logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    देवदह ब्वाइजको उत्कृष्ट प्रदर्शन, माछापुच्छ्रे कपको फाइनलमा प्रवेश


    २६ चैत्र २०८१ , मंगलबार

    देवदह ब्वाइजको उत्कृष्ट प्रदर्शन, माछापुच्छ्रे कपको फाइनलमा प्रवेश

    बिशन गुरुङ्ग


    भैरहवा, चैत्र २६। माछापुच्छ्रे क्लबको आयोजनामा सञ्चालित ‘माछापुच्छ्रे कप फुटबल प्रतियोगिता २०८१’ अन्तर्गत आज भएको रोमाञ्चक खेलमा देवदह ब्वाइज, देवदहले न्यू सिर्जना एफसी, करौजियामाथि ४–१ को शानदार जित दर्ता गर्दै फाइनलको यात्रा तय गरेको छ।

    सिद्धार्थनगर नगरपालिका–२ स्थित पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा सम्पन्न खेलको सुरुवातमै न्यू सिर्जना एफसीका जर्सी नम्बर ११ का खेलाडी हिमाल थापाले पहिलो हाफको १३औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। तर, सो अग्रता लामो समय टिक्न सकेन।

    देवदह एफसीका लागि जर्सी नम्बर ८ का खेलाडी नर थापाले पहिलो हाफकै ३७औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। दोस्रो हाफमा देवदहले दबाब बढाउँदै लगातार तीन गोल थप्यो। दोस्रो हाफको १२औँ मिनेटमा जर्सी नम्बर ११ का अरुण चौधरीले गोल गर्दै देवदहलाई २–१ को अग्रता दिलाए। त्यसपछि फेरि नर थापाले ३७औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमको तेस्रो गोल गरे।

    खेलको अन्तिम समयतिर, जर्सी नम्बर ७ का मिलन आलेले ४२औँ मिनेटमा गोल गर्दै खेललाई ४–१ को अन्तिम नतिजा दिए। खेलमा उत्कृष्ट प्रदर्शन गरेका देवदह एफसीका नर थापा ‘म्यान अफ द म्याच’ घोषित भए।

    प्रतियोगिताको विजेता टिमले नगद रु. २ लाखसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. १ लाखसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, फाइनल खेलको उत्कृष्ट खेलाडीलाई नगद रु. ८ हजार ५ रुपैयाँ प्रदान गरिनेछ। साथै उत्कृष्ट फारवर्ड, गोलकिपर, डिफेन्डर र मिडफिल्डरले जनही रु. ४ हजार ५ रुपैयाँ पुरस्कार पाउने माछापुच्छ्रे क्लबका अध्यक्ष युवराज थापाले जानकारी दिए।

    आयोजक क्लबले महिला दर्शक तथा कक्षा १० सम्मका विद्यार्थीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ। अन्य सर्वसाधारण दर्शकका लागि टिकट शुल्क रु. ५० तोकिएको छ भने सेमिफाइनल तथा फाइनल खेलको लागि टिकट शुल्क रु. १०० निर्धारण गरिएको छ।

    माछापुच्छ्रे क्लबले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको छ। यस वर्ष प्रतियोगिताले आफ्नो ३० औं संस्करण पूरा गरेको छ, जुन क्लबका लागि विशेष उपलब्धि मानिएको छ। आयोजकका अनुसार, प्रतियोगिताले स्थानीय फुटबल खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने राम्रो अवसर प्रदान गरिरहेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.