logo
  • १८ असोज २०८३ , आइतबार
    • ट्रेन्डिङ

    अहिंसाको संस्कार घरदेखि समाजसम्म विकास गर्न आह्वान


    १८ असोज २०८३ , आइतबार

    अहिंसाको संस्कार घरदेखि समाजसम्म विकास गर्न आह्वान

    लुम्बिनीखबर
    भैरहवा, १८ असोज । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले घरदेखि समाजसम्म अहिंसाको संस्कार विकास गर्न आह्वान गरेको छ। विश्व अहिंसा दिवसका अवसरमा शनिबार समाजले आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा वक्ताहरूले घृणा, द्वेष, विभेद र असहिष्णुतामुक्त समाज निर्माणका लागि अहिंसात्मक व्यवहार आवश्यक रहेको औल्याएका थिए । असहमति र विवादलाई संवाद, सहमति र सहकार्यबाट समाधान गर्नुपर्नेमा वक्ताहरूको जोड थियो । राससका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईंले मानव अधिकारको सम्मान र अहिंसा एकअर्कासँग जोडिएको विषय भएको बताउनुभयो। उहाँले अधिकारको सम्मान हुने वातावरणबाट मात्र दिगो शान्ति र सामाजिक सद्भाव कायम हुने धारणा राख्नुभयो।

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कृष्ण पाण्डेले लोकतन्त्रमा विचार र राजनीतिक असहमति स्वाभाविक भए पनि त्यसलाई हिंसामा परिणत हुन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो। उहाँले संवाद र सहकार्यबाट असहमति समाधान गर्नुपर्नेमा जोड दिनुभयो। पर्यावरण संरक्षण समाज नेपालका अध्यक्ष गङ्गा पोखरेलले प्रकृतिमाथिको अनियन्त्रित दोहनलाई पनि हिंसाको एक स्वरूपका रूपमा बुझ्नुपर्ने बताउनुभयो। उहाँले प्रकृति र जैविक विविधताको संरक्षणलाई अहिंसाको अभियानसँग जोड्नुपर्ने धारणा राख्नुभयो।

    कार्यक्रममा महात्मा गान्धीले सत्य र अहिंसालाई परिवर्तनको माध्यमका रूपमा स्थापित गरेको स्मरण गर्दै हिंसालाई शारीरिक आक्रमणमा मात्र सीमित नगरी घृणा, अपमान, धम्की, विभेद र असहिष्णुतालाई समेत त्यसकै स्वरूपका रूपमा बुझ्नुपर्नेमा जोड दिइएको थियो। कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, पत्रकार, नागरिक समाज, मानव अधिकारकर्मी तथा सामाजिक अभियन्ताको सहभागिता थियो। कार्यक्रममा सहभागीले अहिंसा, शान्ति, सद्भाव र सहअस्तित्वको कामना गर्दै दीप प्रज्वलन गरेका थिए।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.