भैरहवा, पुस १४ । रुपन्देही जिल्लाका विभिन्न स्थानमा अदालतका आदेश बमोजिम फरार रहेका ११ जना प्रतिवादी पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालतमा प्रस्तुत गरी कैद तथा जरिवाना भुक्तानीका लागि प्रक्रिया अघि बढाएको छ।
पक्राउ परेकामध्ये चेक अनादर मुद्दामा २०७८ साल भदौ २० गतेको अदालतको फैसलाबाट फरार ब्रम्हा यादवलाई इलाका प्रहरी कार्यालय मर्चवारले पक्राउ गरेको हो। उनी रुपन्देहीको सम्मरीमाई गाउँपालिका–१ निवासी हुन्। त्यस्तै, जालसाजी मुद्दामा २०६५ साल माघ १५ गतेको फैसलापछि फरार रहेका सम्मरीमाई गाउँपालिका–६ निवासी पारँती अहिर र २०५३ साल वैशाख १३ गतेको फैसलापछि फरार दल सिगार कलवारलाई पनि प्रहरीले पक्राउ गरेको छ।
२०४७ साल भदौ १४ गतेको फैसलापछि फरार कुटपिट मुद्दाका प्रतिवादी खोचन पासीलाई पनि पक्राउ गरिएको छ। उनी सम्मरीमाई गाउँपालिका–६ का बासिन्दा हुन्। यस्तै, २०७२ साल पुष १२ गतेको फैसलापछि फरार रहेका मर्चवारी गाउँपालिका–७ निवासी राकेश चौधरी, राज कुमार चौधरी, र राजेन्द्र चौधरीलाई पनि पक्राउ गरिएको छ। सम्मरीमाई गाउँपालिका–७ की ईस्रावती कुर्मीलाई पनि सोही मितिको कुटपिट मुद्दामा पक्राउ गरिएको छ।
त्यसैगरी, वडा प्रहरी कार्यालय बुटवलले २०७६ साल असार २२ गतेको फैसलापछि कर्तव्य ज्यान मुद्दामा फरार रहेका बुटवल उप–महानगरपालिका–७ निवासी मित्र प्रसाद गौचनलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलले २०७२ साल माघ ४ गतेको फैसलापछि सार्वजनिक मुद्दामा फरार रहेका बुटवल उप–महानगरपालिका–५ निवासी सुरेश खनाललाई पक्राउ गरेको छ।
त्यस्तै, इलाका प्रहरी कार्यालय मझगवाले २०७८ साल कात्तिक ९ गतेको फैसलापछि अभद्र व्यवहार मुद्दामा फरार रहेका सम्मरीमाई गाउँपालिका–४ निवासी सत्यनारायण केवटलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार अदालतका आदेश कार्यान्वयन गर्न थप अभियान चलाइने जानकारी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्र.ना.उ. सुरज कार्कीले दिएका छन्।