भैरहवा, मङ्सिर १६ । रुपन्देही नागरिक समाज सिद्धार्थनगरको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार तिलोत्तमा नगरपालिकास्थित भलवारीमा सम्पन्न भएको छ । सभाले अमित कुमार गुप्ताको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
पर्यटन व्यवसायी तथा युवा समाजसेवी अमित कुमार गुप्ता विभिन्न संघ–संस्थाहरुमा आबद्ध रहँदै आएका छन् । गुप्ताको नेतृत्वमा समाजले रुपन्देहीको समग्र विकासमा थप योगदान दिने विश्वास गरिएको छ ।

गुप्ताको नेतृत्वमा चयन भएको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष शारदा पोखरेल, उपाध्यक्ष कल्पना अर्याल, महासचिव दीपक के.सी., सचिव तुलसा शर्मा वाग्ले, र कोषाध्यक्ष ईश्वरी प्रसाद पाण्डे रहेका छन् । सदस्यहरूमा नरेन्द्र क्षेत्री, शेर बहादुर काफ्ले र अरुण कुमार श्रेष्ठ रहेका छन् ।
साधारण सभा तथा अधिवेशन रूपन्देही नागरिक समाजका निवर्तमान अध्यक्ष ईश्वरप्रसाद चापागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सर्वाेच्च अदालतका पूर्व न्यायाधीश तेजबहादुर के.सी. प्रमुख अतिथि रहेका थिए । साथै, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका प्रमुख हरि ज्ञवाली, र प्रमुख निर्वाचन अधिकृत अधिवक्ता दिलिप कुमार मल्लिक अतिथिकारूपमा उपस्थित थिए ।
समाजका नव निर्वाचित अध्यक्ष गुप्ताले समाजलाई थप सशक्त बनाउँदै रुपन्देहीको समृद्धिमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । समाजले स्थानीय विकास, पर्यटन प्रवर्द्धन, र मानव अधिकारको पक्षमा काम गर्दै जाने योजना सार्वजनिक गरेको छ । साधारण सभाले रुपन्देही नागरिक समाजको संगठनात्मक संरचना सुदृढ गर्न थप नीति र कार्यक्रमहरु तय गर्ने निर्णय पनि गरेको छ ।