ज्ञानेश्वर सहानी/नवलपरासी ।
फागुन १ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१३ मा रहेको नशा डान्स बार एण्ड रेष्टुरेन्टमा भएको झगडामा एक जनाको ज्यान गएको छ। प्रतापपुर गाउँपालिका–९, खैरनीका ४५ वर्षीय सन्त बहादुर चौधरीको उपचारका क्रममा मृत्यु भएको हो।
२०८१ माघ २८ गते राति ११ः५० बजे बारभित्र फोटो तथा भिडियो खिचेको विषयलाई लिएर विवाद भएको थियो। सोही क्रममा कुटपिट हुँदा सन्त बहादुर चौधरी, मिन्टु चौधरी र सरोज चौधरी गम्भीर घाइते भएका थिए। गम्भीर घाइते चौधरीलाई उपचारका लागि बुटवलको चौराह अस्पताल लगिएको थियो, जहाँ माघ ३० गते बिहान ४ः५० मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले जानकारी दिएका छन्।
घटनाको जानकारी पाउनासाथ प्रहरीले डान्स बार सञ्चालक प्रतापपुर–४ का राकेश हरिजन, प्रतापपुर–९ का ३१ वर्षीय अमित चौधरी र ३५ वर्षीय सरोज चौधरीलाई पक्राउ गरेको छ। अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
डान्स बारभित्र सार्वजनिक स्थलमै कुटपिट हुने, भिडियो खिचेको निहुँमा झगडा हुने घटनाले सुरक्षा व्यवस्थाप्रति प्रश्न खडा भएको छ। स्थानीय बासिन्दाले यस घटनाबारे गम्भीर छानबिनको माग गरेका छन्।