शालकग्राम अधिकारी
पाल्पाको रानीमहललाई भारतको ताजमहल संग तुलना गर्ने गर्छन् ।
साइजको हिसाबले होइन भावनाको हिसावले । भारतका तत्कालीन मुसलमान राजाले आफ्नो रानीको मृत्युको शोकले प्रभावित भएर भारतको आगरा सहरमा यमुना नदीको किनारमा ताजमहल बनाए । पाल्पाका तत्कालीन प्रशासक खड्ग शमशेर राणाले आफ्नी रानी तेज क्ुमारीको मृत्युको शोकमा काली गण्डकीको किनारमा पाल्पाको रानीमहल बनाए ।
खड्ग शमशेरले तत्कालीन बुद्धिजीवी पण्डितहरुसंग सल्लाह गर्दा बराङ्दी खोला मिसिने स्थलमा थोरै समयका लागि कालीगण्डकी उत्तरबाहिननी भएकी छन् । उत्तर बाहिनी गंगाको ठूलो महत्व हुन्छ । त्यसैले सोही ठाउँमा रानीमहल बनाउनु उपयुक्त हुन्छ भन्ने सल्लाह दिएकोले यो ठाउँमा रानीमहल बनेको हो ।
तानसेनबाट त्यो ठाउँसम्म जाने वाटो थिएन् । बाटो खन्ने ठाउँ पनि अप्ठ्यारो र भीर थियो । तापनि धेरै जना ढुङ्गाको काम गर्ने आग्रीहरुलाई लगाएर खरमा मोटामोटा डोरी तथा लठ्ठाहरु तयार गरेर, त्यसैमा झुण्डिएर पहराको भित्तामा प्वाँल पारेर, त्यसैमा टेकेर त्यो बाटो तयार गरेका हुन् । बाटो तयार भएपछि मधेशबाट हात्ती ल्याएर रानीघाटसम्म लगेका थिए रे । बाटो अप्ठ्यारो मानेर हात्ती रोएको थियो रे ।
काली गण्डकीको किनारमा रानी महल बन्यो । धेरै जना मानिसहरु लगेर रमाइलो गरेर सानो महलको उद्घाटन गरे । खण्ड शमशेरको शेषपछि रानीमहल जीर्ण हुँदै गएको थियो । पर्यटन व्यवसाय सुरु भएपछि सरकारले मर्मतसम्भार गर्यो । मोटरबाटो बनायो । हाल त्यो रानी महलमा पुग्न तीन चारवटा मोटर बाटो बनेको छ । जताबाट गएपनि हुन्छ । तानसेनबाट बराङ्दी हुँदै गए भयो । राम्दीबाट काली गण्डकी करिडोरबाट गए भयो । रिडि तिरबाट गए पनि हुन्छ । रानीमहल हेर्न लायकको छ । दरबारबाट तल झर्ने सिडी सोझै काली गण्डकीको जलमा पुगेको छ । समाएर गंगास्नान गर्नका फलामका लठ्ठाहरु झुण्डिएका छन् । दरबार भित्र मन्दिर छ । दर्शन गर्न पाइन्छ । पोखरी छ, भान्सा घर, अतिथि कोठा आदि छन् । घुमेर हेर्न सकिन्छ । रानी घाटमा काली गण्डकी माथि झोलुङ्गे पुल बनेको छ । पुलबाट पार गरेपछि स्याङ्जा जिल्ला आउँछ । स्याङ्जा जिल्ला तर्फ सोझै माथि डाडामा गया भने आमलदेवी मन्दिर आउँछ । उकालो चढ्न सक्नेले माथि गएर आलमदेवीको दर्शन गर्न सक्दछन् । आलमदेवीलाई हाम्रा पुराना राजाहरुको कुलायन देवता मान्ने गरेका छन् । राजाहरु रहेसम्म वर्षको एक हेलिकप्टर चढेर आफ्नो कुलदेवताको दर्शन गर्न जाने गर्थे । अब त राजा नै समाप्त भए । तर जनताले छन् । जनता दर्शन गर्न जान्छन् । मन्दिरलाई दुई खण्ड गरेर पर्खालले घेरेको छ । भित्रि खण्डमा एउटा ठूलो ढुङ्गो छ । मूर्ति छैन् । भावना मात्र हो । ढुङ्गो संगैं एउटा रुख छ । त्यही ढुङ्गोमा पूजा गरिन्छ । यो खण्डमा बली चढाइन्न । त्यसपछि अर्कौ खण्ड छ । त्यसमा बली दिने चलन छ ।
महिलाहरुलाई दुबै खण्डमा पस्न दिइदैन् । बाहिर् बस्नुपर्छ । पुरुषले पूजा सामान लैजाने पूजा गर्ने र काट्ने । बाहिर आएर महिलालाई टीका फूल लगाइदिने गरिन्छ ।