आस्था केसी
एघार वर्षअघि गुल्मीबाट पहिलोपटक दाङ पुगेकी थिएँ । स्थानीयले सोधेका थिए– तिमी प्रतीक्षाकी बहिनी हौ ? तिम्रो अनुहार त उनीसँग मिल्दोरहेछ । मैले प्रतिउत्तरमा भनेँ, ‘प्रतीक्षा नाम गरेको कसैलाई चिन्दिनँ ।’

दाङको हाँसिपुरमा स्थानीयले प्रतीक्षाको कुरा गरिरहँदा मलाई उनीबारे जान्ने कौतूहल भयो । मैले केही दिनपछि उनलाई भेटेकी थिएँ । बाहिरबाट हेर्दा खास लाग्ने त्यस्तो केही देखिँदैनथिन् । केही दिनको सहकार्यपछि उनी खारिएकी मान्छे हुन् भन्ने ठम्याउन गाह्रो भएन ।
पातलो शरीर । अग्लो कद । गहुँगोरो । मजबुत विचारले राजनीतिमा होमिएकी छापामार महिला थिइन्, जो नेपालको युगान्तकारी परिवर्तनको मोर्चामा पहिलो महिला स्क्वायड कमान्डरको जिम्मेवारी सम्हालेकी थिइन् ।
संकटकाल हटिइसकेको थिएन । तत्कालीन नेकपा माओवादी र शाही सेनाबीचको युद्ध चरम उत्कर्षमा पुगेको थियो । रुकुमको सेरिगाउँमा जन्मेकी प्रतीक्षा त्यतिबेला दाङमा एरिया इन्चार्ज भएर काम गरिरहेकी थिइन् ।
पोलिटव्युरो बैठकमा सहभागी हुन काठमाडौँ आएकी उनै प्रतीक्षालाई गत शुक्रवार पत्रिकाको कार्यालयमा बोलाएर मैले सोधेकी थिएँ— तपाईंले जनताको मुक्तिका लागि भनेर लडेको जनयुद्धले दुई दशक पार गरिसक्यो, पार्टी पटक–पटक सरकारमा पुग्यो तर जनताले परिवर्तन भएको महसुस गरेका छन् त ?
‘परिवर्तन त धेरै भएका छन् । तर, त्यसले जनताको दैनिक जीवनमा प्रभाव पार्न सकेको छैन । जनताले आफ्नै संविधान पाए । गणतन्त्र आयो । देश धर्म्निरपेक्ष भयो,’ उनले भनिन् ।
०५२ मा जनयुद्ध सुरु हुँदा निकै कलिलो उमेरकी उनी भूमिगत भएकी थिइन् । उनी जनयुद्ध घोषणा हुँदाको पहिलो दिन पहिलोपटक छापामार शैलीमा भएको एक कारबाहीको सहभागी पनि हुन् । रुकुम, जाजरकोट र डोल्पाको सिमानामा पर्ने राडिज्युला प्रहरी चौकी रेड गर्ने ३५ जना छापामारको टोलीमा उनी पनि थिइन् ।
‘त्यो निकै रोमाञ्चकताले भरिएको क्षण थियो,’ त्यो युगान्तकारी घटना सम्झिँदा उनको अनुहार आफैँ उज्यालो भएर आयो । ‘मर्न पनि सकिन्थ्यो र मार्न पनि । टाउकोमा कफन बाँधेर, जीवनलाई हत्केलामा राखेर हिँड्दा पनि पटक्कै मृत्युको डर लागेको थिएन,’ उनले सुनाइन्, ‘कसैको मृत्यु प्वाँखजस्तै हल्का हुन्छ, कसैकोचाहिँ पहाडजस्तै गह्रौँ हुन्छ । पहाडजस्तो मृत्युवरण गर्न हिँडेको योद्धालाइ मृत्युको भय हुँदोरहेनछ ।’
स्कुल र कलेज पढ्दै गर्दा उनलाई कहिल्यै जागिर खान मन लागेन । केही नयाँ काम गर्नुपर्छ भन्ने हुटहुटीले उनी कम्युनिस्टप्रति आकर्षित भइन् । ‘कम्युनिस्ट भनेको सबैभन्दा असल मान्छे हुन्,’ केटाकेटी उमेरमै उनले यस्तो बुझेकी थिइन् । अनि त के थियो र सबैभन्दा असल मान्छे बन्ने ध्याउन्नमा उनी पढ्न छाडेर माओवादी पार्टीको काममा हिँडिन ।
गाउँकी सोझी नारायणी शर्मा अब कमरेड प्रतीक्षा भएकी थिइन् । दाजु जनार्दन शर्माको प्रेरणा छँदै थियो । उनी आफ्नो जीवन जनताको मुक्तिका लागि समर्पित गर्ने अठोटसाथ माओवादी छापामार भएकी थिइन् । जनयुद्ध सुरुताका कार्यकर्ता सीमित थिए । कलाकार, सेना, संगठक, प्रचारक सबै काम एउटै मान्छेले गर्नुपथ्र्याे । प्रतीक्षा पनि नाच्थिन् । रुकुमको सिस्ने सांस्कृतिक परिवारमा रहेर नाच्ने, गाउने गर्दागर्दै आफ्ना तीन सहयात्री मस्त घर्ती, परम्परा शर्मा, सूर्यप्रकाश पुन सहिद भए ।
‘‘..क्रान्तिकारी उठ न अब उठ, बन्दुक बोकेर उठ,
सामन्ती शासन अन्त्य गर्न एकजुट भएर जुट ‘‘.।
‘तिनै साथीहरूसँग ताल र लय मिलाएर स्टेजमा नाचेका एक–एक स्टेप मलाई आज पनि सम्झना छ,’ उनले त्यसताकाको प्रसंग सुनाउँदा अनुहारमा एकखाले भावुकता मिसिएको देखिन्थ्यो ।
मृत्युसँग जम्काभेट
त्यसताका समस्या धेरैखालका हुन्थे । मृत्यु र जीवनबीचमा साह्रै पातलो रेखा कोरिएको हुन्थ्यो । को कतिबेला कहाँ सहिद हुने हो कसैलाई थाहा हुन्थेन । सँगै हिँडिरहेको साथी कुनै पनि बेला गिरफ्तारीमा पर्न सक्थे । या मारिन सक्थे । पाइला–पाइलामा मृत्युले कुरिरहेको हुन्थ्यो । मर्नुपरे पनि देशको व्यवस्था परिवर्तनका लागि केही योगदान गर्न पाउँदा कार्यकर्ताले आफूलाई भाग्यमानी ठान्थे । बहुसख्ंयक जनताका लागि केही गर्दै छु भन्ने आत्मविश्वासले हाँसी–हाँसी मर्न प्रेरित गर्ने गरेको प्रतीक्षाले सुनाइन् ।
मृत्युसँगको जम्काभेटबारे जिज्ञासा राख्दा उनले आफ्नो अनुभव सुनाइन्, ‘एकपटक रुकुमको पूर्वी भागमा काम गर्ने सिलसिलामा दंगा पुलिसले घेरा हाल्यो । हामी सकेसम्म उसको हातमा नपर्ने, भागेर घेरा तोड्ने मनस्थितिसाथ भागिरह्यौं । लखेटिँदालखेटिँदै, भाग्दाभाग्दै मेरो छेउमै हिँडिरहेकी जुनु विकलाई खुट्टामा गोली लाग्यो । विक भाग्न सकिनन् । उनलाई समातेर चरम यातना दिई वीभत्स तरिकाले मारेका थिए । उनलाई गुमाउनु पर्दा म हतोत्साही भएकी थिएँ ।
त्यस्तै अर्को एक घटनामा हामीले एम्बुुस थापेर दुस्मनको क्षति गराउनुपर्ने योजना थियो । हामी एम्बुस थापेर बसिरह्यौं । त्यो सफल पनि भयो तर उत्तिखेर दुस्मनको थप फोर्सले हामीलाई घेरा हाल्यो । हामी १३ जना थियौँ । लडाइँ गर्ने हतियार पनि खासै थिएनन् । त्यस्तो अवस्थामा भागेर घेरा तोड्नु नै बुद्धिमानी हुन्थ्यो । हामी भाग्न थाल्यौँ । भाग्दाभाग्दै मेरै प्यारालल साइडमा हिँडिरहेकी बहिनी लक्ष्मी पुनलाई गोली लाग्यो । म संयोगले बाँचेँ । दुई घटनामा मैले क्रान्तिकारी दुई बहिनी गु्माएँ । आज पनि म उनीहरूको अनुहार झलझली सम्झिन्छु । बचाउन नसकिएको पीडाले हरेक पल चिमोटिरहने उनले बताइन् ।
यसैगरी उनले सुनाएको घटना नम्बर तीन निकै रोचक थियो । एकताका छापामार कारबाही उत्कर्षमा पुगेको थियो । गाउँ–गाउँमा हतियार संकलन गर्ने काम भइरहेको थियो । एकपटक संकल्प नामक व्यक्ति, जो पछि शहिद भए, तिनको कमान्ड र प्रतीक्षाको सहकमान्डमा एक व्यक्तिको घरमा बारबोर बन्दुक कब्जा गर्न जाने योजना बन्यो । त्यहीअनुसार सम्बन्धित व्यक्तिका घर पुग्दा परिस्थिति अलि फरक तरिकाले बदलियो ।
जो मान्छे बन्दुकको मालिक थियो, उसले त्यो बन्दुक कतै लुकाइसकेको रहेछ । उसले संकल्पलाई च्याप्प समात्यो र उल्टै उनले भिरेको बन्दुक खोस्ला–खोस्लाजस्तो गर्यो । अर्को्तिर प्रतीक्षालाई त्यो घरका महिला टिमले समाते । त्यो व्यक्तिले चाहेको भए त्यो घटनाका कमान्डर र सहायक कमान्डरलाई गोली नै हानेर मारिहाल्न पनि सक्थ्यो । तर, उनीहरूले त्यसो गरेनन् । कसो–कसो गर्दा प्रतीक्षाले आफ्नो कम्मरमा रहेको खुकुरी निकालिन् र तनावपूर्ण परिस्थितीलाई नियन्त्रणमा ल्याइन् । यसरी अन्ततः उनीहरूले आफ्नो कारबाही सफल पार्न सकेका थिए ।
युद्धकालमा आमा बन्नुको पीडा
दाङ देउखुरीका युवा नेता सागर शर्मासँग जनवादी बिहे गरेकी उनका अहिले दुई छोरी छन् । ठूली छोरी संकटकालमै जन्मेकी थिइन् भने सानी छोरी शान्तिप्रक्रियापछि जन्मेकी हुन् ।
संकटकालमा उनी रक्तचापको बिरामी थिइन् । त्यसैले उनकी जेठी छोरी प्रशंसा जन्मिँदा शल्यक्रिया गर्नुपरेको थियो । गर्भ रहेको आठ महिना पुग्दासम्म उनी फिल्डमै खटिइरहिन् । र, नानी जन्मेको तीन महिनापछि फेरि कार्यक्षेत्रको जिम्मा लिन पुगिन् । बिदा लिन त जति पनि पाइन्थ्यो तर सकेसम्म जसरी पनि पार्टीको काम गर्नुपर्छ भन्ने मान्यता थियो ।
छोरी ६ महिनाकी हुँदा उनी रामपुरतिर काम गर्दै थिइन् । एकपटक रातको समय पारेर सेनाको गस्ती टोलीले गाउँ नै घेरा हालेको खबर उनीसम्म आइपुग्यो । ६ महिनाकी दूधे बच्चीलाई लिएर उनी जंगलतिर निस्किइन् । उनको मनमा त्यतिबेला केवल नानीलाई कसरी दुस्मनबाट बचाउने भन्ने मात्रै चिन्ता लागिरह्यो । खुला आकाशमुनि सानी छोरीलाई सुताएर उनी रातभरि जागै बसिन् । पारिपट्टि रामपुर बजारमा आधा रातसम्म लाइट बालेर हल्ला गर्दै घर–घरमा सर्च गरेको आवाज वारिपट्टि बलामपुर जंगलमा सुनिइरहेको थियो । बच्ची न हो रुन थाली । नानी रोएको आवाज दुस्मनले सुन्छ कि भनेर उनले आँखा चिम्म नगरी रात काटिन् ।
सुत्न नपाएरै बितेका यस्ता धेरै रात उनको सम्झनामा ताजै छन् । प्रहरी दमन र संकटकाल सम्झँदा उनलाई अहिले पनि अत्यास लाग्छ । कति सहयोद्धाले आँखैअगाडि बलिदानी दिँदा एउटी आमाको विवशता सम्झेर उनका आँखा नरसाएका होइनन् ।
‘छोरीले निकै दुःख पाएकी थिई । आफू कतिबेला दुस्मनको घेरामा परिने हो ठेगान थिएन । त्यसैले १८ महिनाकी छोरी घरमा सासूआमाको जिम्मा लगाएर म पार्टीको जिम्मेवारीमा खटिएँ,’ प्रतीक्षाले सुनाइन् ।
निरन्तर जनताकै बीचमा
जस्तोसुकै अवस्थामा पनि उनी जनतमाझमै रहिन् । शान्तिप्रक्रिया सुरु भएपछि उनका कति सहयोद्धा सहर पसे तर उनी सदैव गाउँघर अनि जनताबै बीचमा रहिन् ।
युद्धकालमा पुरुष साथीले जति सहयोग गर्थे, त्यति सहयोग हिजोआज हुन छाडेको उनले दुःखेसो पोखिन् । एउटी महिलाका लागि त्यतिवेला भावनात्मक र वैचारिक हिसाबले सहयोग हुन्थ्यो तर हिजोआज प्रतिस्पर्धामात्रै हुने गरेको उनको अनुभव छ ।
त्यतिबेला क्रान्तिकारी मोर्चाको अग्रपंक्तिमा रहेका छापामार महिला अहिले घरपरिवारको घेराभित्र सीमित हुनुपरेकोमा उनी सन्तुष्ट छैनन् । पार्टीले महिलालाई उत्साहित बनाउने नीति तथा कार्यक्रम ल्याउन नसकेकोमा उनको चित्त बुझेको छैन । त्यसबारे कुरा उठाएका छौँ, बहस भइरहेको छ । अब केही नयाँ र राम्रा कार्यक्रम बनाउनुपर्छ भनेर छलफल भइरहेको उनले सुनाइन् ।
‘उसो त महिला भएकै कारण अवसर पाउनुपर्छ भन्ने मान्यता गलत हो । मैले कार्यक्षेत्रमा कति काम गरेकी छु भन्ने कुराले मैले पाउने अवसरलाई निर्धारण गर्नुपर्छ,’ उनको सैद्धान्तिक तर्क छ ।
काममा लागिपर्ने कुरा नै महत्वपूर्ण हो । ‘मुख्य कुरा कति महिलालाई हामीले आन्दोलनमा जोड्न सकेका छौँ । कति महिला हाम्रो पार्टीका सदस्य भएका छन् भन्ने कुरा नै प्रमुख हो । तलदेखि माथिसम्म महिलालाई जिम्मेवारी दिने कुरामा पार्टीले कन्जुस्याँइ गरेको छ भन्ने मलाइ लाग्दैन,’ उनले पार्टीको बचाउ गरिन् । करिब–करिब १० प्रतिशत महिलालाई हामीले महाधिवेशनमा सहभागी गराउनुपर्छ भनेर लागिरहेको उनले सुनाइन् ।
इमानदार तरिकाले सहजसाथ जनताको अगाडि उभिन सक्नुमै आफ्नो सुखानुभूति रहेको उनको तर्क छ । तपाईंसँगै छापामार भएका मन्त्रीसमेत भइसके, आफूलाई ओझेलमा परेजस्तो लाग्दैन भन्ने मेरो जिज्ञासामा उनले भनिन्, ‘जहाँ छु, पार्टीकै काममा छु, जनताकै बीचमा छु । त्यसैले आफूलाइ पछाडि परेँ या ओझेलमा परेँ पटक्कै लाग्दैन । बरु जनताको दैनिक जीवनमा परिवर्तन आउने गरी उपलब्धिलाई संस्थागत गर्न सकिएन कि भन्ने चिन्ता लागिरहन्छ ।’रातोपाटी