव
भैरहवा, १४ असार । रुपन्देहीको ओमसतिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । ओमसतियाले सवा ४९ करोड रुपैयाँ बराबरको बजेट ल्याएको हो ।
सोमबार गाउँपालिकाको १५औं अधिवेशनमा आगामी आव २०८१–०८२ लागि उपाध्यक्ष सुनिता चौधरीले ४९ करोड २२ लाख १८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिन् । ‘सबै क्षेत्रको समानुपातिका विकास गर्ने गरी बजेट ल्याएका छौं’, उनले भनिन्, ‘पालिकालाई हरेक क्षेत्रमा सम्मपन्न गराउने हाम्रो लक्ष्य छ ।’
बजेटममा विद्यालयको पहुँच वाहिर रहेका र बीचमैं विद्यालय छाड्ने बालवालिकाको तथ्यांक एकिन गरि प्रोत्साहनयुक्त प्याकेज कार्यक्रम संचालन गर्न प्राथमिकता दिइएको छ । गाउँपालिका भित्र प्रचलनमा रहेका मातृभाषाहरुको संरक्षण गर्न लिपि तथा व्याकरण लेखन एवम् प्रकाशन गर्ने, पर्यावरण तथा बातावरण संरक्षणका लागि पोखरी संरक्षण, ढुंगा गिट्टी वालुवा जस्ता नदिजन्य पदार्थ र अन्य प्राकृतिक स्रोतको अनाधिकृत एवम् अवैज्ञानिक दोहनलाई नियन्त्रण गरिने र गाउँपालिका भित्र आवासीय भवन निर्माण गरिँदा ‘एक घर, एक बिरुवा’ नीति अवलम्बन गर्न बजेट विनियोजन गरिएको उनले जानकारी दिइन् ।
विपन्न स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँच गराउने गर्भवती तथा सुत्केरी महिला र गम्भिर स्वास्थ्य समस्या भएका बिरामीलाई उपचारका लागि अस्पताल लैजान निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने, आउँदो आवदेखि कृषि मिटर जडान गरेका कृषकलाई बिद्युत महशुलमा ५० प्रतिशत छुट दिइने नीति लिइएको र यसका लागि आवश्यक बजेट छुट्याइएको उनले बताइन् ।
कुष्ठरोग, क्षयरोग, पाठेघरको मुखको क्यान्सर, एचआइभी–एड्स, सिकलसेल एनिमिया जस्ता रोगबाट हुने जोखिम न्युनिकरणका लागि बिरामीको नियमित खोजपड्तालका कार्यक्रम संचालन गर्ने र यसका लागि आवश्यक बजेट विनियोजन गरिएको पालिकाले जनाएको छ ।