logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    के सुरक्षा अवस्था बिग्रेकै हो त रुपन्देहीमा ?


    १० पौस २०७३ , आइतबार

    के सुरक्षा अवस्था बिग्रेकै हो त रुपन्देहीमा ?

    फिल्मी स्टायलमा घटनाको जिम्मा लिने को हुन ?

    लुम्बिनीखबर
    भैरहवा, पुस १० । पछिल्लो २ हप्ता यता रुपन्देहीको सुरक्षा अवस्था कमजोर भएको भन्दै धेरैले चिन्ता व्यक्त गरेको सुनिएको छ । सुनेको मात्रै होइन हप्ता दिन यता जिल्लामा सुरक्षाको विषयलाई लिएर प्रहरी प्रशासनप्रति सर्वसाधरणले आक्रोश समेत व्यक्त गरिरहेका छन् ।

    युवा संघ नेपालका अध्यक्ष दुर्गा तिवारीको  दिनदहाडै हत्या गरी हत्यारा खैरेनी बजारदेखी ढुक्कसंग भागेको घटना होस् वा सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्क्ष कुल प्रसाद न्यौपानेमानि गोली प्रहार गरेर भाग्ने व्यक्ति अझै सम्म पत्ता नलाग्दा सर्वसाधरण यतिबेला त्रसित छन् ।

    1st-news

    युवा संघ अध्यक्ष दुर्गा तिवारीको हत्यारालाई कारबाहीको माग गर्दै प्लेकार्ड सहित विद्यार्थीहरु ।

    घटना घटिसकेपछि फिल्मी स्टाईलमा घटनाको जिम्मेवारी लिने व्यक्तिको तँछाडमछाड हुनुले पनि सुरक्षाको अवस्था कस्तो छ भनेर प्रतीत गरेको छ ।  तिवारीको हत्या आफुले गरेको भन्दै मनोज पुन बताउने व्यक्तिले घटनाको जिम्मा लिएको केही घन्टा बित्न नपाउँदै सो हत्या आफुले गरेको भन्दै एनसेलको मोबाइल नम्बर ९८१२९०२७९१ बाट प्रताप सिंह मधेसीले हत्याको जिम्मेवारी लिएका छन् ।

    प्रताप सिंहले म्यासेजमा अझै केही पहाडिया समुदायका व्यक्तिको हत्या गर्ने धम्कीपुर्ण म्यासेज र मनोज पुनले नामै किटेर केही व्यक्तिलाई मार्ने खुलेआम धम्की दिएकोले  रुपन्देहीबासी यतिबेला झनै आतंकीत बनेका छन् ।

    यो समाचार तयार पार्दा सम्म पनि पुनले देवदह क्षेत्रका केही व्यक्तिलाई ज्यान मार्ने धम्की दिइरहेको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

    मोबाइल म्यासेज मार्फत होस् वा फोन मार्फत दुबै व्यक्तिले जसरी नेपालको सुरक्षा अवस्थालाइ ठाडै चुनौती दिई घटनाको जिम्मा लिए र थप व्यक्तिको ज्यान लिने भन्ने धम्की दिइरहनु र  यतिका दिन बित्दा समेत प्रहरीले ती व्यक्तिको बारेमा कुनै सुराक पत्ता लगाउनु नसक्नु झनै दुखःद देखिएको छ ।

    उद्योगी कुल प्रसाद न्यौपानेमाथी गोली प्रहार भएको भोलिपल्ट प्रताप सिंह मधेसीले सो गोली प्रहार आफुले नै गराएको भनी फेसबुक मार्फत  जिम्मेवारी लिदैं भैरहवाका केही व्यक्तिलाई उक्त म्यासेज पठाएका थिए । तीनै व्यक्तिको नामबाट केही महिना अगाडी भैरहवा क्षेत्रका उद्योगी व्यवसायीका तस्वीर फेसबुकमा पोस्ट गदै विभिन्न आक्षेप र दोष लगाउदैं उनीहरुको हत्या गर्ने सार्वजनिक रुपमा धम्कीपुर्ण खबर सार्वजनिक भएको थियो ।

    यसरी उद्योगी व्यवसायी र समाजसेवीलाइ मात्रै नभएर राजनितीक दलका नेता कार्यकर्तालाई खुलेआम धम्की आउंदा समेत प्रहरी प्रशासनले हेलचेक्राई गर्दा पछिल्लो दुर्घटना निम्तीएको सरोकारवाला बताउंछन् ।

    स्रोतका अनुसार तिवारीलाई पनि ५ दिन पहिले अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएको थियो । सो धम्कीपुर्ण फोनको रेकर्ड उनले जिल्लाका प्रहरी अधिकृतलाई सुनाउदैं आफु असुरक्षीत भएको भन्दै सुरक्षा माग समेत गरेका थिए तर केही हुदैंन हामी छौं भनेर प्रहरीले विश्वस्त तुल्याएको २ दिनपछि उनको हत्या भएको उनका आफन्त बताउंछन् ।
    रुपन्देही जिल्ला पश्चिम तराईका विभिन्न जिल्ला मध्ये सबैभन्दा सुरक्षीत जिल्ला मानिन्छ । तुलानात्मक हिसाबले छिमेकी जिल्ला भन्दा सबै भन्दा सुरक्षीत जिल्लामा गोलीकाण्डको श्रृंखला बढ्नु चिन्ताको विषय भएको प्रहरीका उच्च अधिकारी नै बताउंछन् ।

    तिवारी घटनाको छानविन गर्न गृहमन्त्रालयले एआइजी विज्ञानराज शर्माको संयोजकत्वमा गठन गरेको अनुसन्धान टोली रुपन्देहीको क्षेत्रगत अध्ययनगरी काठमाण्डौं फर्किसकेको छ । सो टोली पुनः थप अनुसन्धानकोलागी आज रुपन्देही आउने बुझिएको छ । टोलीमा सिआईबीका एसएसपी मनोज न्यौपाने , गृह मन्त्रालयका  शिवराज जोशी र शसस्त्र प्रहरीका डिआइजी यादवप्रसाद रेग्मी रहेका छन् ।
    यता प्रहरीले लुम्बिनी अन्चल प्रहरी प्रमुख एसएसपी शेर बहादुर बस्नेतको संयोजकत्वमा छुट्टै छानबिन समिती गठन गरी कार्य समेत थालेको छ ।

    “जिल्लामा भएका घटनालाइ विश्लेषण गर्दै हामीले सुरक्षा गस्ती बढाउदैं थप सुरक्षा सर्तकता बढाएका छौं । ”

    तिवारी हत्याकाण्डको विषयमा तिवारी आवद्ध युवा संघ नेपालले केन्द्रिय महासचिव किरण पौडेल संयोजकत्वमा छुट्टै छानबीन टोली गठन गरेको छ । उक्त टोलीले पनि आफ्नै तरिकाले घटनाको अनुसन्धान गरिरहेको छ । सरकारले गठन गरेको टोली, प्रहरीले गठन गरेको टोली र युवा संघले गठन गरेको टोलीले केही दिनमा घटनाको बारेमा प्रतिवेदन सार्वजनिक गर्लान् । त्यो आफ्नो ठाऊमा छ तर मूलतः घटना घट्नु, अनि पुनः बारम्बार खुल्लमखुल्ला धम्की आइरहनु जस्ता परिघटनाले रुपन्देहीबासीलाई झस्काएको छ ।

    विगतका वर्षहरुमा भूमिगत समुहले यसरी नै जिल्लाबासीलाइ आतंकित तुल्याउदां तत्कालिन एसएसपी प्रकाश अर्यालले धेरै भूमिगत समुहको सफाय गरेका थिए । त्यसपछि जिल्लामा त्यस्तो आतंक सृजना गर्ने गिरोह सक्रिय हुन सकेको थिएन । अहिले जिल्लाको प्रहरी प्रमुख नयां भएता पनि रुपन्देहीमै कार्यलय रहेको अन्चल प्रहरी प्रमुख शेरबहादुर बस्नेत यसअघि नै रुपन्देही जिल्लाको प्रमुख भएर अनुभब संगालेका प्रहरी अधिकृत हुन् ।

    जिल्लाको टोलीले अन्चलसंग समन्वय गरेर सुरक्षा प्रबन्ध मिलाएमा रुपन्देहीमा सुरक्षा प्रबन्ध उच्च राख्न कुनै समस्या देखिदैन । यद्यपी घटनाको श्रृखला बढेपछि जिल्लामा उच्च प्रहरी सर्तकता अपनाइएको प्रहरीले दाबी गरेकोछ । प्रहरीले सोसल मिडीया, शंकास्पद ठाउँ, शंकास्पद व्यक्तिको मोबाइल नम्बर माथि पनि कडा निगरानी राखेको जनाएको छ । “न्यौपाने माथी गोली चलाउने व्यक्ति र तिवारीको हत्याराको नजिक प्रहरी पुगिसकेको छौं । साथै घटनाको जिम्मा ल्याउने म्यासेजकर्ता र फोनकर्तालाई पनि केही दिनमै पक्रेर सार्वजनिक गछौं । ”

    यता जिल्लामा हल्ला भएजस्तो सुरक्षा अवस्था कमजोर नभएको जिल्ला सुरक्षा समितीको संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंहले जानकारी दिए । प्रजिअ सिंहले लुम्बिनीखबर संग कुरागर्दै भने “जिल्लामा भएका घटनालाइ विश्लेषण गर्दै हामीले सुरक्षा गस्ती बढाउदैं थप सुरक्षा सर्तकता बढाएका छौं ।”

    सुरक्षा स्रोतका अनुसार रुपन्देहीमा अहिले सुरक्षाका सबै संयन्त्र परिचालन गरिएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानको टोली सक्रिय रहेको छन् । यसका अतिक्ति केन्द्रबाट, क्षेत्रबाट खटिएको सिआइबीको टोली पनि रुपन्देहीको सुरक्षा प्रबन्ध उच्च राख्न र घटनामा संलग्नलाइ पक्राउ गर्न सक्रिय पुर्वक खटिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.