लुम्बिनीखबर
भैरहवा, ०८ मंसिर । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ ले कृषकहरूलाई ७५ प्रतिशत अनुदानमा चार्जर स्प्रे टंकी वितरण गरेको छ। वडा कार्यालयको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत वडाका १४१ जना कृषकलाई स्प्रे टंकी वितरण गरिएको हो।
कृषकहरूको माग र आवश्यकतालाई मध्यनजर गर्दै सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत वडा नं. ११ का किसानलाई कृषि कार्यमा सहजता प्रदान गर्ने उद्देश्यले चार्जर स्प्रे टंकी उपलब्ध गराइएको वडा कार्यालयले जनाएको छ।

वडा अध्यक्षको हातबाट कृषकहरूलाई स्प्रे टंकी हस्तान्तरण गर्दै वितरण कार्यक्रम सम्पन्न गरिएको थियो। कृषि क्षेत्रमा आधुनिक प्रविधि तथा उपकरणको प्रयोगलाई प्रोत्साहन गर्ने, कृषकहरूको श्रम र समय बचत गर्ने तथा उत्पादन प्रक्रियालाई थप प्रभावकारी बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ।
अनुदानमा कृषि उपकरण उपलब्ध गराउँदा किसानको आर्थिक भार कम हुनुका साथै कृषि कार्यमा आधुनिक प्रविधिको प्रयोग बढ्ने अपेक्षा गरिएको छ। यस्ता कार्यक्रमले स्थानीय कृषि उत्पादन वृद्धि गर्न र कृषकलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न सहयोग पुग्ने विश्वास वडा कार्यालयले लिएको छ।