लुम्बिनीखबर
भैरहवा, १५ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेट चेकप्वाइन्टबाट सशस्त्र प्रहरीले रु दुई करोड ५१ लाखभन्दा बढी मूल्यको सुनजस्तो देखिने पहेँलो धातुबाट बनाइएका विभिन्न प्रकारका गरगहना बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म, डण्डा रुपन्देहीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेकी काठमाडौं महानगरपालिका–१९ बस्ने ४६ वर्षीया इला पटेललाई शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा ती गरगहना बरामद गरेको हो।
सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईको कमाण्डमा खटिएको नेपाल प्रहरी र सशसत्र प्रहरीको टोलिले संयुक्त रूपमा चेकजाचमा गरगहना बरामद भएको हो । जाँचका क्रममा पटेलको साथबाट विभिन्न डिजाइन तथा आकारका हार, औँठी, चुरा, माला, हसुली किसिमको सिक्री, झुम्का, गोली औँठी, लकेट, पोते, सिक्री, बाली तथा जुली, टप, नाकको फूली, पत्थरवाला हार र ब्रासलेटलगायतका गरगहना फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार बरामद गरगहनाको कुल तौल दुई किलो ६०५ ग्राम रहेको छ। गहनाको परीक्षण तथा धातुको परिमाण खुलाउन सिद्धार्थनगर सुनचाँदी व्यवसायी सङ्घमा पठाइएकामा परीक्षणबाट एक किलो सुन रहेको पुष्टि भएको जनाइएको छ। सुनको मूल्य रु दुई करोड ५१ लाख ९३ हजार ३५० कायम गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरगहना र नियन्त्रणमा लिइएकी पटेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय रुपन्देही पठाइएको थियो।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बरामद गरगहनासम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।
बरामद गरगहनामा नौ थान हार, ८१ थान औँठी, १३ थान चुरा, चार थान माला, आठ थान हसुली किसिमका सिक्री, २० जोर पत्थरसहितका झुम्का, २४ थान झुम्का, १४ थान गोली औँठी, एक थान लकेट (जन्तर), १७ थान पोते र २४ थान सिक्री रहेका छन्। त्यसैगरी १८८ जोर बाली तथा जुली, ६४ जोर पत्थरसहितको टप, २२ थान नाकको फूली, दुई थान पत्थरवाला हार, १० थान सानो झुम्का, ११ जोर कानको बाली र आठ थान ब्रासलेट रहेको सशस्त्र प्रहरीले जनाएको छ।