logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    रुपन्देहीमा लैंगिक हिंसा न्यूनीकरणका लागि सबैंको सक्रियता जरुरी


    २३ मंसिर २०८२ , मंगलबार

    रुपन्देहीमा लैंगिक हिंसा न्यूनीकरणका लागि सबैंको सक्रियता जरुरी

    अन्जना चौहान । लुम्बिनीखबर
    लुम्बिनी, मंसिर । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा रुपन्देही जिल्ला प्रहरीले लैंगिक हिंसा न्यूनीकरण तथा पीडितहरूको न्यायिक पहुँच सुनिश्चित गर्न गरिरहेका प्रयासहरू सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मात्र लैंगिक हिंसासम्बन्धी ३१७ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये घरेलु हिंसा २४६, बहुविवाह ३, जबरजस्ती करणी २४ र अन्य प्रकृतिका ४३ वटा उजुरी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । यी घटनामा संलग्न ३६ जना आरोपित पक्राउ परेका छन् भने ३२ वटा मुद्दा अदालतमा दायर भइसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना शाखाले जनाएका छन् ।
    जिल्ला प्रहरी कार्यालयका अनुसार लैंगिक हिंसा न्यूनीकरणमा स्थानीय तहसम्मै प्रहरीको सक्रियता उल्लेख्य छ । गाउँ–गाउँमा सचेतना कार्यक्रम, विद्यालयमा ‘लैंगिक हिंसा भनेको के हो ?’ भन्ने कक्षा, घर–घरमा महिला प्रहरीमार्फत परामर्श, राजमार्गमा रात्रि गस्ती, मदिरा नियन्त्रण अभियान लगायत कार्यक्रम सञ्चालन भइरहेका छन् । महिला तथा बालबालिका सेवा केन्द्रमार्फत पीडितलाई तत्काल उद्धार, परामर्श, सुरक्षित आश्रय र कानुनी सहायता उपलब्ध गराइन्छ ।
    रुपन्देहीमा पर्यटकीय क्षेत्र र ग्रामीण बस्ती दुवै भएकाले चुनौती पनि दुई प्रकारका छन् । कोटहीमाई, सम्मरीमाई, लुम्बिनी, मर्चवारी, बेथरी, सूर्यपुरा, छपिया, धकधई, बुटवललगायत क्षेत्रमा घट्ने घटनाहरु अधिकाशं लैंगिक हिंसा संग जोडिएको नाम नखोल्जे सर्तमा एक अधिकारीले बताएका छन् । प्रहरी कार्यालय दर्ता हुन आउने घट्ना जबरजस्ती करणी, गर्भपतन, कर्तव्य ज्यान, ज्यान मार्ने उद्याग, बालबिवाह, बहुविवाह, अपहरण शरीर बन्दक, बाल यौन दुरुपयोग, अप्रकृतिक मैथुन, झुण्डिएर आत्महत्या, विष सेवन आत्महत्या, आगोवाट आत्महत्या, हामफाली आत्महत्या, डुवेर आत्महत्या, करेन्टबाट आत्महत्या लैंगिक हिंसा कै कारण भएको देखिन्छ ।

    प्रहरीका अनुसार अधिकांश पीडित आर्थिक रूपले परनिर्भर भएका कारण उजुरी गर्न हिचकिचाउँछन् । परिवार र समाजको दबाबमा मुद्दा फिर्ता लिने प्रवृत्ति पनि उत्तिकै रहेको सुरक्षा निकायका अधिकारीहरु बताउँछन् । यस्ता प्रवृत्ति रोक्न प्रहरीले वडाका जनप्रतिनिधि, पालिकाका न्यायिक समिति र स्थानीय अगुवासँग निरन्तर समन्वय आवश्यक रहेको सुरक्षा निकायका अधिकारीहरु बताउँछन् ।
    “ घरेलु हिंसा यो क्षेत्रको सबैभन्दा ठूलो जरो हो,” रुपन्देहीका एक प्रहरी अधिकृतले भने, “हामीले स्थानीय तहसँग मिलेर घरेलु हिंसा सम्बन्धी जनचेतना मुलक र परिवार परामर्श कार्यक्रमलाई तीव्रता दिएका छौं । तर प्रहरी एक्लैले मात्र सम्भव छैन । समाज नै जाग्नुपर्छ ।”
    लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत कार्तिक महिनासम्म जिल्लाभर १३१ वटा सचेतना कार्यक्रम सम्पन्न भइसकेका छन् । तर प्रहरी र अधिकारकर्मीहरूका अनुसार रुपन्देहीमा लैंगिक हिंसाको जरो गहिरो छ ।

    पितृसत्तात्मक सोच, बालविवाह, दाइजो प्रथा, मदिरा तथा लागूपदार्थ दुरुपयोग, महिलाको आर्थिक निर्भरता, शिक्षा र चेतनाको अभाव, बोक्सी आरोप, अन्धविश्वास तथा ‘घरको कुरा बाहिर लैजानु हुँदैन’ भन्ने सांस्कृतिक मौनता मुख्य कारणका रूपमा देखिएका छन् ।
    विशेषगरी तराई–मधेसको ग्रामीण बस्तीमा १८ वर्ष नपुग्दै हुने बालविवाह र दाइजो नल्याएको निहुँमा हुने कुटपिट, मानसिक यातना तथा हत्या वा आत्महत्यासम्मका घटना अझै रोकिएका छैनन् । “केटी मान्छेले सहनुपर्छ, घरकी लक्ष्मीले इज्जत जोगाउनुपर्छ” जस्ता परम्परागत भनाइले महिलालाई मौन बस्न बाध्य बनाएको अधिकारकर्मीहरू बताउँछन् ।
    प्रहरी र महिला अधिकारकर्मीहरूको अनुसार–“कानुन बलियो छ, प्रहरी सक्रिय छ, तर जबसम्म समाजले महिलालाई पूर्ण मानव र आफ्नो शरीर तथा निर्णयमाथि पूर्ण अधिकार भएको व्यक्ति ठान्दैन, तबसम्म लैंगिक हिंसा पूर्ण रूपमा अन्त्य हुन सक्दैन । यसका लागि लैंगिक समानताको शिक्षा, महिलाको आर्थिक सशक्तीकरण, पुरुषहरूको सोचमा परिवर्तन र सामुदायिक संलग्नता अपरिहार्य रहेको उनीहरूले बताएका छन् ।
    “कानुन कार्यान्वयनमा हामी प्रतिबद्ध छौं,” जिल्ला प्रहरी प्रमुखले भने, “अब समाज, स्थानीय तह, शिक्षक, अधिकारकर्मी सबैले हातेमालो गर्नुपर्छ । लैंगिक हिंसा अन्त्य गर्न यो साझा दायित्व हो ।”

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.