लुम्बिनीखबर
भैरहवा, २७ भदौ । नेपालभर भ्रष्टाचार तथा वेथिति विरुद्ध जेन–जी समूहले गरेको ऐतिहासिक आन्दोलनमा शहादत प्राप्त गर्ने वीर शहीदहरू प्रति रूपन्देही नागरिक समाजले एक विशेष कार्यक्रमको आयोजना गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । यसैगरी, अस्पतालको सैयामा जीवनमरणको दोसाँधमा उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शोकाकुल परिवारजनहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छ । कार्यक्रममा सहभागीहरूले शहीदहरूको साहसिक योगदानलाई स्मरण गर्दै राष्ट्रिय झण्डा फहराएर मौनिक श्रद्धाञ्जली दिएका छन् ।
“यो आन्दोलनले देशमा सकारात्मक परिवर्तनको बाटो खोलेको छ । तर, आन्दोलनको मौकामा विभिन्न अपराधिक समूहहरूले घुसपैठ गरी सार्वजनिक तथा नीजि सम्पत्तिमाथि तोडफोड, लुटपाट तथा आगजनी गरेका घटनाहरू दुःखद छन् । रूपन्देहीका नागरिकहरू यस्ता कार्यहरूको घोर भत्र्सना गर्दछन् । नयाँ बन्ने सरकारले स्वतन्त्र न्यायिक आयोग गठन गरी दोषीहरू माथि कडा कारबाही गर्नुपर्ने अपिल गरेको छ । “ अध्यक्षले यो आन्दोलनलाई ’हाईज्याक’ गर्ने प्रयास भएको बताउँदै युवाहरूलाई शान्तिपूर्ण र संयमित रहन आग्रह गरेका छन् ।
नेपालमा सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रतिबन्ध लगाएपछि सुरु भएको आन्दोल प्रतिबन्धलाई युवाहरूको आवाज दबाउने प्रयासका रूपमा लिइएको थियो, जसले भ्रष्टाचार, राजनीतिक अभिजात वर्गको विलासितापूर्ण जीवनशैली र सार्वजनिक कोषको दुरुपयोगविरुद्धको अनलाइन अभियानलाई रोक्न खोजेको थियो । सामाजिक सञ्जाल अभियानले युवाहरूलाई सडकमा उत्रन प्रेरित गरेको थियो ।
विभिन्न सरकारी तथा निजी क्षेत्रमामा भएको तोडफोड र आगजनी जस्ता हिंसात्मक घटनापछि जेन–जी समूहले आन्दोलनको उद्देश्य, भावना र मर्मअनुसार सफल पार्न उर्जाशील युवाहरू ( जेन–जी समूह) लाई गम्भीरतापूर्वक सोचविचार र संयमित भई सार्थक परिणाम निकाल्न रूपन्देही नागरिक समाजका अध्यक्षले अपिल गरेका छन् ।
यो आन्दोलनले नेपालको राजनीतिमा युगान्तकारी परिवर्तनको सम्भावना बोकेको छ, तर हिंसा र अवसरवादबाट जोगाउन सबैको एकताबद्ध प्रयास आवश्यक छ । रूपन्देहीका नागरिकहरूले यसलाई सकारात्मक दिशामा लैजान बताएका छन् ।