असलम खान । लुम्बिनीखबर
मर्चवार, पुस । रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले शुक्रवार १९औँ हिउँदे अधिवेशन सम्पन्न गरेको छ। गाउँपालिकाको सभाहलमा सम्पन्न यो अधिवेशनमा चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमको प्रगति समीक्षा, बजेट खर्चको अवस्था, नीति निर्णय तथा सुशासन सुदृढीकरणसम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपमन्यु त्रिपाठीले गाउँपालिकालाई अझ सशक्त, समृद्ध, सुशासित र जनमैत्री बनाउने दिशामा निरन्तर प्रयास भइरहेको बताउनुभयो। उहाँले गाउँपालिकाका सेवा, विकास र प्रशासनिक प्रणालीलाई थप प्रभावकारी बनाउँदै यहाँका नागरिकको जीवनस्तर निरन्तर उकासिँदै जाओस् भन्ने हार्दिक कामना व्यक्त गर्नुभयो।
गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले चालु आर्थिक वर्षमा कार्यान्वयनमा रहेका केही योजनामा आवश्यकताअनुसार बजेट रकमान्तरण गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार जनताको आवश्यकता, विकासको प्राथमिकता र योजना कार्यान्वयनको अवस्थालाई ध्यानमा राख्दै केही योजनामा बजेट संशोधन गरिएको छ। यसले अधुरा तथा प्रभावकारी योजनालाई गति दिने र जनताको प्रत्यक्ष सरोकारसँग जोडिएका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास उहाँले व्यक्त गर्नुभयो।
उहाँले अब झिट्टै गाउँपालिकाको प्रशासनिक भवन निर्माणको प्रक्रिया अगाडि बढाई दुई–चार दिनमै टेन्डर मार्फत निर्माण कार्य सुरु गर्ने जनतासमक्ष गरेको बाचा पूरा गर्ने जानकारी अधिवेशनमार्फत गराउनुभयो।
अधिवेशनमा वडा अध्यक्ष तथा गाउँसभा सदस्यहरूले आ–आफ्ना वडाका विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक, सामाजिक सुरक्षा र सेवा प्रवाहसम्बन्धी विषयमा सुझाव तथा धारणा राखेका थिए। साथै बजेट खर्चमा पारदर्शिता, समयमै योजना सम्पन्न गर्ने र बेरुजु न्यूनीकरणका विषयमा पनि छलफल भएको थियो।
गाउँपालिकाले आगामी दिनमा सुशासन, पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै विकास निर्माणका कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेको छ। अधिवेशनमार्फत लिइएका निर्णयहरूले मर्चवारीमाई गाउँपालिकाको समग्र विकास र नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।