असलम खान
मर्चवार, चैत्र १७ । मुस्लिम समुदायको महत्वपूर्ण धार्मिक पर्वको अवसरमा नेपाल सरकारले देशभर सार्वजनिक विदा दिने घोषणा गरेको छ।
गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इस्लाम धर्मावलम्बीहरूको पर्वलाई सम्मान गर्दै चैत्र १८ गते (सोमबार) सार्वजनिक विदा दिइएको उल्लेख छ। सरकारले हरेक वर्ष ईद–उल–फित्र, बकर ईद तथा मुस्लिम समुदायका प्रमुख चाडपर्वहरूमा सार्वजनिक विदा दिने परम्परा कायम राख्दै आएको छ।
ईद–उल–फित्र मुस्लिम धर्मावलम्बीहरूको पवित्र रमजान महिनाको एक महत्वपूर्ण पर्व हो। यस पर्वमा एक महिनाभरि रोजा (उपवास) बसेर आत्मशुद्धि गर्ने परम्परा रहेको छ। रोजा समाप्त भएपछि शुद्ध हृदयले समाजमा भाइचारा, सद्भाव र प्रेम अभिव्यक्त गर्दै ईद मनाइन्छ।
यस अवसरमा मुस्लिम समुदाय बिहानै मस्जिदहरूमा गई सामूहिक नमाज पढ्ने, एकअर्कालाई शुभकामना आदान–प्रदान गर्ने तथा विशेष परिकारहरू खाएर खुशीयाली मनाउने गर्छन्। ईदको दिन विशेषगरी गरिब, असहाय तथा जरूरतमन्द व्यक्तिहरूलाई सहयोग गर्ने परम्परा पनि रहेको छ।
नेपाल लगायत विश्वभरका इस्लाम धर्मावलम्बीहरूले भोलि ईद मनाउने तयारी गरिरहेका छन्। पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हुँदा सबै समुदायका नागरिकहरूबीच आपसी भाइचाराको भावना अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
