रबिन्द्र प्रताप गुप्ता
भैरहवा, २४ पौष । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) रुपन्देही क्षेत्र नं. २ को क्षेत्रीय एकता भेला तथा बैठक आइतबार भैरहवामा सम्पन्न भएको छ ।

पार्टी रुपन्देही क्षेत्र नं.२ का इन्चार्ज अनुप बरालको अध्यक्षता, पोलिटव्युरो सदस्य दधिराम न्यौपाने (एम.एस)को प्रमुख आतिथ्यता, पोलिटव्युरो सदस्य विनोद कुमार उपाध्याय, निमानन्द गैरे र जिल्ला संयोजक राम प्रसाद बञ्जाडेको विशेष आतिथ्यता, केन्द्रीय सदस्य कमला थापा, जिल्ला सह–संयोजक प्रेम गुरुङ, लक्ष्मी कोइराला लगायतको आतिथ्यतामा भेला सम्पन्न भएको थियो ।
माओवादी केन्द्र सिद्धार्थनगर नगरपालिकाका संयोजक उमेश खनालको स्वागत मन्तव्य तथा राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य चोपलाल आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

भेलामा बोल्ने वक्ताहरुले देशमा संघिय लोकतान्त्रिक गणतन्त्र ल्याउन मूख्य भुमिका खेलेको माओवादी पार्टी पछिल्लो समयमा विभिन्न पार्टीमा विभाजन भएकोले कमजोर हुँदै गएको मूल्यांकन गर्दै अबको दिनमा एक भएर लाग्न केन्द्रीय नेतृत्वलाई आग्रह गरे ।

भेलाले देश भरका माओवादी समर्थकहरुलाई एकताको सन्देश दिने उनीहरुले बताए । एकताको प्रयासमा क्षेत्रीय भेलाले महत्वपूर्ण भूमिका खेल्ने वक्ताहरुले जोड दिए । उनीहरुले आगामी स्थानीय निकायको निर्वाचनलाई मध्यनजर गर्दै नयाँ रणनीति बनाउनुपर्नेमा जोड दिए ।
साथै अब पार्टीको सदस्यता नविकरण अभियानलाई तिव्रता दिने पार्टी रुपन्देहीका जिल्ला सदस्य राम दयाल गुप्ताले जानकारी दिए ।