logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    उप–प्राध्यापक नरेन्द्र सरको सम्झनामा अक्षयकोष


    १७ पौस २०७३ , आइतबार

    उप–प्राध्यापक नरेन्द्र सरको सम्झनामा अक्षयकोष

    लुम्बिनीखबर
    भैरहवा, पुस १६ । भैरहवा बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुले आफ्ना दिवंगत गुरु उप–प्राध्यापक स्वर्गीय नरेन्द्रराज पाण्डेको सम्झनामा अक्षयकोष स्थापना गरेका छन् ।

    विद्यार्थीमाझ निकै लोकप्रिय मानिने उप–प्राध्यापक पाण्डेको निधनपछि शोकाकुल बनेका विद्यार्थीहरुले आपसमा आर्थिक संकलन गरी अक्षयकोष स्थापना गरेका हुन् ।

    dsc07184
    कलेजमा काम गर्दागर्दै ढलेका उप–प्राध्यापक पाण्डेलाई अस्पतालमा पु¥याएर उपचार गर्दागर्दै ०७२  वैशाखमा निधन भएको थियो ।

    विद्यार्थीहरुले रुचाएका स्व. पाण्डे प्राध्यापन क्षेत्रमा समेत अब्बल मानिन्थे । व्यवस्थापन संकायको उप–प्राध्यापको रुपमा भैरहवा बहुमुखी क्याम्पसमा १७ वर्ष प्राध्यापक रहेका पाण्डेको निधनपछि क्याम्पस परिवार समेत स्तब्ध भएको थियो ।

    तीन छोरी र श्रीमतिका साथमा भैरहवामै बसोबास गर्ने पाण्डेको निधनपछि उनको सम्झनामा अक्षयकोष स्थापना गर्ने उद्देश्यका साथ रकम संकलन गर्ने अभियान चलाएर विद्यार्थीले २०७३ पुस १४ गते १ लाख ६० हजार रुपैयाँ अक्षयकोषका लागि क्याम्पस प्रमुखलाई एक कार्यक्रम गरी रकम हस्तारण गरेका छन् ।

    हस्तान्तरण कार्यक्रममा बोल्दै भैरहवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अनिल कुमार झाले विद्यार्थीहरुले गरेको यो कामले आफ्नो मन छोएको भन्दै यस्ता क्रियाकलापले यस क्याम्पसको गरिमा अझ माथि पुग्ने बताएका थिए । उनले विद्यार्थीहरुले १०÷१० रुपैयाँ संकलन गरी नरेन्द्र सरको सम्झनामा स्थापना हुने अक्षयकोषलाई क्याम्पसले समेत सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

    कार्यक्रममा पूर्व क्याम्पस प्रमुख प्रा.डा. कपिलदेव लामिछानेले नरेन्द्र सर भैरहवा बहुमुखी क्याम्पसका निडर र विद्यार्थीमाझ लोकप्रिय उप–प्राध्यापक रहेकाले उनको सम्झनामा स्थापना हुन लागेको यो अक्षयकोष सँधैका लागि स्मरण भइरहने बताएका थिए ।

    समाजसेवी तथा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ओमकार गौचनले नरेन्द्र सरको सम्झनामा स्थापना हुने यो अक्षयकोषको ब्याजबाट आउने रकम गरीब विद्यार्थीका लागि खर्च गर्न आवश्यक रहेको क्याम्पस प्रशासनलाई सुझाव दिएका थिए ।

    साहित्यकार विजय सागरले समेत विद्यार्थीहरुले देखाएको गुरुप्रतिको स्मरण सबैका लागि प्रेरणादायी हुने बताएका थिए । प्रा.डा. गितु गिरीले नरेन्द्र सरको जीवनीको विषयमा बताउँदै सहभागी विद्यार्थीहरुलाई उनको मृत्युले भैरहवा बहुमुखी क्याम्पसले ठूलो क्षति व्यहोरेको जानकारी गराएका थिए ।

    हेमन्त जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सह–प्राध्यापकहरु लक्की प्रसाद जोशी, चन्द्र प्रसाद रेग्मी, प्रकाश भट्टराई, विद्यार्थी कल्याण प्रमुख केशव शर्मा बेलबासे, उप–प्राध्यापकहरु पिताम्बर तिवारी, अरुणा तिवारी, धनेश्वर तिमिल्सना, कृष्ण घिमिरे, सहदेव भट्ट,  क्याम्पस प्रशासन प्रमुख लक्ष्मी शर्मा लगायत विद्यार्थीहरुको सहभागिता रहेको स्ववियु सचिव चक्र थापाले जानकारी दिए ।

    एमबीएस २०६८–७० ब्याचका विद्यार्थीहरुको नेतृत्वमा सुरु भएको अक्षयकोष संकलन अभियानमा क्याम्पसका सम्पूर्ण विद्यार्थीहरु,प्राध्यापकहरु, कर्मचारी तथा समाजसेवीहरुले आर्थिक सहयोग उपलब्ध गराएका थिए । अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराउने दाताहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.