logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    बाढीपीडितको घाउमा मलम : मुस्लिम समुदायबाट २ लाख ७४ हजार सहयोग


    २६ भाद्र २०८३ , शुक्रबार

    बाढीपीडितको घाउमा मलम : मुस्लिम समुदायबाट २ लाख ७४ हजार सहयोग

    शहबाज खान । लुम्बिनीखबर 

    कपिलवस्तु ,  २६ भदौ । भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीले सयौँ परिवारलाई संकटमा पारेका बेला कपिलवस्तुको कृष्णनगर–झण्डानगर क्षेत्रका मुस्लिम समुदाय राहत सहयोगमा जुटेका छन्। जामिया सिराजुल उलूम अलसल्फियह झण्डानगरसहित मुस्लिम समुदायले बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि २ लाख ७४ हजार १४० रुपैयाँ सहयोग गरेका हुन्।

    शुक्रबार, ११ सेप्टेम्बर २०२६ मा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी १ लाख २३ हजार १४० रुपैयाँ कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन शर्मालाई हस्तान्तरण गरिएको थियो। त्यसै अवसरमा डा. सलमान खाँले व्यक्तिगत रूपमा १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको हो।

    सहयोग हस्तान्तरण कार्यक्रममा जामिया सिराजुल उलूम अलसल्फियह झण्डानगरका अध्यक्ष शेख शमीम अहमद नदवी, प्रवक्ता मौलाना मशहूद खाँ नेपाली, डा. सलमान खाँ, शेख मुजीबुर्रहमान मदनी, मुस्तफा वकिललगायत सहभागी हुनुहुन्थ्यो।

    जामियाका अध्यक्ष शेख शमीम अहमद नदवीले विपद्को समयमा पीडितको साथमा उभिनु मानवता र राष्ट्रिय दायित्व भएको बताउनुभयो। बाढीबाट प्रभावित परिवारलाई तत्काल राहतसँगै पुनर्स्थापनाका लागि समेत सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो।

    जामियाका प्रवक्ता मौलाना मशहूद खाँ नेपालीले विपद्को पीडा जात, धर्म वा समुदाय हेरेर नआउने बताउँदै संकटका बेला मानवताको आधारमा सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो। इस्लामले विपद्मा परेका र आवश्यकतामा रहेका मानिसलाई सहयोग गर्न प्रेरित गर्ने उल्लेख गर्दै उहाँले अन्य सक्षम व्यक्ति तथा संस्थालाई समेत राहत अभियानमा जोडिन आग्रह गर्नुभयो।

    डा. सलमान खाँले प्राकृतिक विपद् कुनै एक समुदायको मात्र समस्या नभएको बताउँदै पीडितको उद्धार र पुनर्स्थापनामा राज्यसँगै नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले आर्थिक रूपमा सक्षम व्यक्तिहरूलाई आफ्नो क्षमता अनुसार सहयोग गर्न आह्वान गर्नुभयो।

    शेख मुजीबुर्रहमान मदनीले विपद्मा परेकालाई समयमै सहयोग पुर्‍याउनु सामाजिक र मानवीय जिम्मेवारी भएको बताउनुभयो। मुस्तफा वकिलले पनि सामूहिक प्रयास र सहकार्यबाट बाढीपीडित परिवारलाई राहत दिन सकिने बताउनुभयो।

    कृष्णनगर–झण्डानगर क्षेत्रबाट गरिएको यो सहयोगले विपद्को समयमा धार्मिक सद्भाव, सामाजिक उत्तरदायित्व र मानवीय एकताको सन्देश दिएको छ। बाढीपीडितका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेका बेला मुस्लिम समुदायको यो पहलले ‘पीडामा धर्म होइन, मानवता पहिलो’ भन्ने भावनालाई थप बल दिएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.