logo
  • १ भाद्र २०८३ , सोमबार
    • ट्रेन्डिङ

    भैरहवाको यूसीएमएसमा अत्याधुनिक १२८ स्लाइस सिटी स्क्यान र भेन्टिलेटरसहितको एम्बुलेन्स सेवा सञ्चालन


    २४ साउन २०८३ , आइतबार

    भैरहवाको यूसीएमएसमा अत्याधुनिक १२८ स्लाइस सिटी स्क्यान र भेन्टिलेटरसहितको एम्बुलेन्स सेवा सञ्चालन

    पशुपति यादव । लुम्बिनीखबर
    रोहिणी, २४ साउन । रुपन्देहीको सिद्धार्थनगर–रानीगाउँ स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (यू.सी.एम.एस) शिक्षण अस्पतालले आफ्नो रजत जयन्तीको अवसर पारेर अत्याधुनिक १२८ स्लाइस सिटी स्क्यान मेसिन तथा भेन्टिलेटर सुविधासहितको नयाँ एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
    अस्पतालले शनिवार पत्रकार सम्मेलन तथा विशेष कार्यक्रमको आयोजना गरी नयाँ प्रविधियुक्त सिटी स्क्यान मेसिन र अत्याधुनिक एम्बुलेन्स सेवाबारे जानकारी दिएको हो ।
    अस्पतालले लामो समयदेखि प्रदान गर्दै आएको स्वास्थ्य सेवालाई थप व्यवस्थित, गुणस्तरीय तथा सेवाग्राहीमैत्री बनाउने उद्देश्यले नयाँ प्रविधि र उपकरण थप गरिएको जनाएको छ ।

    मेडिकल कलेजका प्रबन्ध निर्देशक खुमा प्रसाद अर्याल का अनुसार रेडियोलोजी विभागले २५ वर्ष पूरा गरेको अवसरमा नयाँ प्रविधियुक्त उपकरण जडान गरी सेवा विस्तार गरिएको हो । अत्याधुनिक सिटी स्क्यान सञ्चालनमा आएपछि सेवाग्राहीले छिटो, गुणस्तरीय र भरपर्दो स्वास्थ्य परीक्षण तथा समयमै रिपोर्ट प्राप्त गर्न सक्ने उनले बताए ।

    पत्रकार सम्मेलनमा प्रबन्ध निर्देशक अर्यालले बदलिँदो प्रविधिको युगसँगै स्वास्थ्य सेवामा आधुनिक उपकरणको प्रयोगलाई अस्पतालले प्राथमिकतामा राखेको बताए । नयाँ प्रविधिबाट सेवाग्राहीले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने उनको भनाइ थियो ।
    अस्पतालका अनुसार करिब ५ करोड रुपैयाँको लगानीमा अत्याधुनिक सिटी स्क्यान लगायतका उपकरण सञ्चालनमा ल्याइएको हो । नयाँ १२८ स्लाइस सिटी स्क्यान मेसिनबाट मुटुको थ्री–डी इमेजिङलगायत विभिन्न प्रकारका जटिल स्क्यान गर्न सकिने रेडियोलोजी विभाग प्रमुख प्राध्यापक डा. सदन मुखी ले जानकारी दिए ।
    उनका अनुसार नयाँ उपकरणमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि तथा अटो पोजिसनिङको सुविधा समेत रहेको छ । यसले परीक्षण प्रक्रियालाई सहज, छिटो र प्रभावकारी बनाउनुका साथै कम समयमा गुणस्तरीय स्वास्थ्य परीक्षण गर्न सहयोग पुग्ने उनले बताए ।
    अस्पतालले आकस्मिक तथा गम्भीर अवस्थाका बिरामीलाई लक्षित गरी भेन्टिलेटर सुविधासहितको अत्याधुनिक एम्बुलेन्स सेवा समेत सञ्चालनमा ल्याएको छ । एम्बुलेन्समा आवश्यक आकस्मिक उपचार तथा जीवनरक्षाका उपकरण र सुविधा उपलब्ध भएकाले बिरामीलाई अस्पतालसम्म ल्याउने क्रममा तत्काल आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने अस्पतालले जनाएको छ ।
    अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस. ले बदलिँदो प्रविधिको युगसँगै स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र प्रभावकारिता अभिवृद्धि गर्नु अस्पतालको प्रमुख प्राथमिकता रहेको बताए । अत्याधुनिक १२८ स्लाइस सिटी स्क्यान तथा भेन्टिलेटर सुविधासहितको एम्बुलेन्स सञ्चालनमा ल्याउनु बिरामीलाई समयमै गुणस्तरीय परीक्षण, सही निदान र आवश्यक उपचार उपलब्ध गराउने दिशामा महत्वपूर्ण कदम भएको उनको भनाइ थियो ।
    उनले स्थानीय तथा आसपासका जिल्लाका सेवाग्राहीलाई आधुनिक स्वास्थ्य परीक्षणका लागि काठमाडौं वा भारतका अस्पतालसम्म पुग्नुपर्ने बाध्यता कम गर्ने उद्देश्यले अस्पतालले अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको क्षमता निरन्तर विस्तार गर्दै आएको बताए ।
    सिद्धार्थनगर नगरपालिकाका बासिन्दाका लागि प्रविधियुक्त एम्बुलेन्स सेवा २४सै घण्टा निःशुल्क उपलब्ध गराइने प्रमुख कार्यकारी अधिकृत पि.एस.ले जानकारी दिए । यसबाट आकस्मिक अवस्थामा स्थानीय बासिन्दाले थप सहज र प्रभावकारी सेवा पाउने अपेक्षा गरिएको छ ।

    कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी ले यूसीएमएसले छोटो समयमै स्वास्थ्य उपचारका क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै नेपालकै उत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा आफ्नो पहिचान बनाउन सफल भएको बताए ।
    उनले अस्पतालबाट विभिन्न प्रकारका स्वास्थ्य सेवा सहज, सुलभ र भरपर्दो रूपमा उपलब्ध भइरहेकाले स्थानीय तथा आसपासका क्षेत्रका बिरामीलाई काठमाडौं तथा भारतका महँगा अस्पतालमा उपचारका लागि जानुपर्ने बाध्यता केही हदसम्म कम भएको बताए । यूसीएमएस उपचार सेवाका साथै शिक्षण अस्पतालका रूपमा समेत उत्कृष्ट रहेको भन्दै उनले अस्पतालले विभिन्न विशेषज्ञ विभाग सञ्चालन गरेर स्वास्थ्य तथा चिकित्सा शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताए ।
    तर, रायमाझीले यूसीएमएसले भारतीय बिरामीलाई आकर्षित गर्ने विषयमा अझै पर्याप्त ध्यान दिन नसकेको बताए । सीमावर्ती क्षेत्रको ठूलो सम्भावनालाई उपयोग गर्दै भारतीय बिरामीलाई नेपाल ल्याउन अस्पतालले थप रणनीति बनाउनुपर्ने उनको सुझाव थियो । भारतीय बिरामीलाई आकर्षित गर्न नसक्नुको कारणबारे अस्पताल व्यवस्थापनले गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक योजना बनाउनुपर्ने उनले बताए ।
    रायमाझीले भने, “अस्पतालले उपचार सेवा र चिकित्सा शिक्षाका क्षेत्रमा राम्रो प्रगति गरेको छ । अब सीमावर्ती क्षेत्रको सम्भावनालाई उपयोग गर्दै भारतीय बिरामीलाई समेत आकर्षित गर्ने गरी सेवा, प्रचार–प्रसार र व्यवस्थापनमा थप ध्यान दिन आवश्यक छ ।”
    हाल अस्पतालको रेडियोलोजी विभागमा २७ जना जनशक्ति कार्यरत रहेको जनाइएको छ । दक्ष जनशक्ति र अत्याधुनिक उपकरणमार्फत चौबीसै घण्टा गुणस्तरीय रेडियोलोजी सेवा प्रदान गरिँदै आएको अस्पतालले जनाएको छ ।
    पत्रकार सम्मेलनमा विभिन्न विभागका प्राध्यापक तथा विभागीय प्रमुख, कर्मचारी र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
    अस्पताल व्यवस्थापनले नयाँ प्रविधि, दक्ष जनशक्ति र सेवाको विस्तारमार्फत लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रका नागरिकलाई आफ्नै क्षेत्रमा गुणस्तरीय, आधुनिक र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.