भैरहवा, कार्तिक २७ । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई मंगलबार (आज) रुपन्देही ल्याइने भएको छ। सहकारीको बचत अपचलन र संगठित अपराधको आरोपमा कार्तिक २ गते पक्राउ परेका लामिछाने २४ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् ।
पछिल्लो आइतबार कास्की जिल्ला अदालतले उनलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। कास्की प्रहरीले उनलाई रुपन्देही ल्याउन तयारी गरिरहेको जनाएको छ। सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखेर, लामिछानेलाई हवाई मार्गबाट भैरहवा ल्याउने योजना रहेको छ ।
लामिछानेमाथि बुटवलको सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँ अपचलन गरेको आरोप छ। यसै विषयमा अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएको हो । रुपन्देही प्रशासनले कुनै सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा व्यवस्था मिलाउने तयारी गरेको छ।