लुम्बिनीखबर
भैरहवा, २५ असोज । रुपन्देहीमा अवैध रूपमा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले करिब पाँच लाख रुपैयाँ मूल्य बराबरका विभिन्न किसिमका पटाकासहित चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलीले बिहीबार सैनामैना नगरपालिका–४, रन्यौरामा चेकजाँच गर्ने क्रममा पटाका बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार कोटहीमाई गाउँपालिका–५ निवासी २५ वर्षीय धर्मराज यादवले चलाएको बा २१ च २२४९ नम्बरको पिकअप जिप रोकेर जाँच गर्दा नौ वटा बोरामा राखिएका विभिन्न किसिमका पटाका फेला परेका थिए ।
प्रहरीले पटाकासहित पिकअप जिपसमेत नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–५ का २५ वर्षीय धर्मराज यादव र १८ वर्षीय सुशील यादव तथा सम्मरीमाई गाउँपालिका–७ का ३२ वर्षीय अक्लेश मौर्य र १९ वर्षीय सन्तोष कुर्मी रहेका छन् । पक्राउ परेका चारै जनामाथि विस्फोटक पदार्थ ऐनबमोजिम थप अनुसन्धान भइरहेको डीएसपी चन्दले जानकारी दिनुभयो ।