भैरहवा, मङ्सिर २४ । लुम्बिनी प्रेस क्लबको आठौं साधारण सभा एवम् पाँचौं अधिवेशन सम्पन्न भएको छ । यस अवसरमा लुम्बिनीखबरका सम्पादक कमल रायमाझी निर्विरोधरूपमा क्लबको अध्यक्ष पदमा निर्वाचित भएका छन् । कार्यक्रम मङ्सिर २३ गते प्रेस क्लबको बैठक हलमा आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता कृष्णप्रसाद ढकालले नयाँ कार्यसमितिको घोषणा गरेका थिए । निर्वाचित कार्यसमितिमा कमल रायमाझी अध्यक्ष पदमा चयन भएका छन् भने अन्य पदाधिकारीहरू र सदस्यहरूको चयन पनि सर्वसम्मतरूपमा गरिएको छ ।
क्लबका कार्यसमिति उपाध्यक्ष पदमा दीपेन्द्र बढुवाल, दीपक घिमिरे तथा महासचिवमा प्रकाश न्यौपाने, सचिवमा शशि पन्थी, कोषाध्यक्षमा विष्णुप्रसाद भट्टराई, सहकोषाध्यक्ष पदमा रबन्द्रिप्रताप गुप्ता चयन भएका छन् । त्यसै गरी सदस्यहरुमा मोहम्मद हबिब, रुबिना थापा मगर, प्रतिक पौडेल, भीम भण्डारी, एलिना आचार्य र अस्मिता अधिकारी रहेका छन् । लेखा समितिको संयोजकमा शोभाकान्त रेग्मी तथा तालिम समितिको संयोजक अरुणराज शर्मा ज्ञवाली र सदस्यमा झब्बर यादव चयन भएका छन् ।
लुम्बिनी प्रेस क्लबले लामो समयदेखि यस क्षेत्रका पत्रकारहरूको हकहितका लागि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । अध्यक्ष रायमाझीको नेतृत्वमा क्लबले पत्रकारिताको गुणस्तर सुधारका लागि नयाँ कार्यक्रमहरू ल्याउने अपेक्षा गरिएको छ ।
यस अधिवेशनले नयाँ नेतृत्व चयनसँगै प्रेस क्लबलाई अझै सबल र सक्रिय बनाउन विशेष योजनाहरू अघि सार्ने प्रतिबद्धता जनाएको छ । अध्यक्ष कमल रायमाझीले आफ्नो नेतृत्वमा पत्रकारहरूको हकहित संरक्षण र संस्थाको विकासका लागि कटिबद्ध रहने प्रतिवद्धता व्यक्त गरेका छन् । रायमाझी लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयको पूर्व प्रेस सल्लाहकारसमेत हुनुहुन्छ ।
कार्यक्रममा क्लबका सदस्यहरूको उत्साहजनक उपस्थिति थियो । नवगठित कार्यसमितिले आगामी दिनमा प्रेस क्लबलाई थप प्रभावकारी बनाउन सक्रिय पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।