logo
  • ३० असोज २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    रुपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो


    ३० असोज २०८३ , शुक्रबार

    रुपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो

    लुम्बिनीखबर
    भैरहवा, ३० असोज । रुपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने क्रम बढेको छ । घरेलु तथा साना उद्योग कार्यालय, भैरहवाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/ ८३ मा जिल्लामा ७७७ वटा उद्योग तथा वाणिज्य फर्मको लगत कट्टा गरिएको छ । यसमध्ये ३२२ वटा उद्योग र ४५५ वटा व्यावसायिक फर्म रहेका छन् । कार्यालयका सूचना अधिकारी मोहन परियारका अनुसार उद्योग तथा व्यावसायिक फर्म बन्द गर्ने क्रम चालु आर्थिक वर्षमा पनि जारी छ । आर्थिक वर्ष २०८३/८४ को साउन र भदौमा मात्रै ८१ वटा उद्योग र १२७ वटा वाणिज्य फर्मको लगत कट्टा गरिएको छ । पछिल्लो तथ्याङ्कले जिल्लामा नयाँ उद्योग तथा व्यवसाय दर्ता भइरहँदा पुराना उद्योग र व्यावसायिक फर्म बन्द हुने क्रम पनि कायम रहेको देखाएको छ ।

    कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा २३५ वटा उद्योग र ४०४ वटा व्यावसायिक फर्म दर्ता भएका छन् । नयाँ दर्ताको सङ्ख्या उल्लेख्य रहे पनि पुराना उद्योग तथा व्यवसाय बन्द हुनु निजी क्षेत्रको व्यावसायिक अवस्थाबारे चासोको विषय बनेको छ । आर्थिक वर्ष २०८२/८३ सम्म रुपन्देहीमा २० हजार पाँच वटा उद्योग र पाँच हजार ३५९ वटा वाणिज्य फर्म दर्ता भएका छन् । कार्यालयले उद्योग तथा वाणिज्य फर्म दर्ता, नवीकरण, लगत कट्टा, सीपमूलक तालिम सञ्चालन तथा बजार अनुगमनलगायतका काम गर्दै आएको छ ।

    उद्योग तथा व्यावसायिक फर्मको दर्ता र नवीकरणबाट कार्यालयले गत आर्थिक वर्षमा दुई करोड ६० लाख तीन हजार ४८१ रुपैयाँ राजस्व सङ्कलन गरेको सूचना अधिकारी परियारले जानकारी दिनुभयो । उद्यमशीलता तथा व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा पनि १५ प्रकारका निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्न सूचना आह्वान गरिएको उहाँले बताउनुभयो । जिल्लामा उद्योग तथा व्यवसाय बन्द हुनुका पछाडि कारोबारमा कमी, लगानीअनुसार प्रतिफल प्राप्त नहुनु र व्यावसायिक वातावरणप्रतिको असन्तुष्टिलगायतका समस्या रहेको व्यवसायीले बताएका छन् । केही व्यवसायीले उद्योग वा फर्म दर्ता गरे पनि सञ्चालन गर्न नसकेको अवस्थामा लगत कट्टा गर्ने गरेका छन् भने केहीले सञ्चालनमा रहेका व्यवसायसमेत बन्द गर्नुपरेको छ ।

    भैरहवाका केही व्यवसायी व्यवसाय बन्द गरेर रोजगारी तथा अवसरको खोजीमा विदेश गएको बताइएको छ । स्वदेशमा व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण नपाएको र लगानीअनुसार प्रतिफल प्राप्त गर्न कठिन भएको उनीहरूको भनाइ छ । उद्योग तथा व्यावसायिक फर्मको दर्ता सङ्ख्याले उद्यमशीलताप्रतिको आकर्षण देखाए पनि बन्द हुने फर्मको सङ्ख्याले व्यवसायलाई निरन्तरता दिनुपर्ने चुनौतीसमेत उजागर गरेको छ । नयाँ उद्यम स्थापना गर्न प्रोत्साहन गर्नुका साथै सञ्चालनमा रहेका उद्योग तथा व्यवसायका समस्या पहिचान गरी लगानीको वातावरण सुधार गर्न सके स्थानीय उत्पादन, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा सकारात्मक योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.