लुम्बिनीखबर
सिद्धार्थनगर, भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको भैरहवा नापी कार्यालयका नापी अधिकृत सुग्रीव यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले यादवले सार्वजनिक पदको दुरुपयोग गर्दै ५ करोड ७९ लाख ६२ हजार ४४० रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको आरोप लगाएको हो।
मुद्दामा यादवकी श्रीमती गायत्री यादव तथा छोराहरू सुधान्सु यादव र शुभम यादवलाई पनि प्रतिवादी बनाइएको छ। आयोगले उनीहरूका नाममा रहेका सम्पत्तिहरू पनि गैरकानुनी रूपमा आर्जन गरिएको दाबी गरेको छ। आयोगका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रतिवादीहरूले अख्तियारको दुरुपयोग गरी सार्वजनिक जग्गालाई निजी बनाउने कार्यमा संलग्न भएका छन्, जसबाट उनीहरूले अकुत सम्पत्ति कमाएका छन्।”
आयोगका अनुसार, यादवले आफ्नो २८ वर्षको सेवा अवधिमा कुल १४ करोड ८३ लाख रुपैयाँ बराबरको सम्पत्ति जोडेका थिए, जसमध्ये ९ करोड ३ लाख रुपैयाँ मात्रै वैधानिक स्रोतबाट आएको पुष्टि भएको छ। बाँकी ५ करोड ७९ लाख रुपैयाँको स्रोत स्पष्ट नभएको र यो रकम सार्वजनिक जग्गालाई व्यक्तिका नाममा दर्ता गरी कमाएको ठहर गर्दै आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। यादवले लामो समयसम्म निमित्त कार्यालय प्रमुखको रूपमा काम गर्दै आएका थिए र यो अवधिमा उनीमाथि जग्गा दर्ता सम्बन्धी अनियमितताको आरोप लागेको छ।
अख्तियारले यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कारबाही माग गरेको छ। मुद्दामा ५ करोड ७९ लाख रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना, कैद सजाय र गैरकानुनी सम्पत्ति जफत गर्न माग गरिएको छ। अनुसन्धान जारी रहेको आयोगले जनाएको छ।