भैरहवा, मङ्सिर २८ । २३औं सामूहिक खेलकुद महोत्सव २०८१ को तेस्रो दिन मनकामना र एवरग्रीन विद्यालयले विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दबदबा जमाएका छन् । सामूहिक विद्यालय परिवार रूपन्देहीद्वारा आयोजित चार दिने खेलकुद महोत्सवको तेस्रो दिन विभिन्न विधाका खेलहरू सम्पन्न भएका हुन् ।
सबजुनियर रिले दौडमा छात्रतर्फ मनकामना विद्यालयले प्रथम स्थान हासिल गर्दा छात्रातर्फ लुम्बिनी सिर्जना विद्यालयले बाजी मारे । यसैगरी, सबजुनियर विधामा फ्लोरल र एवरग्रीनले पनि बलियो प्रदर्शन गरेका थिए ।
जुनियर लङजम्पमा छात्रतर्फ मनकामनाका निरज कुर्मीले प्रथम स्थान हासिल गरे भने छात्रातर्फ मनकामनाकी निर्जना यादवले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान अगोटिन् । एवरग्रीनका खेलाडीहरूले पनि विभिन्न विधामा राम्रो स्थान हासिल गर्दै विद्यालयको उपस्थिति मजबुत बनाएका छन् ।
जुनियर रिले हिट्सतर्फ छात्रतर्फ फ्लोरलले प्रथम स्थान ओगट्दा छात्रातर्फ एवरग्रीन विद्यालयले पहिलो स्थानमा नाम लेखायो । सिनियरतर्फको सटपुट खेलमा छात्रतर्फ मनकामनाका निश्चल रेश्मी मगरले प्रथम स्थान हात पारे भने छात्रातर्फ एभिएमकी अनुष्का सानीले बाजी मारिन् । खेल महोत्सव अन्तर्गतका भलिबल र बाँकी खेलहरूको फाइनल शनिबार, मङ्सिर २९ गते हुनेछ । एथलेटिक्सका सम्पूर्ण खेल पक्लिहवा कृषि क्याम्पसमा सम्पन्न भएका थिए भने भलिबल खेल पक्लिहवा माविमा भएको थियो ।
‘‘स्वास्थ्यका लागि खेलकुद, जीवनका लागि खेलकुद’’ भन्ने नाराका साथ आयोजित महोत्सवमा सहभागी विद्यार्थीहरूले शारीरिक तथा मानसिक विकासमा खेलकुदको महत्वलाई अनुभूत गरेको आयोजकले जनाएको छ ।
सामूहिक विद्यालय परिवार रूपन्देहीका अध्यक्ष वसन्त पाण्डेका अनुसार, यस महोत्सवले विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा उजागर गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । रूपन्देही जिल्लाका २० सदस्य विद्यालयहरूबाट करिब १५०० विद्यार्थीको सहभागिता रहेको यस महोत्सवमा ५० मिटरदेखि ८०० मिटरसम्मका दौड, लङजम्प, सटपुट, रिले दौड तथा भलिबल खेलहरू आयोजना गरिएका छन् ।
चार दिनसम्म सञ्चालन हुने यो महोत्सवले विद्यार्थीको शारीरिक स्वास्थ्य र खेलकुदप्रतिको रुचिलाई थप प्रेरणा दिने विश्वास आयोजकले व्यक्त गरेको छ ।
