कमल रायमाझी / लुम्बिनीखबर
भैरहवा, ८ मंसीर । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नेपाल–भारत हवाई रुट तथा एयरस्पेस प्रयोगका विषयमा महत्वपूर्ण सहमति हुने अपेक्षासँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आउने आशा भैरहवा र लुम्बिनी क्षेत्रका स्थानीयवासी तथा निजी क्षेत्रका व्यवसायीमा बढेको छ । विशेषगरी भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप हवाई प्रवेश विन्दु उपलब्ध गराउने, महेन्द्रनगरलगायतका हवाई रुटलाई दुईतर्फी बनाउने तथा भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका क्रममा भारतीय हवाई क्षेत्र प्रयोग गर्न पाउने विषयमा सहमति भए यस क्षेत्रको पर्यटन, उद्योग तथा व्यापारमा नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज दुईदिने औपचारिक भ्रमणका लागि नयाँदिल्ली पुग्नुभएको छ । भ्रमणका क्रममा नेपालले लामो समयदेखि उठाउँदै आएको हवाई रुट तथा एयरस्पेस प्रयोगको विषयलाई प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ । भारत थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन सकारात्मक देखिएको बताइएकाले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित उडान विस्तारका लागि महत्वपूर्ण आधार तयार हुने विश्वास गरिएको छ ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न भारतीय हवाई क्षेत्रको प्रयोग महत्वपूर्ण मानिएको छ । विमानस्थलको उपकरणमा आधारित अवतरण प्रणाली (आइएलएस) को सञ्चालन प्रक्रियासँग भारतीय हवाई क्षेत्रको समन्वय आवश्यक पर्ने भएकाले भारतबाट अनुमति र सहजीकरण भएमा प्रतिकूल मौसममा समेत उडान तथा अवतरणलाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस विषयमा भारतसँग सहमति जुट्न सके विमानस्थलबाट अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान सञ्चालन गर्न थप सहज हुने देखिन्छ । नेपालले अहिले भारत संग विराटनगर, जनकपुर, सिमरा, भैरहवा र महेन्द्रनगर गरी पाँचवटा बिन्दुबाट अन्तर्राष्ट्रिय हवाई मार्गमा प्रवेश तथा बाहिरिने अनुमती खोजेको छ । यी प्रवेश विन्दुलाई दुईतर्फी बनाउन तथा थप प्रवेश मार्ग उपलब्ध गराउन सके अन्तर्राष्ट्रिय उडानको दूरी, समय र सञ्चालन खर्च घटाउन सहयोग पुग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । विशेषगरी पश्चिम नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउन महेन्द्रनगर रुटको उपयोग तथा भैरहवा र पोखराका लागि थप हवाई प्रवेश मार्गको विषयलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।
हवाई रुटसँगै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान तथा अवतरणमा भारतीय एयरस्पेस प्रयोगको विषय पनि उत्तिकै महत्वपूर्ण छ । यसबाट भैरहवाबाट भारतका दिल्ली, वाराणसी, अयोध्या तथा अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा सीधा उडान विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ । त्यसैगरी पोखरा–अयोध्या र जनकपुर–अयोध्याबीच सीधा हवाई सम्पर्क स्थापना गर्ने विषयले धार्मिक पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने विश्वास गरिएको छ । यद्यपि नेपाल र भारतबीच एयरस्पेस प्रयोग तथा हवाई मार्गसम्बन्धी सबै विषयमा अन्तिम सहमति भइसकेको छैन । भारतले रक्सौल र बागडोग्रा क्षेत्रमा आफ्ना विमान सञ्चालनका क्रममा नेपाली हवाई क्षेत्र प्रयोग गर्न पाउने विषयसमेत छलफलमा राखेको बताइएको छ । त्यसैले प्रधानमन्त्रीको भ्रमणबाट कुन विषयमा कस्तो सहमति हुन्छ भन्ने विषयले नेपालको हवाई सम्पर्क विस्तारको भावी दिशा निर्धारण गर्नेछ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, भैरहवाका अध्यक्ष नेत्रप्रसाद आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका साथै भारतका दिल्ली, वाराणसी र अयोध्यालगायतका सहरमा सीधा हवाई सेवा सञ्चालन गर्न सके नेपालको पर्यटन, उद्योग तथा व्यापार क्षेत्रमा ठूलो परिवर्तन आउने बताउनुभयो । उहाँले प्रधानमन्त्री शाहको भारत भ्रमणबाट भैरहवा विमानस्थललाई भारतीय विमान कम्पनीको प्राथमिकतामा पार्ने र नियमित उडानका लागि आवश्यक सहजीकरण हुने अपेक्षा गरिएको बताउनुभयो ।
विमानस्थल सञ्चालनमा आउन सके यस क्षेत्रको आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने उहाँको भनाइ छ । उहाँले विमानस्थल निर्माणपछि त्यसको उपयोग र नियमित उडानका लागि सरकारसँगै निजी क्षेत्रले पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । होटल सङ्घ लुम्बिनीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सके नेपालको पर्यटन क्षेत्रले नयाँ गति लिने बताउनुभयो । नेपाल विश्व पर्यटनको महत्वपूर्ण गन्तव्य भए पनि अन्तर्राष्ट्रिय हवाई सेवाको सहज पहुँच नहुँदा पर्यटक आगमनमा अपेक्षित वृद्धि हुन नसकेको उहाँको भनाइ छ । विमानस्थल नियमित सञ्चालन हुनु निजी क्षेत्रका व्यवसायीका लागि सबैभन्दा खुसीको विषय हुने उहाँले बताउनुभयो । विमानस्थल सञ्चालन हुने अपेक्षामा भैरहवा, रुपन्देही, लुम्बिनी र आसपासका क्षेत्रमा निजी क्षेत्रले होटल, रिसोर्ट, रेस्टुरेन्ट, यातायात, पर्यटन तथा अन्य पूर्वाधारमा ठूलो लगानी गरेको छ । च्याम्बर अफ कमर्स रुपन्देहीका अनुसार यस क्षेत्रमा निजी क्षेत्रको लगानी झन्डै रु एक खर्बभन्दा बढी पुगेको अनुमान छ । विमानस्थल नियमित सञ्चालन नहुँदा लगानीअनुसारको प्रतिफल प्राप्त गर्न नसकिएको व्यवसायीको गुनासो छ ।
ट्राभल एसोसिएसन नेपाल (नाट्टा) का अध्यक्ष चन्द्र थापाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको पर्यटन क्षेत्रका लागि महत्वपूर्ण पूर्वाधार भएको बताउनुभयो । विमानस्थल सञ्चालन हुने अपेक्षामा पर्यटन व्यवसायीले अर्बौं रुपैयाँ लगानी गरे पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा व्यवसायमा अपेक्षित लाभ लिन नसकेको उहाँको भनाइ छ । विमानस्थल सञ्चालनका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तथा जग्गा अधिग्रहण र मुआब्जासहित हालसम्म रु ३५ अर्बभन्दा बढी खर्च भएको छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विसं २०७१ माघ १ गते विमानस्थल स्तरोन्नति तथा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यको शिलान्यास गर्नुभएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विसं २०७९ जेठ २ गते विमानस्थलको औपचारिक उद्घाटन गर्नुभएको थियो । शिलान्यासदेखि उद्घाटनसम्म करिब सात वर्ष चार महिना लागेको थियो । उद्घाटनकै दिन कुवेतको जजिरा एयरवेजको विमान अवतरण गरेपछि अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु भएको थियो ।
विभिन्न समयमा जजिरा एयरवेज, फ्लाई दुबई, कतार एयरवेज, नेपाल वायुसेवा निगम, थाई एयर एसिया र हिमालय एयरलाइन्सले यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गरेका छन् । विमानस्थलको सूचना शाखाका अनुसार हालसम्म एक हजार २२२ अन्तर्राष्ट्रिय उडान तथा अवतरण भएका छन् । ती उडानबाट ६९ हजार ३७७ यात्रुले सेवा लिएका छन् । तीमध्ये ३१ हजार ९३२ यात्रु नेपाल आएका छन् भने ३७ हजार ४४५ यात्रु यस विमानस्थल प्रयोग गरी विदेश गएका छन् । तर हाल यो विमानस्थलमा व्यवसायीहरुमा अन्तराष्ट्रिय विमानहरु संचालन बन्द भएको छ ।
विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर शाहले विमानस्थलमा आवश्यक भौतिक संरचना, उपकरण, डिजिटल प्रविधि तथा अनलाइन प्रणाली उपलब्ध रहेको बताउनुभयो । अब नियमित हवाई सेवा सञ्चालनका लागि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्ने र आवश्यक हवाई रुट तथा एयरस्पेसको सहजीकरण गर्ने विषय महत्वपूर्ण रहेको उहाँको भनाइ छ । विमानस्थल सञ्चालनका लागि प्राविधिक तथा प्रशासनिक तयारी रहेको उल्लेख गर्दै उहाँले नियमित उडानका लागि पहल आवश्यक भएको बताउनुभयो । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा समाजशास्त्री उमेशचन्द्र रिजालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका प्रमुख सहरमा सीधा हवाई सेवा सञ्चालन गर्न सके नेपालको पर्यटन तथा आर्थिक विकासमा नयाँ युगको सुरुआत हुने बताउनुभयो । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध रहेका भारतीय सहरसँग हवाई सम्पर्क विस्तार हुँदा लुम्बिनी आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकको आवागमनसमेत सहज हुने उहाँको भनाइ छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा आज साँझ भारतीय विदेशमन्त्री एस जयशङ्करले उहाँसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भ्रमणको दोस्रो दिन भोलि मङ्सिर ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । त्यसअघि प्रधानमन्त्री शाहले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । मोदीसँगको भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार, ऊर्जा तथा पूर्वाधारलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री शाहले भोलि नै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यको ठूलो लगानी र त्यसको सञ्चालनको अपेक्षामा निजी क्षेत्रको अर्बौं रुपैयाँको लगानी जोडिएको छ । यस्तो अवस्थामा भारतसँग हवाई रुट तथा एयरस्पेस प्रयोगका विषयमा ठोस सहमति जुट्न सके विमानस्थलको नियमित सञ्चालनका लागि महत्वपूर्ण ढोका खुल्नेछ । यसले लुम्बिनीमा पर्यटक आगमन वृद्धि गर्नुका साथै रुपन्देहीसहित समग्र पश्चिम नेपालको उद्योग, व्यापार, रोजगारी र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।