अन्जना चौहान/लुम्बिनी
माघ १५ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ११ मसिना कार्यालयको नयाँ भवन निर्माणको शिलान्यास आज सम्पन्न भएको छ। पुरानो भवनबाट सेवा प्रवाह गर्दै आएको वडा कार्यालयको नयाँ भवनको शिलान्यास कार्यक्रम लुम्बिनी साँस्कृतिक नगरपालिका का नगर प्रमुख सजरुद्दिन मुसलमान, उपप्रमुख कल्पना हरिजन, र वडा अध्यक्ष अकरामुद्दीन मुसलमानले संयुक्त रूपमा गरेका छन्।
नयाँ भवनको शिलान्यास समारोहमा नगर प्रमुख सजरुद्दिन मुसलमानले नगरवासीहरूको सहयोग र समर्थनमा यो योजना अघि बढेको बताउनुभयो। उहाँले भने, “हामी जनताको हितमा विभिन्न योजना संचालन गर्दैछौं, ताकि सेवा ग्रहकहरूलाई कुनै प्रकारको समस्याको सामना नगर्नु पर्छ।“ वडा अध्यक्ष अकरामुद्दीन मुसलमानले पुरानो भवनमा सेवा प्रवाह गर्दा विभिन्न समस्याहरूको सामना गर्नुपरेको कुरा राख्नुभयो। “वर्षा समयमा पानी चुहिने, सानो स्थान र सीमित स्रोतका कारण वडाले ठूलो कठिनाइ भोगेको थियो। नयाँ भवनको निर्माणसँगै वडावासीलाई सहज र प्रभावकारी सेवा मिल्नेछ ।’’ उहाँले भन्नुभयो।
नयाँ भवन तीन कठ्ठा जग्गामा निर्माण हुने भएको छ र यसको लागत ४३ लाख रुपैयाँ रहेको जानकारी दिइएको छ। शिलान्यास कार्यक्रममा वडा सचिव, जनप्रतिनिधि, वडासदस्य, स्वास्थ्य इन्चार्ज बुद्धिनाथ बराई लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
यो भवन निर्माण योजनाले वडा नं. ११ का सेवाहरूलाई अझ थप प्रभावकारी बनाउने विश्वास गरिएको छ, जसले जनसेवामा सुधारको दिशा प्रगति गर्नेछ।