मर्चवार, पुस २६ – रुपन्देहीको मर्चवार क्षेत्रमा सञ्चालन भएको घुम्ती बन्ध्याकरण शिविरमा ८५ जनाले सेवा लिएका छन्, तर पुरुषको सहभागिता शून्य देखिएको छ। सामाजिक धारणा र चेतनाको अभाव यस समस्याको मुख्य कारणका रूपमा देखा परेको छ।
शिविर स्वास्थ्य कार्यालय रुपन्देहीको समन्वयमा, सम्बन्धित स्थानीय तहको आयोजना र सुनौलो परिवार नेपाल (मेरीस्टोप्स)को प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो। यो शिविर मर्चवारका सम्मरीमाई, मर्चवारी र कोटहीमाई गाउँपालिकामा सम्पन्न भएको थियो। तर, महिलाहरूले मात्र सहभागीता जनाउनुले सामाजिक सोच र चेतना अभावतर्फ औंल्याएको छ।
पौष १८ र १९ गते सम्मरीमाई गाउँपालिकाको रोइनिहवा स्वास्थ्य चौकीमा सम्पन्न शिविरमा ३८ महिलाले बन्ध्याकरण सेवा लिएका थिए। स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझीले पुरुष सहभागिता नहुनुमा समाजमा गढेको गलत धारणा प्रमुख कारण रहेको बताए। त्यस्तै, पौष २१ र २२ गते मर्चवारी गाउँपालिकाको महुवारी स्वास्थ्य केन्द्रमा २६ महिलाले सेवा लिएका थिए। मर्चवारी स्वास्थ्य शाखा प्रमुख फेकन साहले चेतना अभावले पुरुषहरूलाई बन्ध्याकरण प्रक्रियाबाट टाढा राखेको बताए।
पौष २४ गते कोटहीमाई गाउँपालिकाको मझगावाँ स्वास्थ्य चौकीमा सम्पन्न शिविरमा २१ महिलाले मात्र सेवा लिएका थिए। कोटहीमाई स्वास्थ्य शाखा प्रमुख रामनेवास यादवले पुरुष सहभागिताको कमीले समाजको सोच परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए।
फिल्ड सुपरवाइजर कविता पाण्डेयका अनुसार, बन्ध्याकरण महिला र पुरुष दुवैका लागि उपलब्ध भए पनि महिलाहरूले मात्र यो जिम्मेवारी लिनु परेको छ। उनले चेतना अभाव, महिनावारीको समस्याको डर र सामाजिक सोचको कारणले पुरुषहरू पछि हट्ने गरेको बताइन्। बन्ध्याकरण सेवा प्रभावकारी बनाउन र पुरुषहरूको सहभागिता सुनिश्चित गर्न समाजमा चेतनाको स्तर बढाउन तत्काल पहल आवश्यक रहेको देखिन्छ।