लुम्बिनीखबर
भैरहवा, १६ असोज । लुम्बिनी बौद्ध सर्किटको दिगो पर्यटन विकास तथा नेपाल–भारत सीमापार पर्यटन सम्पर्कसम्बन्धी आधारभूत अध्ययन गर्न लुम्बिनी बौद्ध विश्वविद्यालय, छाया नेपाल र इन्टिग्रेटेड सोसल डेभलपमेन्ट सेन्टर (आईएसडीसी) बीच त्रिपक्षीय रणनीतिक साझेदारी सम्झौता भएको छ। बुधबार लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. माणिक रत्न शाक्य, छाया नेपालकी अध्यक्ष सृष्टि सिलवाल र आईएसडीसीका अध्यक्ष सिद्धार्थ बज्र बज्राचार्यले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो।
सम्झौताअनुसार तीनवटै संस्थाले संयुक्तरूपमा स्थलगत अध्ययन, तथ्याङ्क सङ्कलन तथा विश्लेषण, सरोकारवालासँग परामर्श र अनुसन्धान प्रतिवेदन तयार गर्नेछन्। अध्ययनका आधारमा दिगो पर्यटन विकास तथा सीमापार सम्पर्कका लागि नीतिगत सुझाव र कार्यढाँचा तयार गरिनेछ। परियोजनाको समन्वय आईएसडीसीले गर्नेछ भने छाया नेपालको भैरहवा प्रदेश कार्यालयले स्थानीय तह तथा सरोकारवालासँग समन्वय गर्नेछ। छाया नेपालले परियोजनाका लागि रु १५ लाख आर्थिक योगदान गर्नेछ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले अनुसन्धानको शैक्षिक नेतृत्व तथा प्राविधिक मार्गदर्शन प्रदान गर्नेछ। अनुसन्धानको गुणस्तर सुनिश्चित गर्न विश्वविद्यालयले प्राध्यापक तथा विज्ञ परिचालन गर्ने सम्झौतामा उल्लेख छ। परियोजनाको रणनीतिक निर्देशन, प्रगति समीक्षा तथा अनुगमनका लागि तीनवटै संस्थाका प्रतिनिधि सम्मिलित अन्तरसंस्थागत सञ्चालन समिति गठन गरिनेछ। सम्झौता सन् २०२७ जुलाई ३१ सम्म कायम रहनेछ। परियोजनाबाट तयार हुने अनुसन्धान तथ्याङ्क, प्रतिवेदन, प्रकाशन तथा अन्य ज्ञान सामग्री तीनवटै संस्थाको संयुक्त बौद्धिक सम्पत्ति हुने व्यवस्था गरिएको छ।
आईएसडीसीकी बोर्ड सदस्य स्वाती थापाले साझेदारीबाट लुम्बिनी क्षेत्रको पर्यटन तथा स्थानीय अर्थतन्त्रको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार इन्द्रप्रसाद काफ्ले, अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गितु गिरी, केन्द्रीय क्याम्पस प्रमुख आचार्य दयानिधि गौतम तथा साझेदार संस्थाका प्रतिनिधिको उपस्थिति थियो।