
लुम्बिनीखबर
भैरहवा, पौष ३ । सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि तीन हप्तादेखी सो प्रस्तावको विरोधमा सदन र सडकमा आन्दोलन भइराखेको छ ।
संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पाटि, नेकपा माले लगायतका दलले सरकारले लिएको संशोधन प्रस्ताव राष्ट्रघाति भएको भन्दैं संसद नै अवरुद्ध गरिरहेका छन् । अर्कोतिर संसद अवरुद्ध गर्ने दलकै नेतृत्वमा ५ नम्बर प्रदेशमा आन्दोलन दिनप्रतिनि चर्किदै गएकोछ ।
सरकारले संशोधन प्रस्तावमा ५ नम्बर प्रदेशको पहाडी क्षेत्रलाइ अलग्गायाउने गरी गरेको प्रस्तावको विरोधमा सबैभन्दाबढी विरोध सो प्रदेशमा भएको छ । उक्त प्रदेशको विखण्डन गरेको भन्दै एमालेले पुष १, २ र ३ गते आम हड्ताल नै गरेको छ । सो प्रदेशका पहाडी जिल्ला कुनैपनि हालतमा तराईसंग छुट्टाउनु हुदैंन भन्दै गुल्मीमा तीन हप्तादेखी निरन्तर बन्द हड्ताल जारी छ भने अर्घाखाचीमा सत्तापक्ष दलका नेता टोपबहादुर रायमाझीले नै बन्द हड्तालको नेतृत्व गरिरहेका छन् ।

फरक रंग ः भैरहवामा आन्दोलनकारीहरुले यसरी मादल बजाएर नाचगान गर्दै आम हड्तालमा सहभागी भएका थिए ।
सरकारले प्रस्ताव गरेको संविधान संशोधन प्रस्तावको सत्तापक्षीय दल कांग्रेसका नेता चन्द्र भण्डारी, माओवादी केन्द्रका नेता रायमाझी र सरकारकै मन्त्री बालकृष्ण खांणले समेत विरोध जनाएका छन् ।
यसरी सरकारमै सहभागी दलका नेता तथा मन्त्रीले विरोध गर्दा गदै पनि मधेसी मोर्चाका नेताहरुलाई मात्रै नभएर भारतीय संस्थापनलाई खुसी पार्ने ध्ययेले सरकारले प्रस्ताव फिर्ता गर्न नसकेको राजनितीक विश्लेषकको दाबी छ । उनीहरु भन्छन् “यो प्रस्ताव नै भारतीय योजनामा आएको हो । जसको पुष्टि भारतीय राजदूताबासले गरि नै सकेको छ ।”
लोकतन्त्रमा आन्दोलन हुनु स्वाभाविक हो तर अहिलेको आन्दोलनको रुपरेखा र सहभागीता देख्दा फरक देखिएको छ । सरकारले ५ नम्बरको प्रदेशको पहाड र तराईलाइ अलग्गयाउनेगरी गरेको प्रस्तावको मुख्य पाटो लुम्बिनी भएको राजनितीक विश्लेषक बताउंछन् ।
महामानब बुद्धको जन्मस्थल लुम्बिनीको सम्बन्धमा भारतीय पक्षले बारम्बार बखेडा निकाल्दै आएको छ । अर्कोतिर भारत सरकारले सीमावर्ति भारतीय बजारमा लुम्बिनी र कपिलवस्तु तयार गरेको र भारतीय बाटो हुदैं लुम्बिनी आउने तेस्रो देशका पर्यटकलाई टुर गाइडले नै लुम्बिनी भारतमै रहेको भनी विफ्रींग गरेको तथ्यले पनि भारतले राजनितीक संक्रमणकालको फाइदा उठाउदैं विवाद नै नभएको क्षेत्र ५ नम्बर प्रदेशमा विवाद हुनेगरी सिमांकन गर्न खोजेको विश्लेषकको तर्क छ ।
सरकारका मन्त्रीहरुले प्रस्ताव फिर्ता गर्नुपर्ने आफुहरुको पनि माग भएको भनि मौखिक रुपमा फरक मत राख्दै प्रस्ताव दर्ताकोलागी मन्त्री परिषदबाट स्वीकृत दिएको भएता पनि सरकारको एकमुष्ठ निर्णय हुन सकेको छैन । यद्यपी धेरै मन्त्रीले प्रस्ताव उपयुक्त नभएको बताइरहेका छन् । सरकारका मन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणले आफु मन्त्री भएको हुदां अग्रभागमा आएर विरोध गर्न नसकेतापनि ५ नम्बर प्रदेश टुक्राउने गरी गरेको प्रस्ताव आफुले नस्वीकार्ने बारम्बार बताइरहेका छन् ।
यता ५ नम्बर प्रदेश टुक्राउनेगरी सरकारले गरेको प्रस्तावको विरुद्धमा आक्रोस यति सम्म चुलिएको छ की जनताहरु जनआन्दोलन भाग २ मा जस्तैगरी स्वतःस्फूर्त रुपमा सडकमा उत्रिएका छन् । जनताको आक्रोश सबैभन्दा बढी गुल्मी, अर्घाखाची, प्युठान, पाल्पा, रोल्पामा देखिएको छ भने रुपन्देही र कपिलवस्तुमा पनि कम छैन ।
तराईका भन्दा पहाडी जिल्लाका जनताहरु के कांग्रेस, के माओवादी, के एमाले, के राप्रपा, के मसाल, के जनमुक्ति , के नेमकीपा सबैका सबै दलभन्दा माथी उठेर राष्ट्रिय झण्डाका साथ सडकमा ओर्लिएर सरकारलाई प्रस्ताव फिर्ता लिन दबाब दिइरहेका छन् । पहाडी जिल्लामा उद्योग वाणिज्य संघ, सामाजिक संघसंस्था र सरकारी कर्मचारी समेत सरकारी विधेयकको विरोधमा उत्रीएका छन् ।
अर्कोतिर मधेसी मोर्चाले पनि सरकारी विधेयकले मोर्चाको माग सम्बोधन नगर्ने भन्दै मौन विरोध गरेको देखिएको छ । तरपनि सरकार उक्त विधेयक कदापी फिर्ता नगर्ने अडानमा छ । यता सरकार र प्रमुख प्रतिपक्षी नेताहरु विधयेक ठीक बेठीक भन्दै आन्दोलन र सभाको मोर्चा सम्हालिरहँदा दैनिक मजदुरी गर्ने मजदुरहरुको रोजिरोटी भने खोसिएको छ । मजदुरहरु आमहड्तालको कारण समस्यामा परेका छन् । उनीहरु भन्छन् “आन्दोलन आवश्यक छ तर यहां बन्द हड्ताल गरेर केही हुदैंन । यो त हामी जस्तालाई सास्ती मात्रै हो । बरु दलहरुले संसदबाहिर अनशन र धर्ना दिए छिटो छिनोफिनो हुन्छ । ”
बन्द हड्तालको अवज्ञा गरेको भन्दै आन्दोलनकारीहरुले जिल्ला जिल्लामा केही सवारी साधन तोडफोड मात्रै गरेनन् । गुल्मी त प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा माग समेत गरे । तर पछि सिडिओले सार्वजनिक रुपमा माफी मागेपछि त्यहांका आन्दोलनकारीले उनलाइ एक पटककोलागी सच्चिने मौका दिएको गुल्मीबाट शिव भुसालले जानकारी दिएका छन् । भैरहवामा रातीको समयमा प्रहरी सेटिंगमा लुम्बिनी औद्योगिक क्षेत्रका उद्योगहरुले मालबाहक सवारी साधन पास गरिरहेको थाहांपाएपछि आन्दोलनकारी युवाहरुको जत्थाले रोकी ती गाडी चालकलाई नैसिंहयत दिएको धुब्र अधिकारीले बताए । बुटवलमा एम्बुलेन्सको दुरुपयोग गर्दै चामल ओसार पसार गरिरहेको बेला एउटा एम्बुलेन्सलाइ आन्दोलनकारीले तोडफोड गरेको बुझिएको छ ।
एमालेको आहवनमा शुक्रबार , शनिबार र आइतबार आहवन भएको आमहड्ताल पहाडी क्षेत्रमा पुर्ण रुपमा प्रभावकारी भएता पनि नवलपरासी, रुपन्देही र कपिलवस्तुको दक्षिणी क्षेत्रमा त्यसको खासै प्रभाव देखिएन । रुपन्देहीको मर्चवार, लुम्बिनी, धकधई क्षेत्रमा दिन रात छिटफुट गाडी चलेका थिए भने रातको समयमा लाइन लागेर मालबाहक सवारी साधनको आवगमन भएको स्वयं आन्दोलनकारीले स्वीकारेका छन् ।
पुष १ गते देखी ३ गते सम्म रुपन्देहीमा गरिएको आम हडताल आईतबार साँझ बाट १० गते सम्मका लागी स्थगित भएको छ । १० गते सम्म अन्य आन्दोलनका कार्यक्रम गर्दै आम हडताल फिर्ता लिएको सयुक्त सँघर्ष समितिले जनाएको छ ।
सयुक्त संघर्ष समितिका अनुसार ४ गते पत्रकार सम्मेलन र भाबी आन्दोलन तय गर्नै, ५ गते युवा बिद्यार्थीको सिठी जुलुस, ६ गते महिलाहरुको जुलुस, ७ गते बुद्धीजिबि,उद्योगी ब्यवसायीको जुलुस, ८ गते तराईका प्रत्येक नगरपालिका र गाबिसमा मोटर साईकिल तथा साईकल ¥याली, ९ गते दिउसो १ बजे देखी २ बजे सम्म राजमार्ग र सहायक राजमार्गमा साना तथा ठुला सवारी साधान प्रर्दंशन गर्नै र १० गते प्रत्येक जिल्लाका राजमार्ग तथा सहायक मार्गमा राष्ट्रिय झण्डा सहित उपस्थित भएर पाँच नम्बर प्रदेश टुक्राउन नदिन शपथ खाने आन्दोलनका कार्यक्रम सार्बजनिक भएको छ ।