लुम्बिनीखबर
भैरहवा, १८ चैत । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि चुमेको छ । शनिबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिसले उपाधि रक्षा गर्न सफल भएकोे हो । पुलिसले लगातार दोस्रोपटक र समग्र प्रधानमन्त्री कपमा चौथोपटक उपाधि जितेको हो ।
आर्मी भने छैठौं पटक प्रतियोगिताको उपविजेतामा सिमित भएको छ । अहिलेसम्म भएका सातवटै संस्करणको फाइनल पुगेको आर्मीले एकपटक मात्रै उपाधि जितेको छ । पुलिसले पहिलो संस्करणको प्रतियोगितामा आर्मीसँग उपाधि बाँडेको थियो । पुलिसले त्यसपछि २०१९ मा भएको तेस्रो संस्करण र गत वर्ष उपाधि जितेको थियो । जितसँगै पुलिसले १० लाख र उपविजेतामा चित्त बुझाएको आर्मीले ५ लाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ ।
आर्मीले दिएको १ सय ५५ रनको लक्ष्य पुलिसले २५.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ६१ रन जोडे । उनले ७० बलको सामना गर्दै ७ चौका र ३ छक्का प्रहार गरे । यस्तै, अमित श्रेष्ठले ३९ र दिलिप नाथले अविजित ३१ रनको योगदान गरे । आर्मीका शाहब आलमले ३ तथा नरेन साउदले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले बसिर अहमदको अर्धशतकको सहयोगमा ४३ ओभरमा अलआउट हुँदै १ सय ५४ रनको मध्यम योगफल बनायो । आर्मीका लागि बसिरले अविजित रहँदै सर्वाधिक ८६ रन जोडे । उनले १ सय ४ बलको सामना गर्दै ९ चौका र १ छक्का प्रहार गरे । यस्तै, विनोद भण्डारीले २९ रन बनाए पनि सुरुवाती क्रमका ब्याटर सस्तैमा आउट भएर लज्जास्पद स्थितिमा पुगेको आर्मीलाई बसिरले सम्मानजनक योगफलसम्म पुर्याए ।
नवौं विकेटका लागि बसिरले विवेक यादवसँग मिलेर ३६ रनको साझेदारी गरे । विवेकले २७ बलमा ११ रन जोडे । पुलिसका करण केसी र सागर ढकालले ३–३, दीपेन्द्रसिंह ऐरीले २ तथा ललितनारायण राजवंशी र गुलशनकुमार झाले समान १–१ विकेट लिए । पुलिसका करण केसी म्यान अफ द फाइनल भई ५ हजार प्राप्त गरे ।
यस्तै, प्रतियोगिताभर ४१ विकेट लिएका पुलिसका ललितनारायण राजवंशी म्यान अफ द सिरिज र बेष्ट बलर घोषित भए । उनले बजाज कम्पनीका दुई मोटरसाइकल प्राप्त गरे । यस्तै, प्रतियोगितामा ३७४ रन प्रहार गरेका गण्डकी प्रदेशका युवा ब्याटर अर्जुन कुमाल बेष्ट ब्याटर भई मोटरसाइकल पुरस्कार पाए । आर्मीका तृतराज दास इमर्जिङ प्लेयर बन्दै नगद ५० हजार रुपैयाँ र क्रिकेट किटब्याग प्राप्त गरे ।
विजेता र उपविजेता टिमलाई नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, संघका निवर्तमन कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल, लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङ, उपाध्यक्ष एवं प्रतियोगिता निर्देशक विनयराज भण्डारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा लगायतले पुरस्कार प्रदान गरेका थिए ।