शहबाज खान । लुम्बिनीखबर
कपिलबस्तु , १९ साउन । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाको न्यायिक समितिले २०.७५ प्रतिशत मुद्दा मात्रै छिनोफानो गरेको छ । न्यायिक समितिमा दर्ता भएको ५३ ओटा मुद्दा मध्ये ११ ओटा मात्रै छिनोफानो गरेको न्यायिक समितिले जनाएको छ ।
न्यायिक समितिमा दर्ता भएको ४२ ओटा मुद्दा प्रकियामा रहेको न्यायिक समितीका संयोजक गुन्जा देवी मौर्याले जानकारी दिएकी छन् । संयोजक मौर्याका अनुसार –न्यायिक समितिमा अधिकांश घरेलु हिंसा, जग्गा सम्बन्धी, जग्गा विवाद वा भोग चलन गरेको, घरायशी झै–झगडा, लेनदेन सम्बन्धीत लगायतका मुद्दाहरु दर्ता भएका छन् ।
न्यायिक समितिले आर्थिक वर्ष २०८०।०८१ मा २०.७५ प्रतिशत मुद्दा मात्रै फछ्र्यौट र ७९.२४ प्रक्रियामा रहेको जनाएको छ ।
न्यायिक समिति संयोजक गुन्जा देवी मौर्याले न्यायिक समितिले न्यायोचित मुद्दा छिनोफानो गर्दै आएकोले जनतालाई सहज भएको बताइन । स्थानीय सरकारलाई मेलमिलापको माध्यमबाट विभिन्न विवाद मिलापत्र गर्ने अधिकार प्राप्त भएपछि न्यायिक समितिप्रति जनताको विश्वास बढेको उनको भनाई छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ बमोजिम ९१० अनुसार देहायको विवाद निरुपण गर्ने अधिकार अन्तर्गत र त्यस्तै दफा ४७ ९२० अनुसार देहायको विवादहरुमा मेलमिलापको माध्मबाट निरुपण गर्ने अधिकार स्थानीय सरकारलाई प्राप्त छ ।
तर स्रोतको अनुसार – न्यायीक समिती संयोजक मौर्याको ठाउँमा उनको श्रीमान राजेन्द्र प्रसाद मौर्यले मुद्दाको छिनोफानो गर्ने गर्छन । न्यायीक समितिको काम होस वा पालिकाको योजनाको अनुगमनको काम होस सबैमा उनको श्रीमान नै हिड्ने गरेका छन् । श्रीमानको आदेश बमोजिम मात्र संयोजन मौर्यले हरेक कागजातमा आँखा चिम्लेर हस्ताक्षर गर्ने गरेको स्रोतको भनाइ रहेको छ ।
यसैगरी न्यायीक समितीमा सम्झौताका सबै कागजात तयार पार्न छुट्टै कर्मचारी हुनुपर्ने हो । तर अहिलेसम्म न्यायीक समितिका सम्पुर्ण कामकाज राजस्वका कर्मचारी कामेश्वर दुबेले हेर्ने गरेका छन् ।