भैरहवा, पुस ७ । तिलोत्तमा–१५, कोटिहवामा केन्द्रीय कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा विविध सामाजिक, शैक्षिक, र आर्थिक क्रियाकलापहरु सम्पन्न गर्दै सामुदायिक सेवामा महत्वपूर्ण योगदान दिएको छ । संस्थाको १० वटै सेवा केन्द्रमा पुस ६ गते शनिबार एकैसाथ सम्पन्न कार्यक्रमले सहकारीको स्थायित्व र सदस्यहरुप्रतिको समर्पणलाई प्रतिबिम्बित गरेको छ ।
कार्यक्रमका प्रमुख आकर्षणहरुमध्ये, जीवन बीमा योजनाअन्तर्गत आर्थिक सहयोग हस्तान्तरण थियो । बुटवल ११, देविनगरका होमबहादुर छन्त्याललाई १० लाख रुपैयाँ, तिलोत्तमा–१७, पिप्रैयाकी सीतादेवी थारु, र ओमसतिया–१, कटैयाकी माधुरी चौधरीको परिवारलाई ५/५ लाख रुपैयाँ बीमा रकम हस्तान्तरण गरिएको सहकारीका व्यवस्थापक रनबहादुर थापाले जानकारी दिनुभयो ।

सहकारीले आफ्ना ८३० जना ७० वर्षमाथिका ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान गर्दै उनीहरुलाई एक किलो मह, सल, र कप प्रदान गरेको छ । यो कार्यक्रम संस्थाको ज्येष्ठ नागरिकप्रतिको कदर र सम्मानको प्रतीक हो ।
त्यसै गरी शैक्षिक क्षेत्रमासमेत सक्रिय सहकारीले ८० जना प्लस टु र ब्याचलर तहका विद्यार्थीहरुलाई ५/५ हजार रुपैयाँ जनही छात्रवृत्ति प्रदान गरेको छ । यससँगै, शिक्षालाई प्रोत्साहन गर्न र ग्रामीण क्षेत्रमा शैक्षिक विकासलाई टेवा पु¥याउन संस्थाले विशेष योगदान दिएको छ । सहकारीले ३० जना बाख्रापालकलाई २०/२० हजार रुपैयाँको निब्र्याज ऋण प्रदान गरी स्थानीय कृषि र पशुपालनलाई प्रवद्र्धन गरेको छ । यसले आर्थिक सशक्तिकरणतर्फ ठोस योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
सहकारीले अधिकतम संरक्षित पुँजीकोष राख्ने ३० जना शेयर सदस्यहरुलाई विशेष पुरस्कार प्रदान गर्नुका साथै २३ वटा टोल विकास संस्था र आमा समूहहरुलाई ५/५ हजार रुपैयाँ र ८–१२ वटासम्म कुर्सी वितरण गरेको छ । यसका साथै, विभिन्न विद्यालयहरुलाई सिलिङ फ्यान प्रदान गर्दै सहकारीले सामुदायिक विकासमा आफ्नो भूमिका अझ प्रभावकारी बनाएको छ ।

सहकारी शिक्षालाई प्रोत्साहन गर्न सबै सेवा केन्द्रहरुमा सहकारी हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो । त्यस्तै, बालबालिका, महिला, र दम्पत्तिका लागि खेलकुद प्रतियोगिता र निशुःल्क चिट्ठा कार्यक्रममा ४१ वटा राइस कुक्कर वितरण गरियो । यी क्रियाकलापहरुले संस्थाको सदस्यहरुबीच एकता र सहकार्यलाई बढाएको छ । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो वार्षिकोत्सवलाई बहुआयामिक कार्यक्रममार्फत सफलतापूर्वक सम्पन्न गर्दै सहकारी क्षेत्रको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ ।
जनउत्थान सहकारी संस्थामा हालसम्म ३८ हजार २ सय ८० जना सदस्यहरू आवद्ध छन् । यी सदस्यहरूको सक्रिय सहभागिताको परिणामस्वरूप संस्थाले ठोस आर्थिक उपलब्धि हासिल गरेको हो । त्यस्तै, संस्थाको ऋणी संख्या १० हजार ७ यस ६६ जना रहेको छ, जसले सहकारीको प्रभाव र लोकप्रियतालाई झल्काउँछ ।

आर्थिक पारदर्शिता, व्यावसायिक सुदृढीकरण, र सदस्यहरूको समृद्धिमा केन्द्रित जनउत्थान सहकारी संस्था अन्य सहकारीहरूको लागि प्रेरणादायी उदाहरण बन्न सफल भएको छ । संस्थाले सदस्यहरूको बचतलाई सुरक्षित र उत्पादक रूपमा परिचालन गर्दै सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको छ ।
जनउत्थान सहकारी संस्थाले आगामी दिनहरूमा पनि सदस्यहरूको हितलाई केन्द्रमा राखेर थप योजनाहरू अघि सार्ने लक्ष्य लिएको छ । सहकारीले डिजिटल बैंकिङ, सदस्यहरूको व्यावसायिक क्षमता अभिवृद्धि, र थप वित्तीय सेवाहरू उपलब्ध गराउने योजना बनाएको छ । जनउत्थान सहकारी संस्थाले आफ्नो उल्लेखनीय प्रगति र वित्तीय उपलब्धिहरूले रुपन्देही जिल्लाको सहकारी क्षेत्रलाई नयाँ उचाइमा पु¥याएको छ । संस्थाले आफ्नो मूल्य र सिद्धान्तहरूलाई आधार मानेर आगामी दिनहरूमा थप सफलता हासिल गर्ने विश्वास लिएको छ ।
