logo
  • २० कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    भैरहवा भन्सारको राजस्व संकलनमा उल्लेख्य वृद्धि, तीन महिनामा ३३ अर्ब ३४ करोड


    २० कार्तिक २०८३ , बिहिबार

    भैरहवा भन्सारको राजस्व संकलनमा उल्लेख्य वृद्धि, तीन महिनामा ३३ अर्ब ३४ करोड

    लुम्बिनीखबर
    भैरहवा, १९ कार्तिक । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले साउनदेखि असोज मसान्तसम्म रु ३३ अर्ब ३४ करोड २० लाख राजस्व संकलन गरेको हो । पहिलो त्रैमासका लागि सरकारले रु २९ अर्ब २८ करोड राजस्व संकलनको लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले निर्धारित लक्ष्यभन्दा रु चार अर्ब छ करोड २० लाख बढी राजस्व उठाउँदै लक्ष्यको ११३ दशमलव ८६ प्रतिशत प्रगति हासिल गरेको हो ।

    भन्सार प्रमुख हरिहर पौडेलका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा रु २७ अर्ब ७५ करोड ५३ लाख राजस्व संकलन भएको थियो । गत वर्ष पहिलो तीन महिनामा लक्ष्यको ९७ दशमलव १४ प्रतिशत मात्र राजस्व संकलन भएको थियो । कार्यालयको तथ्यांकअनुसार गत साउनमा रु आठ अर्ब ८३ करोड दुई लाख राजस्व संकलन भएको थियो । सो महिनाका लागि रु आठ अर्ब ५४ करोड बराबरको लक्ष्य निर्धारण गरिएको थियो । गत भदौमा रु नौ अर्ब ७६ करोड लक्ष्य रहेकामा रु १० अर्ब ६३ करोड १६ लाख राजस्व संकलन भएको थियो ।

    यस्तै, गत असोज महिनामा भने राजस्व संकलनमा थप वृद्धि भएको थियो । सो महिनाका लागि रु १० अर्ब ९८ करोड लक्ष्य रहेकामा रु १३ अर्ब ८८ करोड संकलन भएको भन्सार कार्यालयले जनाएको छ । यो असोज महिनाको लक्ष्यको १२६ दशमलव ४१ प्रतिशत हो । राजस्व संकलनमा भएको वृद्धिसँगै भैरहवा भन्सार नाकाबाट हुने वैदेशिक व्यापारमा विस्तार देखिएको छ । चालु आवको असोज महिनामा मात्रै रु ३८ अर्ब २१ करोड ११ लाख बराबरका वस्तु आयात भएका छन् । गत आवको असोजमा रु २३ अर्ब ३८ करोड बराबरका वस्तु आयात भएको थियो ।

    त्यसैगरी, असोजमा रु चार अर्ब १५ करोड १५ लाख बराबरको माल वस्तु निर्यात भएका छन् । गत वर्षको सोही अवधिमा रु दुई अर्ब ६६ करोड बराबरको निर्यात भएको थियो । भन्सार राजस्वमा सवारीसाधन तथा इन्धनजन्य वस्तुको योगदान उल्लेख्य रहेको छ । मोटरसाइकल, जीप, कार तथा भ्यान, विद्युतीय कार, पिकअप गाडी, पेट्रोल, एलपी ग्यास, फलाम र मोबाइल फोन प्रमुख राजस्व योगदानकर्ता वस्तुका रूपमा रहेका छन् ।

    भन्सार कार्यालयका सूचना अधिकृत उद्धव ढुङ्गानाका अनुसार गत असोज महिनामा राजस्वका आधारमा प्रमुख १० आयातीत वस्तुबाट मात्रै रु १० अर्ब ५२ करोडभन्दा बढी राजस्व संकलन भएको छ । यो अवधिको कुल राजस्वमा ती वस्तुको योगदान करिब ५३ प्रतिशत रहेको उनले बताए ।निर्याततर्फ भटमासको प्रशोधित तेल प्रमुख वस्तुका रूपमा रहेको छ । यसबाहेक आल्मुनियम तथा त्यसका उत्पादन, कृत्रिम धागो, चाउचाउ, नुडल्स, पास्ता, फलाम तथा फलामका सामग्री, पशु आहारको कच्चा पदार्थ, खयर कत्था र सिमेन्ट पनि प्रमुख निर्यातित वस्तुमा परेका छन् । पहिलो त्रैमासिक अवधिमा राजस्व संकलन लक्ष्यभन्दा माथि पुग्नु र असोजमा आयात तथा निर्यात दुवै बढ्नुले भैरहवा भन्सार नाकाको व्यापारिक गतिविधि विस्तार भएको देखाएको छ ।

    विशेषगरी गत असोजमा भएको राजस्व वृद्धिले समग्र त्रैमासिक उपलब्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको सूचना अधिकृत ढुङ्गानाले बताए। भन्सार प्रमुख पौडेलका अनुसार गत वर्षको तुलनामा चालु आवको तीन महिनामा राजस्व संकलनमा अपेक्षित सुधार भएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.