लुम्बिनीखबर
भैरहवा,०९ असोज । लुम्बिनी प्रदेशमा एक महिनाको अवधिमा ४१६ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार भदौमा प्रदेशका १२ जिल्लामा भएका सवारी दुर्घटनामा १९ जनाको ज्यान गएको छ । दुर्घटनामा परी ७६२ जना घाइते भएका छन् । कार्यालयका अनुसार सबैभन्दा धेरै सवारी दुर्घटना रुपन्देहीमा भएका छन् । रुपन्देहीमा मात्रै १५७ वटा दुर्घटना भएका छन् । त्यस्तै बाँकेमा ८५, कपिलवस्तुमा ६९ र नवलपरासीमा २७ वटा सवारी दुर्घटना भएका छन् । यसैगरी बर्दियामा २३, दाङमा १४, गुल्मीमा १२, पाल्पामा १०, रोल्पामा ९, प्युठानमा ५ र अर्घाखाँचीमा ४ वटा दुर्घटना भएका छन् । पूर्वी रुकुममा भने सबैभन्दा कम अर्थात् एउटा मात्रै सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ ।
कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) निशान थापाका अनुसार चालकको लापरबाही, तीव्र गति र मापसेका कारण दुर्घटनाको जोखिम बढिरहेको छ । प्रहरीका अनुसार प्रदेशमा हुने सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति र चालकले मादक पदार्थ सेवन गरी सवारी चलाउनु देखिएको प्रहरीले जनाएको छ । भदौ महिनामा मात्रै ट्राफिक नियम उल्लंघन गर्ने १० हजार ४८७ सवारी तथा चालकलाई कारबाही गरिएको छ । तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, लापरबाही गर्ने, ओभरलोड गर्ने तथा मोटरसाइकलको स्वरूप परिवर्तन गरी चलाउनेलगायतका कसुरमा उनीहरूलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।