logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    तीज नबनोस् विरक्त बीज


    ६ भाद्र २०७३ , सोमबार

    तीज नबनोस् विरक्त बीज

    प्रा. डा. गितु गिरी

    Prof.DR gitu giri (2)

    परिचय
    प्रकृतिको उपज मानवले आफ्ना सामाजिक मूल्य र मान्यताहरूलाई प्राकृतिक नियम अनुसार परिचालन गर्नु स्वभाविक प्रक्रिया भएकोले समयतालिका पनि यसैमा आधारित बनाइएको छ । बर्ष, रितु, महिना, पक्ष आदिलाई पर्यावरणीय तथा परिवर्तनको चक्रमा समाविष्ट गरे झै सामाजिक जीवन र जगतका रीतिथितिलाई पनि कालक्रमको सञ्जालमा राखी विभिन्न नाम र अवसरको रूपमा रमाउने मानवीय परम्परा विद्यमान छ ।
    विश्वको जुनसुकै समूहमा पनि यस्ता मानवशास्त्रीय तथा समाजशास्त्रीय मान्यताहरू रहे अनुरूप नेपाली समाजमा पनि उपयोगिताको आधारमा विभिन्न संस्कार, चाडपर्व, ब्रतोत्सब आदि मनाउने मौलिक परम्परा जीवन्त छन् ।

    जन्मदेखि मृत्यृसम्म जातकर्म, नामकरण, चुडाकर्म, उपनयन, विवाह तथा अन्त्येष्टी जस्ता संस्कारहरू जुनसुकै समूह वा जातिको भएपनि आफ्नो मूल्य र मान्यताको आधारमा विभिन्न ढंगले मनाउने गरिन्छ । जनालय भन्दा देवालय बढी तथा बर्षभरिका दिन भन्दा चाडपर्व जात्रा बढी भएको भनी विदेशी अतिथिले स्तूति गरिएको नेपाली भूमि आफ्नै मैलिकतामा रमाएको छ । यहाँका मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरू नेपाल र नेपालीका अमिट धरोहर हुन् । यीनमा अपनत्व र स्वाभिमान रमाएको छ ।

    देश, काल र परिस्थितिको सम्मान गर्दै उपयोगिताको आधारमा मनाइने चाडपर्वहरूमध्ये बर्षायाममा मनाइने तीज पर्वको पनि आफ्नै मौलिक परम्परा र मान्यता जीवन्त छ । यसलाई हरितालिका पनि भन्ने गरिन्छ ।

    प्रथा
    यस पर्वको प्रारम्भ कहिले के कसरी गरियो भन्ने वारे विभिन्न मान्यताहरू रहिआएका छन् । व्रतार्क नामक धार्मिक ग्रन्थमा पार्वतीले महादेवलाई पतिको रूपमा पाउन ब्रत बसेको तथ्य उल्लेख गरिएको छ । पार्वती विवाह योग्य भएपछि  उनका पिता हिमालयले छोरीको विवाह विष्णुसँग गरिदिने निधो गरे । तर पार्वतीले विष्णुको सट्टा महादेवसँग विवाह गर्ने इच्छा राखेकोले उनी सखीको साथ लुकिन ।

    सखीले लुकेको स्थानबाट हरण गरी एकान्त गुफामा राखिन । पार्वतीले आफू बसेको स्थानमा शिवलिङ्गको प्रतिष्ठापन गरी कठोर ब्रतउपबास बस्न थालिन ।

    उनको भक्ति र श्रद्धाबाट प्रभावित भएर महादेव स्वयं त्यहाँ आई पार्वतीसँग विवाह गरेका थिए भन्ने तथ्य उल्लेख गरिएको छ । सो दिन भाद्र शुक्लपक्ष तृतीया परेकोले आफूले चाहेको वर प्राप्तीको लागि उक्त दिनमा व्रतउपबास बस्न थालिएको देखिन्छ । यसरी साथीले हरण गरेको हुँदा कालान्तरमा अपभ्रश स्वरूप हरितबाट हरिततालिका भन्न थालिएको हो भन्ने भनाइपनि रहिआएको छ ।

    हरितालिका वा तीजको अवसरमा स्नानादि गरी शुद्ध भएर निराहार रही रातभर शंकर र गौरीको पूजाआजा गरेमा जन्मजन्मान्तरसम्मको  पाप नाश हुने, सौभाग्य बृद्धि हुने, सन्तानको सुखशान्ति हुने र परलोकसमेत सन्तोषजनक हुने तथ्यसमेत धार्मिक ग्रन्थमा चर्चा गरिएको छ । तीजको अवसरमा ब्रत नबसेमा सात जन्मसम्म बाँझी, बिधवा, पुत्रशोकयुक्त र गरिब भई नरकमा बस्नुपर्ने भनी उल्लेख गरिएको देखिन्छ ।

    यस्ता कठोर धार्मिक तथा सामाजिक प्रथाले गर्दा बिरामी, सुत्केरी वा अन्य कारणले समेत ब्रतउपवास बस्न नसक्ने महिलाले पति, पुत्र वा ब्राह्मणलाई समेत आफ्नो सट्टामा उपबास बस्न लगाउने प्रचलनसमेत रह्यो । यो त भयो परम्परागत मान्यता ।

    प्रचलन
    तीजको अवसरमा अहिले पनि भाद्रशुक्ल पक्ष द्वितियाका दिनमा विभिन्न प्रकारका मिष्ठान्न, पक्वान्न, खाजा, खिर, दही, दूध, फलफुल अािद परिकारहरू खाने चलन छ । यसलाई दरखाने भनिन्छ । दरखाने दिनमा विवाहित छोरीबेटीलाई निमन्त्रणा गरी पारिवारिक जमघटसहित तीजका गीत गाई मनोरञ्जन लिने चलन छ ।
    कतैकतै त तीजको दिन ब्रत बस्नुपर्ने भएकोले उज्यालो नहुँदै रातमै विभिन्न परिकार खाने परम्परागत मान्यता रहिआएको छ । नौ डाँडा पारी विवाह गरिदिएका छोरीबेटीलाई बाबाले वा दादाले बल्लतल्ल बर्षाको भेलबाट बँचाएर माइती घरमा ल्याएर आमासहितका परिवारका सदस्यसँग दुखकष्टका बेदना पोख्ने पर्वको रूपमा यसको मौलिक पहिचान रहिआएको छ । दरखानेको रातभर आफन्त, छरछिमेकी तथा साथीभाइहरू रमाइरमाइ गाउने नाँच्ने बजाउने परम्परागत मान्यता छ ।

    तृतियाको सबेरै विवाहित तथा अविवाहित महिलाहरूले पवित्र नदी, ताल, कुण्ड,घाट आदिमा स्नानादि गरी महादेवको पूजा गर्ने प्रचलन रहिआएको छ । यस अवसरमा अफ्नो पायक पर्ने महादेव, पशुपति, शंकर आदि नामले स्थापित देवालयमा दर्शन गर्न जाने गरिन्छ । पहाडी तथा तराई भेकमा आ–आफ्नो गाउँको  पायक पर्ने चौतारी वा सार्बजनिकस्थलमा भेला भई तीजका गीत गाउने, नाँच्ने रमाउने गरिन्छ ।

    यो मौलिक मान्यता रहेपनि अहिलेको सहरीकरणले बजारका मन्दिरमा भेला हुने र क्यासेट वा अन्य विद्युतीय साधनको उपयोग गरी तयारी गीतमा नाँच्ने चलन बढेको छ । कलाकारले रेकर्ड गरेका गीतमा रमाउने गरिन्छ । यसले रचनात्मक तथा सिर्जनात्मक प्रतिभालाई संकुचन गरेको देखिन्छ । यसको लगतै गणेशचौथी तथा ऋषिपञ्चमीका अवसरहरूपनि विशेष सांस्कृतिक मूल्य र मान्यताको आधारमा मनाउने चलन रहिआएको छ ।
     
    प्रयोजन
    यसको प्रयोजन वा उपादेयता वारे समयसापेक्ष मूल्याङ्कन गर्नसकेमा मात्र सामाजिक रूपान्तरणमा सहयोग पुग्ने देखिन्छ । यसबाट नयाँ पुस्तामा हस्तान्तरण र यसको सांस्कृतिक, सामाजिक तथा धार्मिक महत्व बुझाउन सकिनेछ ।

    परम्परागत मान्यतालाई समय अनुकूल उपयोगितावादी दृष्टिले अबलम्बन गरिनु पर्दछ । पार्वतीको इक्षा अनुसार विवाह गर्न पाउनु तत्कालीन समाजको सामजिक क्रान्ति हो । रोजेको र खोजेको पति पाउनु नैसर्गिक अधिकार भएकोले यसको उपयोग भएको छ । प्रेम विवाह यसको ज्वलन्त उपज हो । तत्कालीन आडम्बर, अन्धविश्वास र जड समाजको लागि यो ठुलो चुनौति थियो, जुन अहिले रूपान्तरित छ ।

    विवाहित छोरीबेटीसँग भेटघाटको चाँजोपाँजो मिलाउन तत्कालीन कृषिकार्यको व्यस्ततामा एउटा चुनौती नै थियो । अहिले पनि नेपाली समाज यसबाट मुक्त भएको अवस्था छैन । सामाजिक सद्भाव, स्वच्छ मिलन, तीजका गीतमा चेलीका बेदना र आत्मकथाको अभिव्यक्ति, मौसम अनुसारको परिकार, नयाँ बस्त्र फेर्ने अवसर, सरसफाइ आदि क्रियाकलापहरू उपयोगी रहेका छन् । पतिपत्नी, सन्तान आदिप्रतिको बात्सल्यप्रेम, मौलिकतामा आधारित मनोरञ्जन आदि विधाहरू उपयोगी रहेका छन् । यसले समाजलाई उचित मार्गमा निर्देशित गर्न सहयोग गर्दछ ।

    पुछार  
    दरखाने बाहानामा आजकाल महिनौ दिनदेखि होटेल, रेष्टुरेण्ट, पाटीप्यालेस आदिमा आलोपालो गरी खर्चिलो रूपमा तीजलाई बिकृती र बिसंगतीको भूमरीमा पार्ने आडम्बर देखिएको छ । यसले कम आय भएका इमान्दार कर्मचारी, शिक्षक, किसान, व्यापारी आदिलाई ठुलो मारमा पारेको बुझिएको छ ।
    आफ्नो हैसियतको आँकलन नगरी देखासिकी गर्ने र सामाजिक दबाब सिर्जना गरिने अवस्थाले चाडपर्व माथि प्रहार हुनसक्ने भएकोले यस वारे बेलैमा सचेत हुनुपर्दछ ।  विभिन्न चाडपर्व तथा जात्राहरूमा आ–आफ्ना मौलिकताहरू जीवन्त छन् ।

    कसैको आलोचना वा खण्डन भन्दा उपयोगितामा निहित देखिन्छन् । धार्मिक सहिष्णुता तथा समन्वयको अनुपम पवित्र भूमि नेपाल र नेपालीबीच प्राचीनकालदेखि नै भातृत्व र भगिनित्वको सहअस्तित्व जीवन्त छ । उपयोगितावादको निर्देश तथा सामाजिक मूल्यमान्यता अनुसार उपयोग नगरी आडम्बरपूर्ण प्रबृत्तिहरू थपी सर्बसाधारण नागरिकमा त्रासदीको वातावरण सिर्जना गराई यसप्रति नकरात्मक सोंच विकास गर्नु सामाजिक अपराध हो ।

    उपयोगिताको आधारमा अनुशरण गर्नु पर्दछ । नयाँ पुस्तालाई तीज पर्वको सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक, स्वास्थ्य तथा शारीरिक उपयोगिताको वारेमा सत्यतथ्य बुझाउन औपचारिक, अनौपचारिक तथा अनियमित शैक्षिक प्रक्रियाहरूलाई प्रभावकारी ढंगले गरिचालन गरिनु पर्दछ । यसमा नागरिक समाजले प्राथमिक पाठशालाको रूपमा रहेको घरपरिवारबाट नै यसको सुरुवात गर्नु आवश्यक छ । बाह्य संस्कृतिको अन्धानुकरणले हाम्रो मौलिकतामा आँच आउन थालेको कुराप्रति सचेत हुनु आवश्यक छ ।
    यसको लागि औपचारिक निकायहरू पनि उत्तरदायी बन्नु पर्दछ । नारीको सम्मान गर्नु पर्दछ । कोरा आडम्बर, बिकृति, बिसंगति, अन्धानुकरण, स्वच्छन्दता, झैझगडा, मनमुटाब आदिले तीज कोही कसैको लागि अभिसापयुक्त रक्तबिज नबनोस् यही शुभकामना ।
    जय संस्कृति
    Email: gitug2001@gmail.com

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.