–उदयराम पौडेल
आजको वैज्ञानिक युगको २१ औँ शताब्दीको जनचेतनाको लहर र मन मस्तिष्कका तरगंहरु देश र जनताको पक्षमा पोखिनुपर्दछ । किनभने देशको संवेदनशीलता हाम्रँ दलहरुले सोचेजस्तो, भनेजस्तो, गरेजस्तो व्यवहारिक रुपमा देखिँदैन । कारण दुवै मित्रहरुको बीचमा मरिच खुम्चिएजस्तै खुम्चिएको परिस्थिति छ । बेग्लाबेग्लै आस्था र विश्वासको बीचमा हाम्रो भू राजनीतिको मेरुदण्ड संवेदनशील अवस्थामा गुज्रिएको छ । दुवै मित्रको विश्वास प्राप्त गर्दै अग्ररुपमा अगाडि बढ्नुपर्ने स्थिती सबैका सामु स्पष्ट छ । त्यसकारण देशको भूगोल, जात जाति, भाषा भेषको आधामा खण्डित गर्ने अवस्था र परिस्थिति देशको हितमा छैन । न त जनजीवनकै हितमा छ, देशको एकतालाई टेवा दिने सद्भावरुपी विचार र आपसी मेलमिलापबाटै समस्या समाधान गर्नुपर्ने अवस्था छ । कसैको धम्की, डर, त्रास र भययुक्त राजनीतिले कसैको पनि हित हुँदैन, पहिचान भनेकै नेपाल र नेपाली हो ।
आज देशमा सुजबुझ र दुरर्दशी तथा राष्ट्रिय नेताको अभाव खड्किएको छ । आज देशभरि राजनीतिको नाउँमा विकार विकृतिह्रु बढ्दै गएको परिप्रेक्ष्यमा राष्ट्रिय स्वार्थभन्दा दलीय स्वार्थ स्थूल भएको छ । कस्तो बिडम्बना छ, राजनीतिक दलहरु राष्ट्रिय रुपमा भन्दा दलीय भावना र जातकै कारण विदेशीहरुको चलखेल बढ्दै गएको सबैले महशुस गरेकै कुुरा हो । देशको भूगोल र भौगोलिक विकटता, जनचेतनाको अवस्था र विकासको गति सुस्त भएकोले ठूलो जनशक्ति विदेश पलायन भएको छ । देशमा रोजगारी छैन, न त शान्ति सुव्यवस्था नै छ, जताततै अशान्ति, भ्रष्ट र तस्कर तथा कालो बजारीया, मुनाफाखोरहरुको बिगबिगी मच्च्एिको छ । देशमा भएको राजनीतिक राजकताले गर्दा कुनै क्षेत्रमा पनि सन्तोष गर्ने ठाउँ नै छैन । सबै क्षेत्रगत भाँडभैलो मच्चिएको र मच्चाईएको छ ।
वास्तवमा साँचो कुरा भन्ने, लेख्ने र बोल्ने हो भने, कसैले पत्याउँदैन । किनभने चारैतर्फका असत्य, झुट आदिको खेती गरिएको छ । ईमानदारिता र जिम्मेवारी कसैमा देखिँदैन, हरेक कुराको सीमा छ, तर राजनीति र राजनेताको कुनै सीमा देखिँदैन । कारण गैर जिम्मेवारीले सीमा नाघेको छ, उद्दण्डतातिर लम्किँदैछ, कति दिन चल्न सक्छ चलाउँदै जाने सोचको वृद्धि भएको छ । देश र समाजको हितमा जबसम्म राजनीति जिम्मेवार र ईमानदार हुँदैन, तबसम्म देशमा शान्ति सुव्यस्था स्थापित हुन सक्दैन । देशको मूल कानुन भनेको संविधान हो, तर संविधान बनाउने जाँगर र जोशभन्दा झगडा गर्नेतर्फ दलहरु अग्रसर भएका छन् । जसले गर्दा देशमा विधि विधान र कानुन नियमको पालना भएको छैन । जसलाई जे मन लाग्छ, उही गर्छ, राज्यमा सरकारको अनुभूति गराउन सकेको अवस्था छैन । शक्ति प्रर्दशनले के देखाईरहेको छ । त्यहाँ जनता छैन, अनिवार्य कार्यकर्ताको ३० दलीय भेला हो र दलका कार्यकर्ताहरुको अनिवार्य उपस्थिति हो ।
किनभन संयुक्त मोर्चाले जनतालाई आह्वान भन्दा कार्यकर्ताहरुलाई अनिवार्य उपस्थित हुन नोटिस जारी गरिएको थियो । यदि त्यसैलाई जनसभा र जनसमर्थन भन्नु र विश्लेषण गर्नु निश्चय नै गलत बुझाई हुन्छ । कारण लगभग ३ करोड जनता भएको देशमा ३० वटा दलले गरेको लाखकै संख्या भएपनि ठूलो सभा होईन । किनकी नेपाल अधिराज्यभरी ए.माओवादीकै मात्र लाखौँ कार्यकर्ताहरु छन्, त्यस्तै अरु २९ दलहरुका पनि धेरथोर कार्यकर्ताहरु छन् । सबै दलहरुको कार्यकर्ताहरुको सम्मेलन हो । अर्थात ३० दलहरुको एकताको प्रदर्शन हो, तर यसप्रकारको प्रदर्शनले मात्र देशको समस्या समाधान हुँदैन, आपसी मेलमिलापबाटै सबै कुरा तय गरिनुपर्दछ । सबैले राष्ट्र र समाजलाई दृष्टिगत गर्नु आवश्यक छ । चाहे जो जसको जतिसुकै चर्को आवाज भएपनि जनताको निर्णय आफ्नै ठाउँमा हुन्छ, कसैको अहंकार र दम्भको पछाडी जननिर्णय गएको पाईदैन, जनताको निर्णय सबैले शिरोधार्य गर्नुपर्दछ ।
वर्तमान नेपालको राजनीतिले जनभावनाको कदर गर्न सकिरहेको अवस्था छैन । आ–आफ्नै डम्फु बजाएका छन्, आ–आफ्नै तर्क र विश्लेषण गर्दछन्, अर्काको भावना सम्झने र बुझ्ने प्रयास नै गर्दैनन् । सबैभन्दा आफूमात्र सही, अरु खराब भन्ने सोचले काम गरेको छ । दलीय स्वार्थभन्दा राष्ट्रिय स्वार्थ उच्च हुनुपर्दछ । प्रश्न सभा, जुलुस, बन्द हड्तालको होईन, मेलमिलाप र राष्ट्रिय एकता तथा जनजीवनको हो । सुशासन, शान्ति र विकास तथा समानता, हक अधिकार, सम्मानजनक व्यवहार आदिको हो । तर विदेशीहरुको चक्रव्यूहमा फसे हाम्रँ श्रद्धेय नेताहरु जसले गर्दा एक आपसमा मेल गर्न र देशलाई राजनीतिक निकासको बाटो नै अवरुद्ध गर्नेतर्फ लागेका छन् । कहिले होस आउने हो थाहा छैन, अन्योल छाएको छ । त्यसकारण समय छँदै होस सम्हालेर सद्भाव जागोस, देश र समाजमा शान्ति आओस्, यही कामना गर्दछु । जय नेपाल ।