लुम्बिनीखबर
लुम्बिनी, १७ कात्तिक । बुद्धको जन्मस्थल लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय बुद्धवचन पाठ कार्यक्रम आइतबारदेखि सुरु भएको छ। प्रसिद्ध बौद्ध धर्मगुरु छोकी निमा रिन्पोछेको नेतृत्वमा आयोजित सातदिने कार्यक्रममा विभिन्न देशका बौद्ध भिक्षु, भिक्षुणी, विद्वान् तथा साधक सहभागी भएका छन्। लुम्बिनीस्थित पाल थुब्तेन शेद्रुब लिङ अर्थात् ‘थाउजेन्ड गोल्डेन बुद्ध टेम्पल’मा आयोजना गरिएको कार्यक्रममा पाली, संस्कृत, तिब्बती, चिनियाँ, भियतनामी र अङ्ग्रेजीलगायत विभिन्न भाषामा बुद्धका उपदेश सामूहिक रूपमा वाचन गरिनेछ।
विभिन्न बौद्ध परम्परा र सम्प्रदायका अनुयायीलाई एउटै आध्यात्मिक अभ्यासमा जोड्दै बुद्धका शिक्षाको संरक्षण, अध्ययन र विश्वव्यापी प्रसार गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएका छन्। कार्यक्रममा विश्वशान्ति, करुणा र सम्पूर्ण प्राणीको कल्याणका लागि सामूहिक प्रार्थनासमेत गरिनेछ।कार्यक्रममा तिब्बती बौद्ध धर्मपरम्पराको महत्त्वपूर्ण ग्रन्थ ‘काङ्ग्युर’मा सङ्गृहीत बुद्धवचनहरूको वाचन गरिनेछ। काङ्ग्युर तिब्बती बौद्ध परम्परामा बुद्धका उपदेशहरूको प्रमुख सङ्ग्रह हो। यसमा सूत्र तथा तन्त्रसम्बन्धी विभिन्न ग्रन्थ समावेश छन्।
त्यसैगरी, अङ्ग्रेजी भाषामा बुद्धवचन वाचनका लागि अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था ‘८४०००: ट्रान्सलेटिङ द वर्ड्स अफ द बुद्ध’ले अनुवाद गरेका ग्रन्थ प्रयोग गरिने आयोजकले जनाएका छन्। उक्त संस्थाले तिब्बती बौद्ध ग्रन्थलाई आधुनिक अङ्ग्रेजी भाषामा अनुवाद गरी विश्वभरका पाठकका लागि उपलब्ध गराउँदै आएको छ। तिब्बती बौद्ध परम्पराको महत्त्वपूर्ण पर्व ‘ल्हाबाब दुछेन’को अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो। बौद्ध मान्यताअनुसार बुद्धले देवताहरूको लोकमा आफ्नी माता तथा देवगणलाई धर्मोपदेश दिएपछि पुनः पृथ्वीमा अवतरण गर्नुभएको घटनाको स्मरणमा यो पर्व मनाइन्छ।
तिब्बती बौद्ध पात्रोअनुसार नवौँ महिनाको २२औँ दिनमा पर्ने ल्हाबाब दुछेनलाई बौद्ध धर्मका चार प्रमुख पवित्र पर्वमध्ये एक मानिन्छ। यस अवसरमा बुद्धवचन पाठ, ध्यान, प्रार्थना, दान तथा अन्य पुण्यकर्मलाई विशेष महत्त्व दिने गरिन्छ। बुद्धको जन्मस्थल लुम्बिनीमा विभिन्न देश र बौद्ध परम्पराका अनुयायी एकै स्थानमा भेला भई बुद्धका शिक्षाको सामूहिक वाचन तथा साधना गर्नाले लुम्बिनीको अन्तर्राष्ट्रिय धार्मिक र आध्यात्मिक महत्त्व थप उजागर हुने अपेक्षा गरिएको छ। सात दिनसम्म सञ्चालन हुने कार्यक्रमले बुद्धका शान्ति, करुणा, मैत्री र अहिंसाका सन्देशलाई विश्व समुदायसम्म पुर्याउन सहयोग पुग्ने विश्वास गरिएको छ।