लुम्बिनीखबर
भैरहवा, २२ कात्तिक । रुपन्देहीको सिद्धार्थनगरबाट लागूऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–३ दरखसवाबाट भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्ला जगरनाथपुर निवासी ४० वर्षीय रमायन प्रसादलाई पक्राउ गरेको हो ।
लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उहाँलाई २५ ग्राम ४५० मिलिग्राम ब्राउनसुगरसहित फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
पक्राउ परेका प्रसादविरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कसुरमा रुपन्देही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताउनुभयो ।