यहाँलाई लुम्बिनीखबरमा स्वागत छ ।
–धन्यवाद । लुम्बिनीखबर राष्ट्रिय साप्ताहिकप्रति आभार व्यक्त गर्दछु ।

यस्तो जाडोको मौसममा पनि भैरहवामा देखिनुभएको छ । केको सिलसिलामा आईपुग्नुभयो ?
– पूर्व मेचीमा कार्यक्षेत्र भएको म साहित्य विशेष कार्यक्रमको सिलसिलामा अहिले भैरहवा आइपुगेकी छु । विशेषतः “महिला शसक्तिकरणका निमित्त साहित्य र साहित्यिक महिला सशक्त महिला” भन्ने मूल नाराका साथ प्रश्रित प्रतिष्ठान नेपालले आयोजना गरेको साहित्य विषयक विचार गोष्ठी, स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रममा सहभागी हुनका लागि यहाँ आईपुगेकी हुँ ।
साहित्यिक क्षेत्रमा कहिलेदेखि लाग्नुभयो ?
–म साहित्यिक क्षेत्रमा २०५१ सालदेखि प्रवेश गरेकी हुँ ।
साहित्यमा लाग्ने प्रेरणा कसबाट पाउनुभयो ?
–साहित्यमा लाग्ने श्रेय सर्वप्रथम म मेरो श्रीमान्लाई दिन्छुु । त्यसपछि मेरा प्रेरणाका स्रोतहरु गुरु चुडामणी रेग्मी, पुण्यप्रसाद खरेल, भुवन सुब्बा र हेम खड्का जस्ता गुरुहरुबाट अहिले यहाँ सम्म आईपुगेकी छु ।
विश्वमा नारीवादी आन्दोलन चलेको दशकौँ बितिसक्दा अहिले पनि नारीहरु पुरुषप्रति नै परनिर्भर हुनुपर्ने बाध्यता देखिन्छ, यसको खास कारण के हुन सक्छ ?
–यसको खास कारण महिलाहरुमा आर्थिक स्वामित्व नहुनु एउटा कारण हो । अर्कोचाहिँ शिक्षा र चेतनाको अभाव पनि हो । हाम्रो नेपाली परिवेशको सामाजिक संरचना, परम्परागत संस्कारहरुले पनि यसमा ठूलो प्रभाव पारेको देखिन्छ । तसर्थ “महिला शसक्तिकरणका निमित्त साहित्य र साहित्यिक महिला सशक्त महिला” भन्ने अभियानका साथ प्रश्रित प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा सहभागी भईरहँदा पनि मलाई के महसुस भईरहेको छ भने मुलुकमा अझै ठोस रुपमा नारीवादी आन्दोलन संचालन गर्नु जरुरी छ ।
साहित्य क्षेत्रमा नारीहरुको सहभागिता कस्तो पाउनुभएको छ, यसलाई वृद्धि गर्न के गर्नुपर्ला ?
–साहित्यिक क्षेत्रमा नारीहरुको सहभागिता विश्वको स्थितिलाई हेर्ने हो भने केही समय अनुरुप परिमार्जित भएको देखिन्छ ।
हाम्रो देशको सामाजिक संरचनालाई हेर्दा नेपाली नारीहरूको पारिवारिक र सामाजिक अवस्था खासै सम्मानजनक देखिँदैन विगतको जहानिँया शासन देखी पंचायती व्यवस्था र २०४६ साल पछिको समय परिधिलाई हेर्ने हो भने पनि हिजोका दिनमा हाम्रा जिजुआमा आमा,काकी ,भाउजु ,दिदीहरू सबैले हाम्रो सामाजिक, सांस्कृतिक परम्पराको खोपी भित्र कुण्ठित भएर आफ्ना मनका भावनाहरू कहिले पनि अभिव्यक्त गर्न खुलेर बोल्न सक्ने अवस्थामा थिएनन् । एक त सानै उमेरमा विवाह गरिदिएर बालखैमा डर त्रासको परिवेश सृजना हुने गथ्र्यो । दोस्रो संस्कार र परम्परावादी प्रवृत्तिका कारण समाज पुरूषहरूको अधिनस्त रह्यो ।
कसैले पनि पुरूष प्रधान समाजको बिरूद्धमा आवाज उठाउने जमर्काे समेत गर्न सकेन । त्यसको फल स्वरूप धेरै प्रताडित भएर जीवनका भोगाइहरूबाट थाकेर मनका पीडा अभिब्यक्त गर्ने कुनै प्लेटफर्म नेपाली नारीहरूले प्राप्त गर्न सकेको अवस्था देखिँदैन । तथापि समाजलाई रूपान्तरण गर्ने सन्दर्भमा महिला शसक्तिकरणका आवाजहरू भने नउठेका होईनन् । महिला समानता र अधिकारका पक्षमा कुसंस्कारहरूको बिरूद्धमा संघर्ष चलेकै हो फरक यति मात्र हो कि उ बेला महिलाहरूमा त्यति धेरै चेतनाको प्रभा भएको थिएन । सामाजिक रूपान्तरणका सचेतनामूलक सन्देशहरू प्रभावित हुन नसकेको कारणले गर्दा पनि नेपाली नारीहरूले अन्तर मनमा जागेका भोगाईका परिवेशहरूको तितो यथार्थलाई समाज सामु ल्याउने हैसियत राख्दैनथे।
महिला हिंसा र घरेलु हिंसाले ग्रस्त हुँदा पनि उनीहरूमा आवाज उठाएर शसक्तीकरणका पक्षधरका रूपमा विभेदयुक्त समाजको परिकल्पना गर्ने सपना सम्म देख्ने हिम्मत कसैमा थिएन । यसरी नेपाली नारीहरू परिवर्तित समतामुलक सचेतनाको मुल प्रभालाई नीतिगत रूपले अबलम्वन गर्न कैले कसै बाट प्रोत्साहित हुन पाएनन । यसको फल स्वरूप उनीहरूको आत्मबल र कमजोर मानसिकता को सिकार हुन बाध्य भएको अवस्था थियो त्यो बेला केही घरानिया नारीहरूको भने पुस्तिका बाट संगठन सुदृढिकरण विस्तार गर्ने अभियानमा आबद्ध र प्रशिक्षित हुनुपर्छ भन्ने सोच भएतापनि आधारभूत स्वामित्वको गहिराईमा गएर खोजमूलक अनुसन्धान गरेर समाजका त्रुटिपुर्ण बिचारहरूको अन्त्य गर्ने कुरामा खुलेर सन्देश मुलक सुचना सम्प्रेषण गर्ने हिम्मत राख्दैनथे।
तथापि क्रमिक रूपले समयको परिवर्तन सँगै सामाजिक संरचना र परम्परागत शैलीहरूमा आएको बदलावले नेपाली नारीहरूमा थोरै अगाडि बढ्ने साक्षर हुने सम्मकोअवस्था सृजना भएको पाईन्छ । स्वर्णिम युग देखिनै मातृशक्तिको महत्व र नारी हस्ताक्षर को भुमिका उल्लेखनिय देखिन्छ विद्याकी देवी सरस्वती यसको ज्वलन्त उदहारण हो । हाम्रो उपासना साधना र अक्षाराभ्भ नै सरस्वतीको पुजा बाट हुन्छ । तर पनि नेपाली समाजको पृष्ठभूमिलाई हेर्दा हरेक कुरामा सिमित संकुचित बन्देजको दायरामा कुण्ठित भएर बस्नु पर्ने देखिन्छ । समयको अन्तराल सगैसामाजिक सांस्कृतिक रूपान्तरणका लागि साहित्यिक सृजनाहरूको माध्यमबाट भावनाहरू प्रस्फुटित हुन थाले र मनोभावनाका र सामाजको यथार्थ चित्रण कलमको माध्यमबाट अभिब्यक्त गर्न थाले । किनभने त्यो बेला बिस्तारै बिस्तारै अन्तराष्ट्रिय साहित्यको प्रभाव नेपालमा पनि पर्न थालेको थियो । त्यसको फल स्वरूप नेपाली साहित्यको फाटमा थुप्रै नारी हस्ताक्षरहरूको योगदान नारी शसक्तिकरण प्रति तीव्र रूपले अघि बढेको योगदानीपुर्ण प्रसङ्गहरुको अध्यन गर्न पाईन्छ ।
यसरी विश्वमा साहित्यका माध्यमबाट सामज परिवर्तन गर्नअघि बढेका नारिहस्ताक्षरहरूको नाम मात्र लिने हने भने सुचि निक्कै लामो हुन्छ जसमा ८८८ एन्जेला कार्टर ,सुसन्ना, ईमा गोल्डमन, लुईस, ईन्ड्रिज, फ्रान्सेस लुनि, अरूणधति राय , किरण देसाई ,कमला सुरैया, महाश्वेता, भारती मुखर्जी ,तसलेमा देखिलिएर हाम्रा शसक्त नेपाली साहित्यका नक्षत्रहरू योगमाया,पारिजात,गिताकेसरी ,वानिरा गिरी, तोया गुरूङ, मन्जुश्री थापा, शारदा शर्मा ,कविता पौडेल जस्ता थुप्रैथुप्रै स्रष्टा छन । साहित्यको सृजना गर्नको निमित्त सामाजिक,राजनैतिक पृष्टभुमिबाटै प्रस्फुटित हुने मनोकल्पनाहरू हाम्रा नारी हस्ताक्षरहरूले साहित्यका विविध विधाबाट चेतना जागरण, सन्देश प्रभा, साहित्य ,मानवीय सम्वेदना सामाजिक विश्लेषण मनोविज्ञान लगायतका बहुआयामी विधाहरूमा कलम चलाएर नेपाली साहित्यमा महत्वपूर्ण योगदान पु¥याएका प्रस्सतिहरू छन् ।
मैले नेपाली नारीहरूले पुस्तौ पुस्ता देखि भोग्दै आएका विभिन्न नेपाली पुरूष प्रधान समाजले गरेको सामाजिक, सांस्कृतिक,राजनैतिक र आर्थिक बिभेदहरूलाई खोतलेर छताछुल्ल पार्नु भन्दा साहित्यले नारी शसक्तिकरणमा ल्याएको परिवर्तका कुरामा जोडदिन चाहान्छु । साँच्चै अहिलेको आधुनिक चरणको कालखण्डमा आएर नेपाली नारी हस्ताक्षर विश्व साहित्यको क्षेत्रमा निक्कै फड्को मारिसकेको अवस्था छ ।
तपाई साहित्य क्षेत्रमा लागिरहँदा घरमा र बाहिर कार्यक्रमका लागि समय व्यवस्थापन कसरी गरिरहुनभएको छ ? घरपरिवारबाट कस्तो प्रतिक्रिया पाउने गर्नुभएको छ ?
–म आफै एउटा शिक्षक पनि हुँ । मैले बिहान बेलुकाको समय र विद्यालय बिदाको समयलाई सदुपयोग गर्ने गरेकी छु । कहिलेकाँही बिदा लिएर पनि कार्यक्रममा सहभागी हुनुपर्ने बाध्यता रहन्छ । मलाई घरपरिवारबाट अत्यन्तै धेरै सहयोग छ । म आज जहाँ छु, यसको देन मेरो परिवारको हो ।
साहित्य सिर्जनामा महिलाहरुको सहभागिता र योग्यता पुरुष सरह हुँदाहुँदै पनि तुलनात्मक रुपमा महिलाहरु अगाडि बढ्न नसक्नुको कारण के होला ? यसलाई केही हदसम्म न्यूनीकरण गर्न के गर्नुपर्ला ?
–म एउटा साहित्यको सामान्य बिध्यार्थी र पाठक पनि हुँ आम नेपाली साहित्यमा नारी साहित्यकारहरूको लेखकिय चेतना प्रस्तुतिकरणलाई तुलनात्मक रूपमा हेर्ने हो भने पृथक र उत्कृष्ट छन् । पाठकको दृष्टिकोणले नाारी हस्ताक्षरमा पाईने बिषयवस्तुको गाम्भिर्यता अन्य लेखहरूमा कमै भेटिन्छन् जस्तो अनुभूति मैले गरेकि छु । उनीहरूको लेखकीय स्तरोन्नतिको लागि प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन ,लगायतका अन्य प्रकाशनहरूले विशेष योजना बनाएर अगाडि ल्याउन जरूरी छ ।
नारी हस्ताक्षर भित्र जीवन र जगतका भोगाईहरू सुस्म ढङ्गले प्रस्तुति गरिएको हुन्छ । जसमा आमा शिक्षा ज्ञान ,बिवेक, चेतना,दया,क्षमा करूणाकी खानी हुन भनेर निक्कै प्रशंसा गरिएको हुन्छ तर निरक्षर भए पनि नारिपुर्ण हस्ताक्षर हुन सिङ्गो साहित्यको मुर्त वा अमुर्त कला साहित्य र सृजना भनेकै नारी सम्वेदना नै हो । त्यसकारण त्यसैको पृष्ठभुमिमा थुप्रै साहित्यहरू सृजना भएका छन् । जसको उपजको रूपमा म्यकसिम गोर्किको आमा, एउटा प्रतिनिधि आख्यान हो भन्न सकिन्छ ।
त्यसैगरी पछिल्ला कृतिहरूमा काँडाघारीको यात्रा, बिग्रिएकी केटी, लज्जा बिद्रोहको आवाज, सेतो धर्ती ,चिरहरण, आमोई,निर्वाण,दामिनी भिर , छाउपडी लगायत अन्य नारीवादी पुस्तकहरू नेपाली भो गाईका परिवेशले जन्मिएका थुप्रै स्रष्टाहरूका नाम लिन सकिन्छ । वास्तवमा धरै साहित्य नारी संवेदनशीलताबाट नै प्रभावित छ । यसरी हेर्दा नारी साहित्यमा व्यवहारिक ज्ञान सिप, प्रवृत्ति, संस्कृति कला र जीवन उपयोगी दर्शनको प्रभाव प्रशस्त पाईन्छ । जति पनि नारी हस्ताक्षरहरूका कृतिहरू खोजेर अध्यन गर्ने हो भने ती भित्र अन्तरमनमा छल्केका प्रेमका शाश्वत सत्य भेटिन्छन् । समयको परिवेश र परम्परागत शैलीको भोगाईले अभिब्यक्त गरेका वास्तविक यथार्थ सँग जोडिएका वैयक्तिक स्वार्थ विमुख आख्यानहरू हुन्छन् । तुलनात्मक रूपमा अन्य सृजनाहरू भन्दा निरपेक्ष धाराको प्रयोग अन्यत्र भन्दा नारी हस्ताक्षरमा भेटिन्छन् ।
साहित्यले नारिलाई परिकल्पना गर्न सक्ने शक्तिको चरम उत्कर्षमा पु¥याई आधुनिकीकरणमा नेपाली महिलाहरूको संरचनात्मक परिवर्तन र फराकिलो दृष्टिकोण पस्कने बहुआयामी सृजनाहरू उत्पादित हुने एउटा प्लेटफर्म जसले नेपाली नारिहरूको ब्यातिगत , सामाजिक, राजनैतिक, सांस्कृतिक,आर्थिक क्षेत्रमा स्तरोन्नति र पहुँच सँगै दरबिलो आत्मा सम्मानको प्रत्याभूति दिलाउन र आत्मा निर्भर बनाउने कुराको सुनिश्चितता गराउने परिवेश परिपक्व भएर आएको मेरो अध्यनको अनुभूति छ ।
त्यसैले राजनैतिक परिवर्तन सँगै महिला समावेशी, समतामूलक, सहभागिता गराउने कुरामा नारी शसक्तिकरण अब सभा, सेमिनार, गोष्ठीहरूमा भन्दा पनि दुरदराजका गाउँमा जोड दिन जरूरी छ । साहित्य एउटा त्यस्तो विधा हो, जसले विश्व निमेसमा परिवर्तन गर्न सक्ने हैसियतका सृजनाहरू नारीवादी कलमबाट निस्कने सुनिश्चित छ । अबको विश्व साहित्यको नव स्वर्णिम युग नारी साहित्य सृजनाको शसक्तिकरण को युग हुने छ भन्ने कुरामा म विश्वस्त छु । खासगरी हाम्रो समाज पुरुषप्रधान भएकै कारण उहाँहरुले महिलाहरुको सिर्जनशील क्षमता र प्रतिभालाई नस्वीकारिदिने अवस्था देखिन्छ ।
हामी महिलाहरुले पनि केही हदसम्म महिलाकै अस्तित्वलाई सहर्ष रुपमा स्विकारेको स्थिति छैन । हामीमा चेतना, सकारात्मक सोच र पारिवारिक सहयोगको पनि अभाव छ । न्यूनीकरणको सन्दर्भमा, साहित्यिक क्षेत्रमा लाग्नुभएका साहित्यकारहरुले आफ्नो घरपरिवारबाटै अनिवार्य महिला सहभागिताको सुरुवात गर्नुपर्छ । यस क्षेत्रमा लाग्नुभएका महिलाहरुलाई प्रोत्साहित गर्दै पुस्ता हस्तान्तरणका लागि पनि नवयुवा स्रष्टाहरुको सहभागीतामा वृद्धि गराउनुपर्छ । सामाजिक, आर्थिक, राजनीतिक र साहित्यिक क्षेत्रमा पूर्ण रुपले समतामूलक, समावेशी सहभागिता गराउनु जरुरी छ ।
पूर्व मेचीनगरदेखि पश्चिम भैरहवा सम्म आइपुगेर सम्मानित हुने अवसर पाउँदा यहाँलाई कस्तो अनुभव भएको छ ?
–यो त मेरो जीवनको अत्यन्त महत्वपूर्ण क्षण हो । म अत्यन्तै खुशी छु । पूर्वाञ्चलबाट यो कार्यक्रममा सम्मानित हुनका लागि छनौट गर्नुहुने साहित्यिक सर्जकहरु र प्रश्रित प्रतिष्ठान नेपाल केन्द्रिय समिति तथा लुम्बिनीका सम्पूर्ण साहित्यिक स्रष्टाहरुलाई हृदयबाट हार्दिक नमन गर्न चाहन्छु ।
अन्त्यमा, साहित्य र सिर्जना मार्फत सम्पूर्ण नारीहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
–साहित्य र सिर्जना भनेको कुनैपनि व्यक्तिको जीवनका भोगाई र मनोभावहरुबाट अभिव्यक्त हुने कला हो । यो नारीहरुमा लुकेर रहेको प्रतिभा, क्षमता, दक्षतालाई उजागर गर्ने एउटा दस्तावेज हो । त्यसकारण सम्पूर्ण साहित्यमा रुचि राख्नुहुने दिदीबहिनीहरुलाई सिर्जनाका कलमहरु निरन्तर चलाउनुहोस् भन्न चाहन्छु ।
प्रस्तुति ः सावित्री घिमिरे