लुम्बिनीखबर
भैरहवा, १८ असोज । रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। गोली लागेर बुटवल–९ मिलनचोकका २२ वर्षीय रायन खत्री क्षेत्री घाइते हुनुभएको छ। देवदह नगरपालिका–५ का ४२ वर्षीय दीपक खरेल भन्ने दुर्गाप्रसाद खरेलले शनिबार अपराह्न पेस्तोलबाट एक राउण्ड गोली चलाउँदा खत्रीको दाहिने गालामा चोट लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। घाइते खत्रीको देवदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको छ।
घटनालगत्तै प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले खरेललाई पक्राउ गर्नुका साथै घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका ३८ वर्षीय कमल शर्मा र १८ वर्षीय अमृत खरेललाई समेत नियन्त्रणमा लिएको हो।
प्रहरीले खरेलको साथबाट एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको जनाएको छ। घटनाका सम्बन्धमा पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो।