लुम्बिनीखबर
भैरहवा, १८ असोज । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले असोज १५ गतेदेखि रुपन्देही, कपिलवस्तु र नवलपरासीका कृषि क्षेत्रको अनुगमन गरिरहनुभएको छ। मन्त्री चौधरीले कृषि उपकेन्द्र, मल वितरण केन्द्र तथा विभिन्न कृषि उत्पादन क्षेत्रको स्थलगत निरीक्षण गरी कृषकका समस्या र सुझाव लिनुभएको हो। अनुगमनका क्रममा उहाँले कृषि उत्पादन, मलखाद, सिँचाइ, विद्युतीकरण, कृषि सडक, बीमा तथा बजारीकरणको अवस्थाबारे जानकारी लिनुभएको छ। कृषकसँग प्रत्यक्ष छलफल गरी स्थानीयस्तरका समस्या पहिचान गर्ने कामसमेत भइरहेको छ।
यसैक्रममा मन्त्री चौधरीले रुपन्देहीको मर्चवार क्षेत्रका विभिन्न कृषि क्षेत्रको निरीक्षण गर्नुभयो। उहाँले मर्चवारीमाई, सम्मरीमाई र कोटहीमाई गाउँपालिकाका कृषि क्षेत्रको अवस्थाबारे जानकारी लिनुभयो। उहाँले सम्मरीमाई–६ स्थित कृषि उपज सामग्री सङ्कलन केन्द्र, मर्चवारीमाई–१ को करिब ५० बिघा क्षेत्रफलमा गरिएको केराखेती र कोटहीमाई–५ स्थित मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाको निरीक्षण गर्नुभयो। असोज ८ देखि ११ गतेसम्म आएको हावाहुरी तथा वर्षाले केराखेतीमा पुर्याएको क्षतिबारे समेत उहाँले कृषकसँग जानकारी लिनुभयो। कृषकले उत्पादनको उचित मूल्य नपाएको, केराको बजारीकरणमा समस्या रहेको तथा कृषि बीमाको दाबी भुक्तानी प्रक्रिया झन्झटिलो भएको गुनासो गरे।
कृषकले कृषि विद्युतीकरण विस्तार तथा कृषि सडक निर्माण र स्तरोन्नतिलाई प्राथमिकता दिन आग्रह गरेका थिए। मन्त्री चौधरीले कृषकका समस्या प्रत्यक्ष रूपमा बुझेर समाधानका लागि आवश्यक पहल गर्ने बताउनुभयो। उहाँले कृषि क्षेत्रको विकासका लागि सरकार, स्थानीय तह, कृषक र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। असोज १५ गतेदेखि सुरु भएको अनुगमनका क्रममा तीन जिल्लाका कृषि क्षेत्रको अवस्था, समस्या र सम्भावनाबारे स्थलगत जानकारी लिने तथा कृषकबाट सुझाव सङ्कलन गर्ने काम भइरहेको छ।