logo
  • ७ मंसिर २०८३ , आइतबार
    • ट्रेन्डिङ

    रुपन्देहीमा माछाको प्राकृतिक प्रजाति संरक्षण गर्न २५ हजार भुरा छाडियो


    ७ मंसिर २०८३ , आइतबार

    रुपन्देहीमा माछाको प्राकृतिक प्रजाति संरक्षण गर्न २५ हजार भुरा छाडियो

    लुम्बिनीखबर
    भैरहवा,०६ मंसिर । प्राकृतिक जलाशयमा माछाको संख्या घट्दै गएपछि रुपन्देहीमा माछाका भुरा छोडिएको छ । विश्व मत्स्य दिवसको अवसरमा जिल्लाका नदी तथा पोखरीमा २५ हजार रौँ र नैनी जातका माछाका भुरा छोडिएको हो । तिनाउ खोलामा २२ हजार माछाका भुरा छोडिएको छ । यस्तै, सियारी गाउँपालिकास्थित जनता माध्यमिक विद्यालयको पोखरीमा दुई हजार र पब्लिक माध्यमिक विद्यालयको पोखरीमा एक हजार भुरा छोडिएको छ ।

    प्राकृतिक जलाशयमा माछाको संख्या बढाउने र जलीय जैविक विविधता संरक्षण गर्ने उद्देश्यले भुरा छोडिएको आयोजक संस्थाहरुले जनाएका छन् । रुपन्देहीमा प्राकृतिक जलाशयमा माछाका भुरा छोड्ने कार्यक्रम विगत ११ वर्षदेखि सञ्चालन हुँदै आएको छ । पछिल्लो समय नदी तथा खोलामा माछाको संख्या घट्दै गएको छ । बाढी, पहिरो, नदीजन्य पदार्थको अत्यधिक दोहन र पानीका स्रोत सुक्दै जानु यसका प्रमुख कारण हुन् । त्यसमाथि बजार तथा उद्योगबाट निस्कने रासायनिक पदार्थ, ढल र प्लास्टिकजन्य फोहोर सिधै खोलामा मिसाउँदा जलचरको बासस्थान प्रभावित भएको मत्स्य शुद्ध नश्ल स्रोत कार्यालय रुपन्देहीका प्रमुख रमेश जैशवालले बताए । त्यसैले बजार तथा उद्योगबाट निस्कने ढल र रासायनिक फोहोर प्रशोधन नगरी खोलामा मिसाउन नहुने उनले बताए ।

    राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका मत्स्य विकास अधिकृत शेभाखर पाण्डेका अनुुसार विगतमा तिनाउ खोलामा ३६ प्रकारका रैथाने माछा पाइन्थे । पछिल्लो अध्ययनले यो संख्या घटेर २४ प्रकारमा सीमित भएको उनको भनाई छ । यसले तिनाउ खोलाको जलीय जैविक विविधतामा आएको परिवर्तनलाई देखाउँछ । माछाको संख्या घट्दा खोलामा माछा मारेर जीविकोपार्जन गर्ने समुदायसमेत प्रभावित भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ रुपन्देहीका प्रमुख सालीकराम पौडेलले जनाए ।

    उनीहरूको आम्दानीको मुख्य स्रोत नै माछा भएकाले प्राकृतिक जलाशयको संरक्षण उनीहरूको जीविकासँग पनि जोडिएको छ । नदीको प्राकृतिक बहाव कायम राख्ने, जथाभावी उत्खनन रोक्ने र जलचरको बासस्थान जोगाउने काममा सबै पक्ष जिम्मेवार हुनुपर्ने पौडेलको भनाइ छ । जलवायु परिवर्तनप्रति हाम्रो जिम्मेवारी मत्स्य सम्पदाको संरक्षणमा गरौँ साझेदारी भन्ने नाराका साथ रुपन्देहीको पश्चिम अमुवाको तिनाउ खोला क्षेत्रमा माछाका भुरा छोडेर विश्व मत्स्य दिवस मनाइएको हो । मत्स्य दिवस भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, मत्स्य शुद्ध नश्ल स्रोत कार्यालय र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, रुपन्देहीले आयोजना गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.